मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सन् २०१९ अमेरिकामा नेपाली, जो चर्चामा रहे

सन् २०१९ अमेरिकामा नेपाली, जो चर्चामा रहे


हिमालयखबरले अमेरिकामा बसोवास गर्ने नेपाली समुदायका बर्षभरीका चर्चित व्यक्ति वा संस्थाको सूचि सार्वजनिक गरेको यो तेस्रो श्रृङ्खला हो । अमेरिकामा नेपाली समुदाय तुलनात्मक रुपमा सानो छ । आधिकारिक र अद्यावधिक तथ्यांक त छैन । तर, भनिन्छ अहिलेपनि अमेरिकामा बस्ने नेपाली समुदायको संख्या करिब तीन लाखको हाराहारीमै छ । यो सानो समुदायभित्र बर्षभरि चर्चामा रहेका व्यक्ति वा संस्था छान्नु सजिलो काम होइन, थिएन र छैन पनि । हामीले अघिल्ला बर्षको सूचिमा ह्यारी भण्डारी, गौरीराज जोशी लगायतलाई समेटेका थियौं । उहाँहरु अहिलेपनि चर्चाको शिखरमै हुनुहुन्छ ।
 
ह्यारी मेरिल्याण्डको विधानसभामा छन् । गौरी जोशीले अहिले नयाँ जिम्मेवारी सहित गैर आवासीय नेपाली संघमा सकृय छन् । उनी सचिवमा निर्वाचित भएका छन् । उनले नेपालमा लगानी पनि थपिरहेका छन् । नेपालमा लगानी गर्ने अमेरिकामा वस्ने नेपालीको संख्या पनि बढ्दो छ । थप पैसा पनि नेपाल गईरहेको छ ।
 
त्यसैले हामीले विगतमा छानेका यी नामप्रति अहिले फर्किएर हेर्दा गुनासो गर्ने ठाउँ खासै छैन । तर, पनि यस्तो सूचि छान्दा हामी अहिले पनि नेपाली समुदाय भित्रका सिमित व्यक्तिमै भर पर्नु पर्यो । आउने दिनमा नेपाली समुदाय आफ्नो क्षेत्रमा अझ दक्ष, सक्षम भएर आउने छ भन्ने हाम्रो विश्वास छ ।
 
नेपाली बाबु आमावाट यही जन्मेको पुस्ता विस्तारै बढ्दै गरेको छ । यो नयाँ पुस्ता अमेरिकाका राम्रा विश्वविद्यालयमा जान प्रयासरत छ । यो पुस्ताबाट अझै बढी आशा गर्न सकिन्छ ।
 
नेपाली समुदायका कतिपय व्यक्ति वा संस्था चुपचाप आफ्नो क्षेत्रमा सकृय पनि छन् । राम्रो काम गरेका छन् । आफ्नो क्षेत्र विशिष्ट योगदान दिएका छन् । उनीहरु चर्चाभन्दा वाहिर छन् । हामी हिमालयखबर मार्फत उनीहरुलाई समाजमा अगाडी ल्याउन प्रयास जारी राख्नेका छौं ।
 
बर्षभरी चर्चामा रहेको सूचि बनाउँदा हामीले अलिकति नेपाल, नेपाली समुदाय, सामाजिक क्षेत्रमा योगदानलाई पनि हेरौं । यो क्रममा व्यक्तिमात्र होइन संस्थापनि थप गरेका छौ । टाइम म्यागेजिनले प्रत्येक बर्ष विश्वभर उल्लेखनिय काम गर्ने व्यक्ति वा संस्थालाई समेटेर ‘पर्सन अफ द इएर’ सार्वजनिक गर्छ । सन् १९२७ देखि टाइमले बर्ष व्यक्ति सार्वजनिक गर्दै आएको छ । हामीले भने बर्ष व्यक्ति छान्न खोजेका होइनौं ।  बर्ष व्यक्ति वा संस्था भन्दा पनि चर्चामा रहेकालाई यो सुचीमा समेटेका छौं । चर्चामा रहनु भनेको सर्वोकृष्ट हुनु भन्ने मात्र होइन । जो चर्चामा रहे उनीहरुलाई नै यही राखिदियौं । यसपटक पनि हाम्रो यो प्रयासमा तपाईहरुको सल्लाह सुझावको आशा गरेका छौं ।
 
