मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निर्वाचनका लागि दुई लाख ४६ हजार जनशक्ति

निर्वाचनका लागि दुई लाख ४६ हजार जनशक्ति


काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक कुल दुई लाख ४६ हजार जनशक्तिको प्रबन्ध गरिएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचनको कामका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत आवश्यक देखिएका अन्य पद सिर्जना गरी त्यस्ता पदमा आवश्यकतानुसार कर्मचारी नियुक्त गर्न वा तोक्न सक्ने व्यवस्था रहेको छ  ।
नेपालको संविधान तथा निर्वाचनसम्बन्धी कानुनमा आयोगको जिम्मेवारीबमोजिम कार्य सम्पादनका लागि नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारी वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी वा विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीलाई खटाउन वा काममा लगाउन सकिने व्यवस्था रहेको छ ।
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७९ मा ‘जनशक्ति’ भन्नाले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहका कर्मचारी वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार वा प्रदेश सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी वा विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारी सम्झनुपर्छ र सो शब्दले त्यस्तो निकायमा काजमा, करारमा वा ज्यालादारीमा कार्यरत कर्मचारीलाई समेत जनाउने उल्लेख गरिएको छ ।
आयोगको कान्तिपथस्थित कार्यालयमा सञ्चालनमा रहेको समानुपातिक निर्वाचन प्रणालीका मुख्य निर्वाचनको कार्यालयमा ५५, निर्वाचनका लागि गत असोज २० गतेसम्ममा सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आइसकेको छ ।

निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा खटिने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषद्को सिफारिसमा जिल्ला अदालतका न्यायाधीश र निर्वाचन अधिकृतका लागि न्याय सेवा आयोगको सिफारिसमा न्याय सेवाका राप द्वितीय श्रेणीका कर्मचारीलाई खटाइएको आयोगका सहायक प्रवक्ता ऋषिराम भूषालले बताए ।  

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत एक, सहायक निर्वाचन अधिकृत, (राप द्वितीय श्रेणीे वा सोसरह वा राप तृतीय श्रेणी वा सोसरह) एक, लेखा अधिकृत वा लेखापाल (रापतृ श्रेणी वा सोसरह वा (रापअनं प्रथम श्रेणी वा सोसरह) एक, सहायक कर्मचारी (रापअनं प्रथम श्रेणी वा सो सरह वा राप अनं द्वितीय श्रेणी वा सोसरह) एक जना रहनेछन् । 
यस्तै. कम्प्युटर अपरेटर (रापअनं प्रथम श्रेणी वा सोसरह वा राप अनं द्वितीय श्रेणी वा सोसरह) एक, सवारी चालक (सवारीसाधन भएमा) एक, सहयोगी कर्मचारी (श्रेणीविहीन) दुई, निजी सुरक्षा अधिकारी (पिएसओ) एक जना गरी नौ जना रहनेछन् । निर्वाचन अधिकृतको कार्यालयमा पनि नौ जना कर्मचारी दरबन्दी रहने भूषालले जनाए ।
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन कार्यविधि), २०७९ मा भएको व्यवस्था अनुसार दुई सय ५० सम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक–एकजनासहित नौ, दुई सय ५१ देखि पाँच सयसम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक–एकजनासहित ११ जना कर्मचारी रहनेछन् ।

पाँच सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा थप एकजना स्वयंसेवक रहनेछन् । कार्यविधिमा अस्थायी मतदान केन्द्रको पनि व्यवस्था छ ।

