मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बझाङमा जिप दुर्घटना : छ जनाको मृत्यु, चारको सनाखत

बझाङमा जिप दुर्घटना : छ जनाको मृत्यु, चारको सनाखत


बझाङ । बझाङको मष्टा गाउँपालिका–१ तुफान डाँडामा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुपप्र ०१–००१च ११७ नम्बरको जिप दुर्घटना भएको हो । 
 
जिप सडकबाट दुई सय मिटर तल खसेर भीरमा अड्किएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए । उनका अनुसार जिपमा कति जना सवार थिए भन्ने खुलेको छैन । अहिलेसम्म छ जनाको शव फेला परेको र कति जना घाइते भएका छन् भन्ने यकिन नभएको सूचना अधिकारी अवस्थीले जानकारी दिए ।
 
ज्यान गुमाउनेमध्ये चार जनाको पहिचान खुलेको छ । दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए ।  
 
घाइतेहरूको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरूले उद्धार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याउँदै छन् । सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्कँदै गरेका यात्रुहरू दुर्घटनामा परेको मष्टा गाँउपालिका वडा नं १ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए । 
 
भीरमा दुर्घटना भएकाले उद्धारमा कठिनाईं भएको प्रत्यक्षदर्शीले बताएका छन् । रासस