 
नारायण श्रेष्ठ (समाजीक अभियन्ता) :

मैले त सोचेको थिएँ, चुनाव सम्पन्न भएपछि अब एमाले नेताहरु एक ढिक्का भएर अघि बढ्छन् ।

नोभेम्बरको तेस्रो साता कोलोराडोका गभर्नर जेराल्ड पोलिस सुटुक्क नेपाल पुगे । गभर्नर पोलिस एक्लै गएनन, उनीसँग अमेरिकी लगानीकर्ताको समुह पनि थियो । यो भ्रमणलाई संभव बनाएका थिए कोलोराडोका समाजीक अभिन्यता, व्यवसायी नारायण श्रेष्ठले । शारिरक रुपमा सानो कदका देखिने ठुलो नारायणको कोलोराडोको अमेरिकी समुदायसँग राम्रो पहिचान छ । एक बर्ष अघि गभर्नर पदको निर्वाचन हुँदा उनले जेराल्ड पोलिसका लागि तीन पटक आफ्नै घरमा कार्यक्रमको आयोजना गरेका थिए । यस कार्यक्रमवाट गभर्नर पोलिससँग नेपाली समुदायले परिचय गर्ने मौका पनि पाएको थियो । गभर्नर पोलिसलेपनि नेपाली समुदायलाई चिन्ने मौका पाएका थिए ।

 
काठमाडौ र कोलोराडोको बोल्डर सिटीबीच भगिनी सम्वन्ध नारायणकै पहलमा भएको थियो । नारायण हाल अमेरिकामा दर्ता भएको सामाजिक संस्था हेल्पिगं हेण्डका अध्यक्ष पनि हुन् । यो संस्थाले नेपाल, जापान लगायतका देशमा सामाजिक क्षेत्रमा काम गरिरहेको छ । नेपालको संखुवासभामा जन्मिएका नारायण अमेरिका आएको चारदशक भन्दा बढी भयो । कोलोराडोमा नेपाली समाज वसाउन पनि धेरथोर उनको योगदान छ । हेल्पिङ्ग ह्याण्ड मार्फत नारायणले संखुवासभामा करोडौ पुँजी लगानी गरेका छन् । नेपालको राजनीतिक बृत्तमा पनि उनको राम्रो पकड छ ।
 
डा सञ्जीव श्रेष्ठ (चिकित्सक) :

मैले त सोचेको थिएँ, चुनाव सम्पन्न भएपछि अब एमाले नेताहरु एक ढिक्का भएर अघि बढ्छन् ।

स्वास्थ्य बीमा नभएकालाई अमेरिकामा चेक जाँच गराउन सजिलो छैन । त्यसबाहेक नेपालबाट केही महिनाका लागि पारिबारिक भेटघाटमा आउनेलाई सानो तिनो स्वास्थ्य समस्या पर्यो भने के गर्ने यो चिन्ता हुन्छ । यसलाई टेक्सस ड्यलासमा केही हदसम्म भएपनि सम्वोधन गर्ने प्रयास गरिएको छ । ड्यलासमा सन् २००९ देखि नेपाली चिकित्सक र नर्सहरुले नियमित रुपमा हेल्थ क्याप गर्दै आएका छन् । डा संजिव श्रेष्ठ लगायत उहांका सहकर्मीको अगुवाईमा यो हेल्थ क्याम्प नियमित रुपमा ६ साताको फरकमा संचालन भईरहेको छ । अहिले यो हेल्थ क्याम्पमा ८०/९० जना नेपालीले सेवा लिने गरेका छन् ।

