मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समिति प्रतिवेदन

सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समिति प्रतिवेदन


काठमाडौँ । राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले विभिन्न १२ विषयमा ९९ बुँदासहितको सुझाव प्रतिवेदन सिफारिस गरेको छ । 
 
समितिका संयोजक खिमलाल देवकोटाले सरकारका तहहरूबीचको कार्य जिम्मेवारीमा प्रष्टता नआएको भन्दै कार्य विस्तृतीकरणलाई परिमार्जन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सुझाव दिइएको बताए । 
 
समितिले प्रदेश मन्त्रीको सङ्ख्या न्यूनतम पाँच जनाभन्दा कम नहुने गरी कूल सभा सदस्यको १० प्रतिशतमा सीमित गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई सुझाव दिएको छ । प्रदेश मन्त्रालय र मन्त्रीको सङ्ख्याको बढोत्तरीका कारण प्रशासनिक खर्च बढेकाले आम जनतामा सङ्घीयताप्रतिको विश्वासमा कमी आएको समितिले बताएको छ ।
 
समितिले प्रदेश प्रहरी र प्रदेशभित्रको शान्ति सुरक्षा प्रदेशको एकल अधिकार भएकाले प्रहरी समायोजन सम्पन्न गर्न गृह मन्त्रालयलाई सुझाव दिएको छ । प्रदेश र स्थानीय तहको कर्मचारीको अस्थायी व्यवस्थापन गर्नसमेत सुझाव दिइएको छ । प्रदेश र स्थानीय तहमा कर्मचारीको अभावमा कार्यसम्पादनमा पर्न गएको समस्याको तत्काल समाधान गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सुझाव दिइएको हो ।
 
प्रतिवेदनमा सङ्घमा रहेका कर्मचारी आधाले कटौती गर्नुपर्ने सुझाव छ । प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारी सङ्घमा बस्ने भन्दै समितिले कानूनी र नीतिगत व्यवस्था मिलाउन पर्ने बताएको छ । समितिले सङ्घीयता कार्यान्वयनको सिलसिलामा विगत पाँच वर्षमा भए÷गरेका मुख्य–मुख्य उपलब्धि तथा चुनौतीलगायतका सिफारिस संलग्न गरी प्रतिवेदन तयार पारेको हो ।
 
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सनाले सङ्कल्प प्रस्तावबाट आएको सिफारिस कार्यन्वयन गर्नु सबैको दायित्व भएको बताए । “सङ्कल्प प्रस्तावलाई तदारुकताका साथ कार्यान्वयनमा लानुपर्ने हुन्छ । यो हाम्रो साझा निष्कर्ष हो र यसलाई कार्यान्वयन गर्नु सबैको दायित्व हुन्छ ।” उनले प्रतिवेदनलाई संसदीय प्रक्रियाका रूपमा मात्र बुझ्दा सिङ्गो संसदीय व्यवस्थाको मर्ममाथि प्रहार हुने बताए । 
 
प्रतिवेदनमा वित्तीय सङ्घीयतासँग सम्बन्धित ३३ बुँदा सुझाव दिइएको छ । सुझावमा महिलालगायतका वर्गको अधिकार सुनिश्चिततासँग सम्बन्धित, संयुक्त समितिको निर्माण र समितिको निर्देशनको कार्यान्वयन, विकेन्द्रीकरण योजना, सुशासन, सेवा प्रवाह र मौलिक हक कार्यान्वयन, सङ्घीयता कार्यान्वयन कार्ययोजना, संवैधानिक आयोगका सिफारिसको कार्यान्वयन, समतामूलक समाज निर्माण, प्रशासनिक सङ्घीयता, संस्थागत संरचना अन्तर तह समन्वय र सहकार्यसँग सम्बन्धित र संस्थागत संरचनाका विषय रहेका छन् । रासस