मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

मन्त्रीलाई पराजित गर्ने स्वतन्त्र पार्टीका उम्मेदवार

मन्त्रीलाई पराजित गर्ने स्वतन्त्र पार्टीका उम्मेदवार


काठमाडौँ । मतदाताको मन कुनबेला बदलिन्छ र त्यसले राजनीतिमा कस्तो फेरबदल ल्याइदिन्छ भन्ने कुरा मतगणना भएपछि मात्रै थाहा हुन्छ । निर्वाचन अघि सामान्य झलक नदेखिए पनि मतगणनापछि भने नसोचेको परिणाम हात लागेको छ । 
 
राजनीतिक दल र तिनका नेताहरुले आफ्नो ठानेका क्षेत्रमा पनि यस पटकको निर्वाचनको परिणाम फरक देखियो । यसकारण मतदाताको स्वभाव र चाहनाको ख्याल गर्ने उम्मेदवार सफल भए भने निर्वाचनलाई परम्परागत रुपमा लिएका उम्मेदवार पराजित भएका छन् । 
 
प्रतिनिधिसभा र प्रदेशसभाको यस पटकको निर्वाचनमार्फत उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ सात स्थानमा विजयी भएको छ । लामो समयदेखि नेपाली राजनीतिमा स्थापित कतिपय व्यक्तिलाई सो पार्टीका उम्मेदवारले पराजित गरेका छन् । यस्तो मेसोमा कतिपय बहालवाला मन्त्री पनि परेका छन् । 
 
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग पराजित हुनेमा ललितपुर क्षेत्र नं ३ बाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, काठमाडौँ क्षेत्र नं ८ मा उम्मेदवार रहेका संस्कति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र चितवन क्षेत्र नं २ बाट राज्यमन्त्री उमेश श्रेष्ठ पराजित भएका छन् ।  
 
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौँ क्षेत्र नं ६ मा शिशिर खनाल १४ हजार दुई सय चार मतसहित निर्वाचित हुँदा नेकपा (एमाले)का उम्मेदावर सर्वेन्द्र खनालले आठ हजार नौ सय ११ मत प्राप्त गरे । सोही क्षेत्रका अर्का उम्मेदवार नेपाली कांग्रेसका भीमसेनदास प्रधानले आठ हजार आठ सय पाँच मत प्राप्त गरे । 
 
राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका विश्वनाथ पौडेल र पूर्वअर्थमन्त्री एमाले उम्मेदवार सुरेन्द्र पाण्डे चितवनको क्षेत्र नं १ बाट स्वतन्त्र पार्टीका हरि ढकालसँँग पराजित भए । 
 
काठमाडौँ क्षेत्र नं ७ मा स्वतन्त्र पार्टीकै गणेश पराजुली आठ हजार सात सय ४३ मत प्राप्त गरी विजयी भए । यहाँ एमालेका श्यामकुमार घिमिरेले छ हजार आठ सय र माओवादी केन्द्रका मानुषी यमी भट्टराईले छ हजार ६३ मत प्राप्त गरे । 
 
काठमाडौँ क्षेत्र नं ८ मा स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पर्यटनमन्त्री श्रेष्ठ पराजित भए । श्रेष्ठले १० हजार एक सय १२ मत प्राप्त गरी विजयी हुँदा स्थानीय तहको निर्वाचनका चर्चित उम्मेदवार हाम्रो नेपाली पार्टीका सुमन सायमीले छ हजार एक सय ७९ मत प्राप्त गरे । 
 
सो क्षेत्रमा एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्यले तीन हजार आठ सय ९१ मत प्राप्त गरे । मन्त्री श्रेष्ठले चार हजार आठ सय ८१ मत प्राप्त गरे । 
 
स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४९ हजार दुई सय ६४ मत ल्याई निर्वाचित हुँदा उनका प्रतिस्पर्धी, कांग्रेस उम्मेदवार राज्यमन्त्री श्रेष्ठले १४ हजार नौ सय ८३ मत र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४७ मत प्राप्त गरे । 
 
स्वतन्त्र पार्टीकै सोविता गौतम काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित भए । उनले १५ हजार दुई सय ३८ मत प्राप्त गर्दा एमालेका मणिराम फुँयालले ११ हजार पाँच सय ६६ मत, राप्रपाका कुन्तीदेवी पोखरेलले ११ हजार २४ मत र माओवादीका उम्मेदवार ओनसरी घर्तीले नौ हजार चार सय ५९ मत प्राप्त गरे । 
 
ललितपुर क्षेत्र नं ३ बाट सोही पार्टीकी तोसिमा कार्कीले ३१ हजार एक सय ३६ मत प्राप्त गरी विजयी भए । सो क्षेत्रमा दोस्रो स्थानमा एमालेका अमृत खड्काले १२ हजार नौ सय ६३ मत र तेस्रो स्थानमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गरे ।