मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

मन्त्री पण्डितद्वारा गीति एल्बम सार्वजनिक

मन्त्री पण्डितद्वारा गीति एल्बम सार्वजनिक


काठमाडौँ । समाजमा अन्धविश्वासका रूपमा रहेको बोक्सी प्रथा विरुद्ध अभियान चलाउँदै आएको राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ नामक गीति एल्बम सार्वजनिक गरेको छ । 
 
सो एल्बममा ‘मान्छे बोक्सी हुन्न कहिल्यै’, ‘उठ नारी’, ‘नारी सृष्टिदेवी’, ‘ईश्वरले बोक्सी भन्या छैन’, ‘कुनै धर्मशास्त्रले’, ‘शङ्का गर्नुुहुन्न’, ‘बारम्बार भन्छु मैले र ‘दाइजो दिनुहुन्न’ जस्ता गीतमा गीतकार, अञ्जु पन्त, ज्ञानेश्वर सुवेदी, ज्योति लामिछाने, स्वरूपराज आचार्य, प्रमोद खरेल, विष्णु डुम्रेलगायतको स्वर रहेको छ । 
 
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सो एल्बम लोकार्पण गर्दै गरिबीका कारण र रिस उठेको व्यक्तिसँग बदला लिन बोक्सीको आरोप लगाउनेजस्ता सामाजिक कुरीति अझै पनि समाजमा व्याप्त रहेकाले यसलाई दण्डनीय बनाउनुपर्ने बताउनुभयो ।
 
यस्ता कुरीतिलाई निर्मूल पारी समाजमा चेतना जगाउन सञ्चारकर्मीलगायतका जिम्मेवार नागरिकले आ–आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
 
राष्ट्रिय महिला आयोगका अध्यक्ष शेषचाँद ताराले बोक्सी प्रथा विरुद्ध सङ्गीतका माध्यमबाट समाजमा चेतना फैलाउनु प्रभावकारी हुने उल्लेख गर्दै यस्ता कुरीतिलाई निर्मूल पार्न आयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ भन्नुभयो । 
 
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव धनबहादुर तामाङले बोक्सी प्रथाले महिलामाथि विभेद गर्नुका साथै तिनको अधिकारमा पनि खलल पारेको छ भन्दै यस्ता कुसंस्कारविरुद्ध कानुन बन्न लागेको जानकारी दिनुभयो । रासस