 
यसको माग बढ्दै गएकाले डा संजिवको समुह यसलाई अझ विस्तार गर्न लागि परेको छ । नेपालीहरुका लागि निशुल्क क्लिनिक खोल्ने योजनामा काम भईरहेका छ । यसका लागि गैर नाफामुलक संस्था टेक्सस नेप्लिज मेडिकल एसोसिएसन पनि गठन गरिएको छ । यसमा झण्डै ३ सय नेपाली मुलका स्वास्थ्यकर्मी सदस्य भईसकेका छन् । यो संस्थाको अध्यक्ष पनि डा. सञ्जीवनै हुन । अहिले डलास फोर्टवेर्थ क्षेत्रका अस्पतालमा २५ जना जति नेपाली डाक्टर कार्यरत छन् । क्लिनिक स्थापनाका लागि खर्च जुटाउन एशोसिएशनले केही साता अघि टेक्सस ड्यालासमा गाला डिनर कार्यक्रम आयोजन पनि गरेको थियो । यसमा स्थानिय नेपाली समुदायले सहयोग गर्ने उत्साह देखाएको छ ।
 
अजुर्नप्रसाद मैनाली (विश्व रक्तदाता) :
ओयष्टर बे टाउन न्यूर्योकले डिसेम्बर २२ लाई ब्लड डोनर अर्जुन मैनाली डे घोषणा गर्यो । त्यहाँ रात्री भोज सहित उनको सम्मानमा कार्यक्रममा गरियो । मैनालीको परिचयनै विश्व रक्तदाता हुन गएको छ । उनले अमेरिकामा मात्र होइन विश्वका विभिन्न देशमा पुगेर रक्तदान गरेका छन् । त्यही भएर सिटीले उनलाई उक्त सम्मान दिएको हो ।
 
नेपालको काभ्रे जिल्लामा जन्मेका मैनाली हाल न्यूर्योकमा बस्छन् । उनले अफ्रिका देखि दक्षिण अमेरिका लगायत १७ देशमा पुगेर रक्तदान गरेका छन् । पहिलो पटक सन १९८७ मा रक्तदान गरेर उनको यो अभियान शुरु भएको थियो । त्यसवेला उनी १९ बर्षका मात्र थिए । अहिलेसम्म उनले १७० पटक भन्दा वढी रक्तदान गरिसकेका छन् । यो क्रम अझ बढ्ने छ । यो कार्यका लागि उनले थुप्रै सम्मान र प्रशंसापत्र पनि पाएका छन् । चर्चा र प्रशंसा आफ्नै ठाउँमा छ तर, उनको रगतले कयौंले जीवनदान पाएका छन् ।
 
रविना थापा (उपाध्यक्ष एनआरएनए) :
दुई बर्ष अघि गैरआवासीय नेपाली संघ एनसीसी अमेरिकाको अध्यक्ष पदमा रविना थापाले उम्मेदवारी दिएकी थिईन । उनले जित्न सकिनन्, दोस्रो भईन । त्यस लगत्तै एनआरएनए केन्द्रिय उपाध्यक्षमा उनले उम्मेदवारी दिईन त्यहाँ पनि नतिजा आफ्नो पक्षमा पार्न सकिनन् । केही महिना अघि पुन उनले सामाजीक संजाल मार्फत एनआरएनएको उपाध्यक्ष पदमा पुन उम्मेदवारी दिने घोषणा गरेकी थिईन । त्यसरी घोषणा गर्दा उनलाई कसैले पनि गम्भिर उम्मेदवारका रुपमा लिएका थिएनन् ।
 
तर, दुई महिना अघि एनआरएनएको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा उनले अप्रत्याशित नतिजा निकाल्दै महिला उपाध्यक्ष भईन । उक्त चुनाव रविनाका लागि कम प्रतिस्पर्धात्मक थिएन । एनआरएनए स्थापनाकाल देखिनै सकृय सपिला राजराजभण्डारीले सहजै जित्ने धेरैको अनुमान थियो । आफ्नो जितलाई पक्का पार्न उनले निर्वाचनमा एउटा समुह समातेकी थिईन । यसले नै उनलाई यो अप्रत्याशित जीत दियो । यो रणनीति सफल भयो । रविनाले एनआरएनए निर्वाचनमा आफुलाइ अब्बल सावित गरेकी छिन तर, उनले यो अत्याशित जितलाई कसरी उपयोग गर्छिन यो हेर्न बाँकी छ ।
 
