मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विजया दशमीको शुभ साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे, अमेरिकामा ११ः३५ बजे उत्तम

विजया दशमीको शुभ साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे, अमेरिकामा ११ः३५ बजे उत्तम


काठमाडौँ । दुर्गापक्षको मुख्य दिन बुधबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
 
दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बुधबार बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ । 
 
यस्तै, अमेरिकामा यस वर्ष बुधबारको टीकाको साइत ११ः३५ बजे उत्तम रहेको डालसस्थित नेपाली मन्दिरका पूजारी डा. शेखर पण्डितले जानकारी दिए । 
डा. शेखर पण्डित
विजयादशमी आफैँमा शुभ दिन भएकाले यस दिन टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी बताउँछन् । उनी भन्छन्, “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ।”
 
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । बुधबार नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।
 
समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत बुधबार बिहान १०ः३४ बजे रहेको छ ।
  
लगाउने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्ने
 
विजयादशमीको दिन बुधबार चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने धर्मशास्त्रविद् एवं समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन् । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उनले बताए । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ ।
 
विजयादशमीमा टीका लगाइदिँदा पुरुषलाई आशीर्वाद दिइने मन्त्र :
 
 आयुद्रोणसुते श्रियं  दशरथे शत्रुक्षयं राघवे । 
 ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
 शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
 विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
 
अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ ।
 
विजयादशमीमा टीका लगाइदिँदा महिलालाई आशीर्वाद दिइने मन्त्र : 
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी  ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।