मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

चितवनको स्यामराङ गाउँ चर्पीविहीन

चितवनको स्यामराङ गाउँ चर्पीविहीन


चितवन । चितवनलाई निकै तामझामका साथ खुला दिसामुक्त जिल्ला घोषणा गरेको चार वर्ष पुग्न लाग्दै छ । खुला दिसामुक्त क्षेत्र भनेको घरघरमा वा समुदायलाई पायक पर्ने उचित स्थानमा शौचालय बनेर प्रयोगमा आउनु हो । तर चितवनको पहाडी गाविस लोथर–७ स्यामराङ गाउँ अझै चर्पीविहीन छ । खुला दिसामुक्त जिल्ला घोषणा अधुरो रहेको स्यामराङले पुष्टि गरेको छ । 
 
शिक्षकबाहेक अन्य सरकारी कर्मचारीको कमै पाइला पर्ने यस गाउँमा ८४ घर छन् । सबै घर सिमान्तकृत वर्गमा पर्ने नेपालका आदिवासी चेपाङका हुन् । एकाध बाहेकका घरमा चर्पी नै छैन । 
 
स्यामराङका नरबहादुर चेपाङले चर्पी बनाउन प्यानसमेत पाए । उनले खाल्टो खन्न पनि सुरू गरे । तर एक बित्ताभन्दा गहिरो खाल्टो खन्ने जाँगर चलाएनन् । यतिबेला चर्पीको प्यान उनले बाख्राको खोरमा झुण्डाएर राखेका छन् । सेतो प्यानमा फोहरमैलाको ध्वाँसो जमेर कालो भएको छ । 
 
‘प्यानमात्रै पाएर भएन । अरु कसरी जुटाउने रु बालुवा किन्दा ४० रूपैयाँ पाथी पर्छ । त्यसैले चर्पी बनाउन सकिन’ नरबहादुरले भने । जिल्लालाई खुला दिसामुक्त घोषणा गरेर के भयो त नरबहादुरको परिवारले खुला ठाउँमा दिसापिसाब गर्दै आएको छ । 
 
स्यामराङमा रहेको दुङवाङ राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक अतिबल चेपाङ भन्छन् ‘स्कुलमा शौचालय छ । गाउँमा एक दुईजनाको घरमा पनि बनेर राम्रैसँग प्रयोग भएको देखिन्छ तर बाँकी घर शौचालयविहीन छन् ।’ गाउँलेका अनुसार प्यान सहयोग नपाउनेहरु पनि थुप्रै छन् ।
 
‘प्यान नपाउने पनि थुप्रै छन् । प्यान पाएकाले त बनाएनन् भने अरुले झन् बनाउने कुरै भएन’ स्थानीय युवा प्रवीण चेपाङले भने । कसले प्यान पायो वा पाएन प्यान पाएकाहरुले चर्पी बनायो वा बनाएन भनेर हेर्न गाउँमा कोही नआएका स्थानीय बताउँछन् । 
 
चितवनलाई विसं २०६८ सालको असोज ६ गते खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । सो घोषणा गर्ने कार्यक्रमका लागि मात्रै १४ लाख ६२ हजार २७२ रूपैयाँ खर्च गरिएको थियो । गाउँगाउँ र नगरलाई खुला दिसामुक्त घोषणा गर्दै सबै ठाउँ शौचालय बने भन्ने उद्घोषका साथ अन्तिममा जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको थियो ।
 
मान्छेको दिसामा झाडापखला, हैजा, जन्डिसजस्ता ज्यानै लिने र स्वास्थ्यमा गम्भीर असर पार्ने खालका जिवाणुहरु हुने गर्छन् । खुला ठाउँमा दिसा गर्दा झिँगालगायतले त्यस्ता खतरनाक जिवाणुहरु खानेकुरा मार्फत मान्छेको शरीरभित्रै लैजाने खतरा रहन्छ ।