यमुना भट्टराई (उद्यमी महिला) :
यमुना भट्टराई अमेरिका आउँदा थुप्रै सपना थिए । तर, सवैका जस्तै थुप्रै लाई संघर्षले ठेल्दै गर्दा यमुना अहिले अमेरिकाकै सफल र उदाहरणीय  उद्यमी महिला भएकी छिन् । टेक्सस ड्यालसवाट शुरु भएको उनको व्यवसाय बढ्दो क्रममा छ । अहिले उनी व्यवसाय विस्तार गर्दै फ्लोरिडा राज्य सम्म पुगेकी छिन् ।
 
व्यवसाय मजबुत हुँदै गएपछि यमुना समाजसेवाको क्षेत्रमा पनि सकृय हुँदै गएकी छिन् । एनआरएनएमा उनको सकृयता यता बढ्दो छ । यही भएर उनलाई एनआरएनए आईसीसी सदस्यमा मनोनित गरिएको छ । टेक्ससमा लिकर व्यबसायमा जमेपछि अहिले युमना विस्तारै अन्य क्षेत्रका व्यवसायमा पनि संलग्न हुन थालेकी छिन् । आउने दिनमा व्यवसाय अझ ठुलो बनाउने धुनमा युमना लागिपरेकी छिन् ।
 
नेपाली कानुन व्यवसायी :
अमेरिका कानुनमा चलेको देश हो । यहाँ प्रत्येक पाइलामा कानुन पालना गरेर हिड्नु पर्छ । यो चुनौतीपुर्ण कार्यमा नेपाली समुदायलाई नेपालबाटै आएर यहां कानुनी परामर्श व्यवसायमा लाग्ने नेपाली एर्टोनीहरुले सहयोग पुर्याईरहेका छन् । यसमा थुप्रै नामहरु आउँछन् । न्यूर्योकमा खगेन्द्र जीसी, विनोद रोक्का, बासु फुलारा, डिल्ली भट्ट, केशब सेढाई, चन्दा थापा, रमेश श्रेष्ठ भर्जिनियामा बन्दिता दाहाल, निरन्जन अधिकारी क्यालिफोर्निमा गोपाल शाह, यज्ञ नेपाल टेक्ससमा सृजना पोखरेल ढकाल लगायत अमेरिकामा जम्दै गएका नेपाली कानुन व्यवसायी हुन् । यो नाम अझ लामो छ ।
 
इमिग्रेशनको समस्या देखि जेलमा परेका नेपालीलाई छुटाउन सम्म नेपाली कानुन व्यवसायीले कयौं नेपालीलाई परामर्श दिदैं आएका छन् । कानुन व्यवसाय एउटा पेशा हो । तर आफ्नै मातृभाषा बुझ्ने कानुन व्यवसायी पाउनु सुविधा हो । यी कानुनी व्यवसायीले आफ्नो दायरा पनि बढाउँदै लगेका छन् । अव उनीहरुका ग्राहक नेपाली मात्र छैनन् । अन्य देशका ग्राहकहरुपनि उनीहरुकहाँ आउन थालेका छन् । यो नेपाली समुदायकै लागि गर्वको कुरा पनि हो । नेपाली समुदायलाई आवश्यक पर्दा यी कानुन व्यवसायीले निशुल्क सेवा पनि दिएका छन् ।
 
राजन थपलिया (लेखक पत्रकार) ः
न्यूयोर्कलाई कमथलो बनाएका राजन थपलिया लेखनमा निकै उर्जावान युवा हुन् । करिब ३० बर्षको हाराहारीका राजनका अंग्रेजी भाषा करिव एक दर्जन पुस्तक प्रकाशित गरिसकेका छन् ।  सामाजिक संजालमा सकृय राजनले फोर्ब्स म्यागेजिनमा पनि लेख्न शुरु गरेका छन् ।
 
