मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सहयोग चाहिँदैन पर्यटक पठाइदेउ : पर्यटन मन्त्री शेर्पा

सहयोग चाहिँदैन पर्यटक पठाइदेउ : पर्यटन मन्त्री शेर्पा


भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पाले भूकम्पपछि धरासायी भएको पर्यटन व्यवसायलाई पुनर्जीवन दिन विदेशी मुलुकलाई आफ्ना देशका नागरिक पठाइदिन आग्रह गर्नुभएको छ ।
 
नेपाल पर्यटन बोर्ड, पुरातत्व विभाग र भक्तपुर नगरपालिकाले आज भक्तपुरको दरबार क्षेत्रमा आयोजना गरेको विश्व सम्पदा सूचीमा रहेका सम्पदाको पुनः सुचारु कार्यक्रममा बोल्दै उहाँले विदेशी राष्ट्रलाई आफ्ना देशका नागरिक पठाइदिन आग्रह गर्नुभएको हो ।
 
मन्त्री शेर्पाले भन्नुभयो – “नेपाल अब सुरक्षित भइसकेको छ, त्यसैले नेपाललाई साँच्चै नै सहयोग गर्ने हो भने नेपालमा तपाईंका देशका नागरिक पठाएर सहयोग गरिदिनुस् ।” सरकार कसरी देशलाई पर्यटकीय चापमा फर्काउन सकिन्छ भनेर लागेको बताउँदै उहाँले पर्यटन व्यवसायलाई पुनर्जीवन दिन सरकारले सुदृढ कार्यक्रम ल्याउन लागेको बताउनुभयो ।
 
नेपालको पहिचान, पुर्खाको धरोहरलाई पुरानै अवस्थामा फर्काउन तीनदेखि पाँच वर्ष लाग्ने र यसका लागि करिब रु नौदेखि १२ अर्ब  लाग्ने बताउँदै छिट्टै सम्पदालाई पुनर्जीवन दिन लाग्ने बताउनुभयो ।
 
नेपाललाई सहयोग गर्ने नाममा पैसा ल्याएर विभिन्न भत्तालगायतका नाममा आफ्नै देशमा बजेट फिर्ता लैजाने गैरसरकारी सङ्घसंस्था काम गर्न नदिइने उहाँले बताउनुभयो । नगरपालिकाले दरबार क्षेत्रमा प्रदर्शनीमा राखेको भूकम्पले भत्काएको सम्पदाको पहिला र अहिलेका तस्बिरहरुको समेत मन्त्री शेर्पाले अवलोकन गर्नुभयो ।
 
कार्यक्रममा सभासद् प्रेम सुवाल, पर्यटन, नागरिक तथा उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, पर्यटन विभागका महानिर्देशक तुल्सीप्रसाद गौतमलगायतले नेपालका सम्पदा सुरक्षित अवस्थामा रहेकाले सम्पदा सुरक्षित छ भन्ने सन्देश विश्वभर दिनु आवश्यक रहेको छ । 
 
भूकम्पपछि भक्तपुर भित्रिने पर्यटकसँग शुल्क नलिए पनि आजदेखि भने सम्पदा क्षेत्रको अवलोकन गर्न आउने पर्यटकसँग पर्यटन शुल्क लिइने पर्यटन सूचना केन्द्रका प्रमुख गौतम लासिवाले बताउनुभयो । 
 
भक्तपुर नगरपालिकाका अनुसार नगरक्षेत्रभित्र ६७ वटा सम्पदा पूर्णरुपमा क्षति भएको र ४९ वटा सम्पदामा आंशिक क्षति पुगेको छ । 
 
क्षति भएका भक्तपुर नगरपालिका भवन, फसिदेग, रामेश्वर मन्दिर, वत्सला मन्दिर, नारायण मन्दिर, सिद्धिलक्ष्मी मन्दिर, विश्वरुपा मन्दिर, सिद्धिगणेश मन्दिर, श्वेतभैरव मन्दिर, सिज महादेव, देगइना मन्दिर, ब्रह्मायणी मन्दिर रहेका छन् । 
 
भक्तपुरका महत्वपूर्ण विश्व सम्पदा सूचीमा सूचीकृत दरवारस्क्वायर क्षेत्र, दत्तात्रय मन्दिर, पाँचतले मन्दिरलगायतका मन्दिर र सम्पदा क्षेत्र भने सुरक्षित रहेका छन् । 
 
नगरपालिकाले निकालेको प्रारम्भिक लगतअनुसार भक्तपुरका सम्पदाको मर्मत गर्नका लागि रु २९ करोड ३२ लाख खर्च र पुनःनिर्माणका लागि रु एक अर्ब लाग्ने छ । रासस