मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्छ : महामन्त्री थापा

डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्छ : महामन्त्री थापा


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । 
 
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चाडपर्वको समयमा डेङ्गुले जनजीवन प्रभावित बनाएकाले यसको नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताएका हुन् । 
 
“प्रधानमन्त्रीले आपत्कालीन सरकारको बैठक र स्थानीय सरकारका प्रतिनिधि बोलाएर देशभर सङ्क्रमणलाई न्यूनीकरण गर्ने अभियान सुरु गर्नुपर्छ”, उनले भने ।
 
पूर्वस्वास्थ्यमन्त्री थापाले सरकारसँग देशभरको डेङ्गु सङ्क्रमणलाई कसरी घटाउने, रोकथाम कसरी गर्ने, अस्पतालमा भएको दबाबलाई कसरी कम गर्ने भन्नेबारेमा छुट्टै अभियान सञ्चालन गर्न माग गरे । सरकार महामारीको बेलामा अरु कुरालाई प्राथमिकतामा राखेर मुख्य जिम्मेवारीबाट पन्छिन नमिल्ने उनको भनाइ थियो ।
 
महामन्त्री थापाले पार्टीभित्र सही ढङ्गले न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आएको भन्दै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको उल्लेख गरे । उनले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टी निर्वाचनको गोलचक्करमा मात्रै सीमित भएको बताए ।
 
पार्टीभित्रका नेताले नै पार्टीमा न्याय, सन्तुलन, पार्टीभित्र सबैलाई सही ढङ्गले हेरिएन भन्ने ठूलो आवाज उठाइरहेको भन्दै अब पार्टीभित्र नयाँ खालको सङ्घर्षको आवश्यताको बोध हुन थालेको बताए । उनले देशको वर्तमान मुद्दा नेपालका युवाले स्वदेशमा नै रोजगारी पाउने कुरा हुनुपर्ने बताए । रासस