विश्वका धनीहरुको सुची राख्ने फोर्ब्समा लेख्न पाउनु उनको निरन्तर संघर्षको नतिजा हो । अमेरिकामा अंग्रेजीमा लेख्ने राजनको प्रयास सह्रानिय छ ।
 
बाला घिमिरे  (व्यवसायी) ः
सिकागोमा बस्ने सकृय नेपाली भित्र पर्ने नाम हो बाला घिमिरे । नेपालको अर्घाखाँची जिल्लाबाट यहाँ आई अमेरिकाकै ठुला र व्यस्त शहर मध्ये एक सिकागोमा बाला रेष्टुरेण्ट व्यवासायमा सकृय छन् । त्यहाँ उनले रेष्टुरेण्ट मात्र चलाउँदैनन् । स्थानिय समाजिक कार्यमा पनि निरन्तर लागिपरेका छन् ।
 
उनको सकृयता नेपाली समुदायमा मात्र सिमित छैन । स्थानिय निकायमा पनि उनले आफ्नो प्रभाव बढाउँदै लगेका छन् । नेपाली समुदायका विभिन्न संघ संस्थामा सकृय उनी पछिल्लो पटक एनआरएनए अमेरिकामा प्रवेश गर्न खोजेका थिए । उपाध्यक्षपदमा उम्मेदवारी दिएपनि मतको तलमाथिले नतिजा भने आफ्नो पक्षमा पार्न सकेनन् । तर, त्यसवेला बालाले चुनाव जित्नुपर्थ्यो भन्ने धेरै थिए । चुनावमा पराजित भएपनि बाला एनआरएनए अमेरिका भित्रै सकृय छन् । सिकागोमा नेपाली समुदायले गर्न कार्यक्रममा बाला सकृय हुने गर्छन ।
 
गैर आवासीय नेपाली संघ एनसीसी अमेरिका (समाजीक संस्था) ः
गैरआवासीय नेपाली संघ एनसीसी अमेरिका (एनआरएनए अमेरिका) अमेरिकामा सवैभन्दा बढी नेपाली समुदाय संलग्न भएको संस्था हो । यसका करिब १० हजार सदस्य छन् । विभिन्न राज्यमा यसका च्याप्टरहरु पनि छन् । तर, यो संस्था पछिल्लो समयमा राम्रो कार्य भन्दा पनि विवादले बढी चर्चामा आउने गरेको छ ।
 
यस पटक एनआरएनए केन्द्रमा अमेरिकाबाट दुई उपाध्यक्ष र एक जना सचिबले प्रतिनिधित्व गर्छन । एनआरएनए अमेरिकाले यसमा आफ्नो योगदान रहेको दावी गरेको छ । भारतले नेपाली भूमि समेत समेटेर राजनीतिक नक्सा सार्वजनिक गरेपछि अमेरिकामा यही संस्थाको अगुवाईमा विरोध प्रर्दशन भएको थियो ।  एनआरएनए अमेरिका अध्यक्ष सुनील शाहको सकृयता प्रसंसायोग्य छ I
 
अमेरिकामा सवैभन्दा ठुलो नेटबर्क भएको संस्था भएपनि सदस्यताको आधारमा यसको आकार भने साँघुरिएको छ । एनआरएनए अमेरिकाको कार्यक्रममा सहभागिता पातलो बन्दै छ । विभिन्न विवाद, मुद्दा मामिला, निर्वाचनमा हुने चलखेलले यो संस्था आक्रान्त छ । कमी कमजोरीलाई सच्याउने हो भने एनआरएनए अमेरिका निकै संभावना भएको संस्था भने हो । तर यसका लागि नेपाली नागरिकताको निरन्तरता, नेपालमा लगानीका सहज बातावरण, नेपाल अमेरिका विच दोहोरो कर मुक्ति, नेपाली समुदायलाई आवश्यक परेको वेला सहयोग जस्ता मुद्दामा यो संस्थाले आफुलाई सकृय गराउनु पर्ने छ ।
 