मतदान केन्द्रसम्बन्धी खर्च तथा मतदान केन्द्रमा खटिने मतदान अधिकृत लगायतका कर्मचारीलाई दैनिक तथा भ्रमण खर्च भुक्तानी दिने कार्यलाई व्यवस्थित गर्न थप जनशक्ति आवश्यक भएमा निर्वाचन अधिकृतले बढीमा पाँच दिनका लागि मतदान केन्द्रका आधारमा लेखापाल वा सहलेखापाललाई काजमा ल्याउन सक्नेछ ।
मतपत्र रूजु गर्ने, प्याकेजिङ गर्ने तथा मतदान अधिकृतलाई मतपत्र बुझाउने कार्यका लागि थप जनशक्ति आवश्यक पर्ने भएमा निर्वाचन अधिकृतले बढीमा पाँच दिनका लागि मतदाता सङ्ख्याका आधारमा राजपत्र अनङ्कित वा सो सरहका कर्मचारी काजमा ल्याउन सक्ने व्यवस्था गरिएको छ । 
सोका लागि पन्ध्र हजारसम्म मतदाता भएका निर्वाचन क्षेत्रको लागि एक, पन्ध्र हजार एकदेखि तीस हजारसम्म मतदाता भएको निर्वाचन क्षेत्रको लागि दुई, तीस हजार एकदेखि पैतालिस हजारसम्म मतदाता भएको निर्वाचन क्षेत्रको लागि तीन, ४५ हजार एकदेखि ६० हजारसम्म मतदाता भएको निर्वाचन क्षेत्रका लागि चार, ६० हजार एकदेखि ७५ हजारसम्म मतदाता भएको निर्वाचन क्षेत्रका लागि पाँच, ७५ हजारभन्दा बढी मतदाता भएको निर्वाचन क्षेत्रका लागि छजना कर्मचारी काजमा ल्याउन सकिनेछ । 
मतदान केन्द्रका लागि आवश्यक पर्ने अन्य निर्वाचन सामग्रीको चेकजाँच, रूजु, भण्डारण, बाँडफाँट तथा वितरण गर्ने प्रयोजनका लागि निर्वाचन अधिकृतको कार्यालयमा खटिएका कर्मचारीबाट अपुग हुने देखिएमा निर्वाचन अधिकृतले बढीमा पाँच दिनका लागि थप जनशक्ति काजमा ल्याई कार्यसम्पादन गर्न सकिनेछ ।
सोका लागि एक सयसम्म मतदान केन्द्र भएका निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयका लागि राजपत्र अनङ्कित वा सो सरहको एक र श्रेणीविहीन वा सो सरहको कर्मचारी एक जना गरी जम्मा दुई, एक सय एकदेखि दुई सयसम्म मतदान केन्द्र भएका निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयका लागि राजपत्र अनङ्कित वा सो सरहको कर्मचारी दुई र श्रेणीविहीन वा सो सरहको कर्मचारी एक जना गरी तीन, दुई सयभन्दा बढी मतदान केन्द्र भएका निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयका लागि राजपत्र अनङ्कित वा सोसरहको कर्मचारी तीन र श्रेणीविहीन वा सो सरहको कर्मचारी एकजना गरी चार जना रहन सक्नेछन् । 
आयोगले निर्वाचन कार्यालयको मौजुदा जनशक्तिबाट निर्वाचनसम्बन्धी काम समयमा सम्पन्न गर्न नसकिने भएमा निर्वाचन कार्यालयले निर्वाचनको मिति घोषणा भएपछि बढीमा दुई महिनाका लागि कर्मचारी काजमा लिन सक्नेछ ।
काममा नखटाइने कर्मचारी
निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी सङ्घसंस्थासँग सम्बद्ध राष्ट्रियस्तरको ट्रेड युनियनका सङ्घ, प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारी, कुनै कर्मचारीको नजिकको नातेदार उम्मेदवार भएमा सो निर्वाचन क्षेत्रमा त्यस्तो कर्मचारीलाई निर्वाचनको काममा नखटाइने व्यवस्था निर्देशिकाले गरेको छ ।

जनशक्ति व्यवस्थापन निर्देशिकामा कार्यालयको सुरक्षार्थ खटिएका सुरक्षा गार्ड, पाले पहरा बस्ने कर्मचारी र स्वास्थ्य सेवा, विद्युत्, टेलिफोन, बैंक, वारूणयन्त्र, खानेपानी जस्ता अत्यावश्यक सेवा प्रदान गर्ने निकायका कर्मचारीलाई त्यस्तो सेवाका लागि वैकल्पिक व्यवस्था नगरी निर्वाचन कार्यमा खटाउनु हुँदैन भनिएको छ । रासस