मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युक्रेनीलाई बिजुली, पानीबाट वञ्चित गराउँदै रूस

युक्रेनीलाई बिजुली, पानीबाट वञ्चित गराउँदै रूस


किभ । रूसले युक्रेनमाथिको आक्रमणलाई तीव्र गतिमा अघि बढाइरहेको छ । निरन्तरको क्षेप्यास्त्र आक्रमणबाट उत्तरपूर्वी शहर खार्किभ र चेर्कसीका आधारभूत भौतिक पूर्वाधारमा क्षति भएको छ । फलस्वरूप ८० प्रतिशतभन्दा बढी किभका जनता सोमबार बिजुली र पानीबाट वञ्चित हुनुपरेको थियो । 
 
रूसी आक्रमणका कारण देशका धेरै स्थानमा नागरिक प्रभावित भएका तथा सोमबार किभको ८० प्रतिशतभन्दा बढी जनसङ्ख्याले पानी र बिजुली कटौतीको सामना गर्नुपरेको युक्रेनी अधिकारीले बताएका छन् । 
 
किभ नगरका प्रमुखले युद्धको चपेटामा परेको देशको परिस्थितिलाई दृष्टिगत गरी आफूलाई आवश्यक पर्ने पानीको भण्डारण एवम् व्यवस्थापन गर्न नगरवासीलाई आग्रह गरेका छन् । किभका अग्ला आवासीय भवनहरूमा पानी आपूर्तिमा कठिनाइ भएको छ । 
 
ब्ल्याक सीमा ड्रोन हमला गरेको बदलामा रूसले युक्रेनी पूर्वाधारलाई आक्रमण निशाना बनाएको हो । ब्ल्याक सी हमलालाई लिएर क्रमलिनले युक्रेनको बन्दरगाहबाट अनाजले भरिएका १७६ वटा जहाजलाई गन्तव्यतर्फ जान दिएको छैन । उसले युक्रेनमा मात्र नभई विश्वभर खाद्य सङ्कटको जोखिम बढाएको छ । 
 
संयुक्त राष्ट्रसङ्घसँगको मध्यस्थतामा गरिएको अनाज आपूर्तिको सम्झौता रूसले अस्वीकार गरेपछि त्यसको विश्वव्यापीरूपमा आलोचना भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी अन्न बोक्ने जहाजहरूलाई सुरक्षित मार्ग नदिएकामा आपत्ति जनाउँदै त्यसलाई क्रेमलिनको अर्थहीन एवम् अपमानजनक कदम भनेका छन् ।  
 
युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले निर्णय फिर्ता लिन आग्रह गरेका छन् भने संयुक्त राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले विश्व संस्था राष्ट्रसङ्घ रूसी अधिकारीहरूसँग सम्पर्कमा रहेको बताएका छन् । उनले अनाज आपूर्तिका प्रयासमा कुनै पनि पक्षबाट बाधा पु¥याउन नहुनेमा जोड दिएका छन् । 
 
अवरोध हटाउन चीनको आग्रह
 
चीनले रूसी अन्न र मल निर्यातका अवरोध हटाउन सम्बद्ध पक्षसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका नायब स्थायी प्रतिनिधि गेङ सुआङले सुरक्षा परिषद्मा सोमबार भएको ब्ल्याक सी ग्रेन इनिसिएटिभमा उक्त आग्रह गरेका हुन् । 
 
चिनियाँ राजदूतले सम्बन्धित देशलाई रूसी अन्न र मल निर्यातमा उत्पन्न अवरोध हटाउन ठोस कदम चाल्न आह्वान गर्दै आर्थिक एवम् व्यापारिक मुद्दालाई राजनीतिक हतियार बनाउन नहुने बताए । 
 
रूस–युक्रेन सशस्त्र द्वन्द्वबीच विश्व बजारमा आपूर्ति शृङ्खला सुनिश्चित गर्न युक्रेन र रूसले गरेको सम्झौताको पालनामा उनले जोड दिए । संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा तुर्किएको इस्तानबुलमा गत जुलाइमा भएको अनाज र मलको निर्यातसम्बन्धी छुट्टाछुट्टै दस्तावेजमा भएको हस्ताक्षरको स्मरण गराउँदै चिनियाँ कूटनीतिज्ञले उक्त कुरामा जोड दिएका हुन् । 
 
ब्ल्याक सीस्थित आफ्ना जहाज एवम् पूर्वाधारमा ड्रोन आक्रमण गरेको आरोप लगाउँदै रूसले गत शनिबार ब्ल्याक सी ग्रेन इनिसिएटिभको कार्यान्वयन  अनिश्चितकालका लागि तत्काल स्थगन गर्ने घोषणा गरेपछि खाद्यान्न आपूर्ति शृङ्खला प्रभावित भएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अवरोध हटाउन सक्रिय भूमिका खेल्ने आशा चीनले व्यक्त गरेको छ । एएनआई