चौथो ग्लोबल नेपाली फिल्म एवार्ड र यज्ञलाल श्रेष्ठ ः
नेपाली फिल्मका लागि अमेरिका पनि सानोतिनो बजार हो । नेपालमा रिजिल भएका नेपाली फिल्म अमेरिकाका टेक्सस लगायत केही शहरमा पनि प्रर्दशन हुँदै आएका छन् । केही राम्रा नेपाली फिल्मले यहाँ राम्रो भीड पनि जुटाउन सफल भएका छन् । नेपाली फिल्मलाई अमेरिकामा प्रवर्धनमा सहयोग गर्न सानफ्रान्सिस्कोमा एक महिना अघि चौथो ग्लोबल फिल्म आयोजना गरियो । यो कार्यक्रम अविश्मरणीय थियो । नेपालका नाम चलेका कलाकार एकै मञ्चमा देखिएका थिए । उक्त कार्यक्रम आयोजनामा यज्ञलाल श्रेष्ठ, नवराज श्रेष्ठ, एस बाबु, नारायण पुरी लगायतको सकृयता थियो । कोलोराडोका नवराजले जो आफुपनि कलाकार हुन् उनले नेपाली फिल्म एवार्डको ज्ञलशुरुआत गएका थिए । नेपाली फिल्म र कलाकारलाई पुरष्कृत र प्रोत्साहन गर्न अमेरिकामा यो कार्यक्रम सुरूआत गरिएको थियो ।
 
पहिलो कार्यक्रमको राम्रो प्रतिकृया पनि आयो । दोस्रो र तेस्रो भने केही फितलो भएका थिए । यो कार्यक्रमको तेस्रो श्रृङ्खलासम्म आउँदा अव निरन्तरता पाउँदैन कि भन्ने अवस्था पनि थियो । तर, एक महिना अघि सनफ्रान्सिस्कोमा आयोजित चौथो नेपाली फिल्म ग्लोबल एवार्डले यसलाई असत्य सावित गर्न सफल भयो । 
 
लगभग अवसानको किनारमा पुगेको ग्लोबल नेपाली फ़िल्म अवार्डले सानफ्रान्सिस्कोमा नवजीवनमात्र प्राप्त गरेन, अहिलेसम्मकै नेपाली अवार्डहरुमा सर्वोत्कृष्टको संज्ञा पनि पायो । अतिथि कलाकारहरुदेखि लिएर उपस्थित दर्शकसम्मले अत्यधिक रुपमा यसलाई रुचाए । र यसको श्रेय गयो सानफ्रान्सिस्को निवासी नेपाली उद्यमी परिचित खेलाडी यज्ञलाल श्रेष्ठलाई । श्रेष्ठको सकृयता, अथक परिश्रम र लगानीले यो सम्भव भएको हो भन्नेमा सबैको ठम्याई रह्यो । 
 
यसैले श्रेष्ठलाई अमेरिकी नेपाली समाजमा मनग्यै परिचित गरायो । थपमा उनीमाथि पाँचो ग्लोबल नेपाली अवार्डको निरन्तरता दिन नैतिक दवाव पनि दिएको छ ।
 
उक्त कार्यक्रममा नेपाली फिल्मका महानायक राजेश हमाल, चर्चित कलाकारहरु नीर शाह, भुवन केसी, अनमोल केसी दिपाश्री निरौला, शिव श्रेष्ठ, शर्मिला मल्ल लगायत थुप्रै नेपाली कलाकार सहभागी भएका थिए । तीन वटा श्रृङ्खला कोलोराडोमा मात्र भएका थिए । आफुपनि केही फिल्ममा अभिनय गरेका नवराजले कोलोराडोमा मात्र कार्यक्रम गर्ने परम्परालाई तोडेर अन्य शहरमा जाने निर्णय सफल देखिएको छ । नेपाली कलाकारलाई आयोजककै खर्चमा अमेरिका ल्याई कार्यक्रम गर्नु सजिलो होइन । चौथो कार्यक्रमले पाँचौ अझ राम्रो हुन्छ भन्ने आशा गर्न सकिन्छ ।