नेपाल

बिर्संदै सांस्कृतिक परम्परा, घट्दै पिङको आकर्षण

प्रकाशित |
चौतारा । नेपालीको महान् चाड विजयादशमी तथा दीपावलीमा पिङ खेलेर मज्जा लिनुको आनन्द छुट्टै छ । तर, केही वर्षयतादेखि नेपालका गाउँघरमा पिङ कमै देख्न पाइन्छ ।
 
विजयादशमीको टीकाको दिन एकपल्ट भए पनि शरीरले जमिन छाड्नुपर्ने प्रचलनअनुरूप हरेक नेपालीले पिङ खेल्ने गरेको भए पनि यो प्रचलन हराउँदै जान थालेको छ । नेपाली संस्कृतिको उदाहरणका रूपमा समेत लिइने पिङ विगत वर्षमा हरेक टोल र गाउँ–गाउँमा हालिने गरेकामा यस वर्ष केही स्थानमा मात्रै सीमित रहेको छ । 
 
वर्षको एकपल्ट मात्रै हालिने पिङ खेलेर दसैँलाई रमाइलो गर्न थोरै स्थानमा पिङ हालिएको भए पनि त्यस स्थानमा पुगेर खेल्नेको सङ्ख्या भने धेरै रहेको सिन्धुपाल्चोक, ज्यामिरेका कृष्णबहादुर कार्कीले बताए । दसैँमा पिङ खेल्न पाइएन भने मज्जा नै नआउने उनी बताउँछन् । कृष्णबहादुरजस्तै पिङ खेलेर मज्जा लिनेहरू गाउँमा धेरै भए पनि पिङ भने कमैमात्र देखिन थालेका छन् ।
 
आफ्नो परम्परा र दसैँलाई खुसीसाथ मनाउनका लागि पिङको ठूलो महत्त्व रहेको मेलम्ची नगरपालिका–९ का वडाध्यक्ष किरणदीप खड्काले बताए । तर, विगतका वर्षमा भन्दा पिङको सङ्ख्या घटेकामा उनी चिन्तित छन् ।
 
केही वर्ष अघिसम्म टोल र गाउँभरिका बासिन्दा जम्मा भएर दोहोरी गीत गाउँदै रातभर जाग्राम बसेर पिङ खेल्ने गरेको ज्यामिरेकै भीमसेन विष्ट बताउँछन् । रातभर जाग्राम बसेर पिङ खेल्दा छुट्टै मज्जा हुने गरेको बताउँदै विष्ट अहिले गाउँघरमा पिङ विरलै देख्न पाइएको बताउँछन् । पहिला–पहिला पिङ खेलेर रमाइलो गर्दै दसैँ मनाउनेहरू अहिले तास, लङ्गुरबुर्जालगायत खेलेर समय कटाउने गरेका छन् । 

हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया