मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

रवि सिंह इफाप्काको अध्यक्षमा चयन

रवि सिंह इफाप्काको अध्यक्षमा चयन


मालेमा । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (इफाप्का) को अध्यक्षमा चयन भएका छन् । 
 
माल्दिभ्सको राजधानीमा मालेमा शुक्रबार सम्पन्न इफाप्काको ४५औँ सम्मेलनले अध्यक्षमा सिंहलाई चयन गरेको हो । इफाप्काको महासचिवमा महासंघका सल्लाहकार वीरेन्द्रराज पाण्डे र बोर्ड सदस्यमा महासंघका केन्द्रीय सदस्य सुशीलकुमार श्रेष्ठ चयन भएका छन् । 
 
वर्णानुक्रम अनुसार (इफाप्का) का सदस्य राष्ट्रहरूले संगठनको नेतृत्व गर्ने प्रचलनअनुसार माल्दिभ्सपछि नेपालको पालो आएको हो । यसअघि सन् १९९८ मा नेपालका गणेशलाल श्रेष्ठ इफाप्का अध्यक्ष चयन भएका थिए । 
 
मालेमामा आयोजित कार्यक्रममा ईफाप्काका निवर्तमान अध्यक्ष माल्दिभ्सका मोहमद अलि जनाले ईफाप्काको नयाँ अध्यक्षको रुपमा सिंहलाई कार्यभार हस्तान्तरण गरेका हुन् । अध्यक्ष सिंहसहित नयाँ कार्य समितिका सबै बोर्ड पदाधिकारी र सदस्यहरूले आजै पद तथा गोपनियताको सपथ लिएका छन् । 
 
नयाँ कार्य समितिको कार्यकाल दुई वर्षको हुनेछ । सपथपछिको कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले इफाप्कालाई सशक्त संगठनको रुपमा अघि बढाउने प्रतिबद्धता जनाए । इफाप्काका नयाँ महासचिव वीरेन्द्रराज पाण्डेले ४६औँ इफाप्का सम्मेलन दिगो पूर्वाधारमा साझेदारी भन्ने नारासहित काठमाडौँमा आयोजना गरिने जानकारी दिए । 
 
सोही अवसरमा पाँचौ पटक इफाप्का सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा महासंघ अध्यक्ष रवि सिंहसहित निर्माण व्यवसायीहरू शिव चौलागाईं, कृष्ण गौतम, निर्मल सिटौला र महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐर रहेका छन् । 
 
यसैबीच, इफाप्काका नवनियुक्त अध्यक्ष रवि सिंहको अध्यक्षतामा शुक्रबार बसेको पहिलो बोर्ड बैठकले इफाप्काको आगामी मिड टर्म बैठक सन् २०२३ को जुनमा मंगोलियामा र ४६औँ इफाप्का सम्मेलन सोही वर्षको नोभेम्बरमा काठमाडौँमा आयोजना गर्ने प्रस्ताव पारित गरेको छ । 
 
सन् १९५६ मा स्थापना भएको इफाप्कामा हाल नेपालको तर्फबाट देशभरका निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ आबद्ध रहेको छ ।  
 
नेपालले सन् १९९३ मा इफाप्काको सदस्यता लिएको हो । इफाप्काको ३०औँ सम्मेलन सन् १९९९ मा नेपालमा भएको थियो । इफाप्कामा हाल एशिया प्रशान्त क्षेत्रका १९ राष्ट्र आबद्ध छन् ।