मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन


काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १९३ वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ ।
 
पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उनी पछिल्लो समय डेङ्गुबाटसमेत सङ्क्रमित भई सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत थिए । शताब्दी पुरुषको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको उनको उपचारमा संलग्न डा सुरज बज्राचार्यले जानकारी दिए ।
  
अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । कलेजले जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो ।
 
राष्ट्रले अभिभावक गुमायो : राष्ट्रपति
 
राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताएकी छन् । 
 
राष्ट्रपति भण्डारीले जोशीको निधनबाट पीडाबोध भएकोसमेत उल्लेख गरेकी छन् । उनले आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताएकी हुन् । 
 
राष्ट्रपतिले भनेकी छन्, “वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएकामा पीडाबोध भएको छ ।” जोशीको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको राष्ट्रपतिको भनाइ छ । राष्ट्रपतिले जोशीप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेकी छन् । 
 
प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त
 
प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । 
 
प्रधानन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनको खबरले निकै दुःखी तुल्याएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री देउवाले जोशीले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैँ सम्झिरहने उल्लेख गरेका छन् । 
 
प्रधानमन्त्रीद्वारा जोशीप्रति श्रद्धाञ्जली अर्पण 
 
प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । पुल्चोकस्थित ललितपुर महानगरपालिका प्राङ्गणमा राखिएको जोशीको पार्थिव शरीरमा उनले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।  
 
पुरातत्वविद् जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्न सभामुख अग्निप्रसाद सापकोटा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री जीवनराम श्रेष्ठ त्यहाँ पुगेका थिए । 
 
१०३ वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आइतबार बिहान उनको निधन भएको हो । उनको पार्थिव शरीर अन्त्येष्टि नगरी अध्ययनका लागि अस्पताललाई हस्तान्तरण गरिने परिवार स्रोतले जनाएको छ ।
 
उनको पार्थिव शरीर महानगरपालिका प्राङ्गणमा राखेर उनलाई राज्यका तर्फबाट ‘राष्ट्रिय सम्मान’ प्रदान गरिने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए । 
 

जोशीको योगदान चीर स्मरणीय : प्रचण्ड

 
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाएर स्थापित गर्न शताब्दी पुरुष सत्यमोहन जोशीले पुर्‍याएको योगदान सम्पूर्ण नेपालीका लागि चीर स्मरणीय रहने बताएका छन् । 
 
अध्यक्ष दाहालले एक शोक सन्देश जारी गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर ‘शताब्दी पुरुष’ को दुःखद् निधन भएको खबरले सबै नेपालीलाई स्तब्ध बनाएको बताएका छन् । अध्यक्ष दाहालले जोशीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । 
 
१०३ वर्षको उमेरसम्म पनि जोशीको सामाजिक क्रियाशीलता विश्वभरिका मानव समुदायलाई उत्पे्ररणाको स्रोत बनेर रहने उनको भनाइ थियो । सन्देशमा अध्यक्ष दाहालले भनेका छन्, “नेपाल सरकार र नेपाली जनताले उहाँको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने छन् भन्ने मैले विश्वास लिएको छु ।”