मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

टुकी बोकेर स्कुल जान्छन् चेपाङ विद्यार्थी

टुकी बोकेर स्कुल जान्छन् चेपाङ विद्यार्थी


चितवन, लोथर । चेपाङका घर उज्यालो हुने र बालबालिकाको पढाइ पनि सुध्रने गज्जबको योजना चलेको छ चितवनको पहाडी गाउँ स्यामराङ र सार्लिङमा । छोराछोरीलाई नियमित स्कुल पठाउँदा अँध्यारोमा बस्ने बाध्यताबाट गाउँलेले छुटकारा पाउने छन् । यी गाउँमा छोराछोरी स्कुल जानेका घरमा रात परेपछि सोलार टुकीको उज्यालो छाउँछ ।
 
चितवनको विकट पहाडी गाविस लोथरमा पर्ने सार्लिङको प्राथमिक विद्यालय र स्यामराङको दुङवाङ प्राथमिक विद्यालयले आफ्ना अभिभावकहरुलाई सोलार टुकी दिएका छन् । सोलार टुकी दिनहुँ वा दिन बिराएर चार्ज गर्नु पर्छ । चार्ज गर्ने प्यानल विद्यालयमा नै छ । चार्ज गर्नलाई अभिभावक आएर हुँदैन, विद्यार्थीले नै टुकी ल्याउनु पर्ने नियम विद्यालयले राखेको छ ।
 
‘विद्यालय भर्ना भए पनि विस्तारै स्कुुल आउन छोड्छन् । कसरी स्कुल आउने बानी बसाल्ने होला भनेर सोच्दासोच्दै यो उपाय निस्केको हो’ सार्लिङको विद्यालयका प्रधानाध्यापक नानीबाबु चेपाङले भने । सार्लिङ र स्यामराङका दुबै विद्यालयमा चेपाङ बालबालिकामात्रै पढ्छन् । चेपाङ समुदाय अरुको तुलनामा शिक्षामा निकै पछाडि छ ।
 
स्यामराङमा कक्षा १ देखि पाँचसम्म पढाइ हुन्छ । स्कुलमा १६६ विद्यार्थी छन् । सार्लिङमा कक्षा १ देखि तीनसम्म ६४ विद्यार्थी पढ्छन् । स्यामराङका ८६ र सार्लिङका ५५ घरका बालबालिका पढ्न आउँछन् । ‘गएको माघमा एक संस्थासँग मिलेर सार्लिङ र स्यामराङका अभिभावकहरुलाई सोलार टुकी दिएका हौं’ स्यामराङ स्कुलका प्रधानाध्यापक अतिबल चेपाङले भने ।
 
पखेरोमा रहेको गाउँमा बिजुली बत्ती कहिले आउने हो कल्पना गर्न पनि नसकिने अवस्था छ । टुकी बाल्न मट्टीतेल किन्न सक्नेहरु पनि यो ठाउँमा बिरलै छन् । सोलार किनेर उज्यालो बनाउनु उनीहरुका लागि झनै गाह्रो कुरा हो । ‘त्यसैले साँझ पर्दा नपर्दै खाना खायो, अनि सुत्यो गर्नुपर्ने बाध्यता थियो’ स्यामराङका राममणि चेपाङले भने ।
 
राममणिकी छोरी मिरा दुई कक्षामा पढ्छिन । छोरा रविलाल र रघुनाथ एकएक कक्षामा पढ्छन् । उनले दुईवटा सोलार टुकी पाएका छन् । ‘छोरा छोरीलाई रातमा पनि लेख्न पढ्न मिलेको छ । हामीले पनि घर धन्दा गर्न सजिलो भएको छ’ राममणिले भने । सोलार टुकी लिएबापत् अभिभावकहरुले एक हजार रूपैयाँ विद्यालयलाई बुझाएका छन् ।
 
‘चेपाङ बालबालिकाहरु बिहान दिउँसो घर धन्दा गर्नुपर्ने हुन्छ । घाँस काट्ने, जंगल गएर कन्दमुल खोज्ने काम उनीहरुले गर्छन्’ प्रधानाध्यापक अतिबल चेपाङले भने । बिहान दिउँसो काममा व्यस्त हुने उनीहरु उज्यालो बत्ती नहुँदा रातमा पनि विद्यालयले दिने गृहकार्य गर्ने र पढ्ने काम गर्न सक्दैन थिए । लेख्नपढ्न नपाएपछि विस्तारै विद्यालय छाड्ने गर्दथे ।
 
‘होमवर्क गर्ने र पढ्ने काममा विस्तारै सुधार भएको छ । टुकी चार्ज गर्नका लागि भए पनि विद्यार्थीलाई स्कुल पठाउने क्रम सुरू भएको छ । उज्यालोसँगै सोलार टुकीले पढाइमा पनि सघाएको छ’ प्रधानाध्यापक अतिबल चेपाङले भने । स्यामराङको स्कुल विस २०२६ सालमा स्थापना भएको हो । सार्लिङमा २०६३ सालमा खुलेको हो ।