मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

आइकाओ महासभामा पर्यटनमन्त्रीले भने : ‘नेपाली आकाश सुरक्षित छ’

आइकाओ महासभामा पर्यटनमन्त्रीले भने : ‘नेपाली आकाश सुरक्षित छ’


क्यानडा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङगठन (आइकाओ)को ४१औँ त्रैवार्षिक महासभामा सम्बोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन् । 
      
क्यानडाको मड्रियल सहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझावअनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
  
पर्यटनमन्त्री श्रेष्ठले आइकाओको प्रतिवेदनमा हवाई सुरक्षा मापदण्ड परिपालनमा नेपालको अङ्क विश्वव्यापी मापदण्डभन्दा बढी रहेकाले नेपाली आकाश सुरक्षित रहेको उल्लेख गरे । उनले उड्डयन क्षेत्रलाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउने सरकारको प्रतिबद्धता रहेको बताए । 
  
नेपालको भू–धरातललाई दृष्टिगत गर्दा हवाई यातायातको विकल्प नभएको मन्त्री श्रेष्ठले उल्लेख गर्दै हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
 
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइसकेको तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको उल्लखे गर्दै उनले हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नति तथा नयाँ विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
 
यसअघि मन्त्री श्रेष्ठले आइकाओ मुख्यालयमा महासचिव जुआन कार्लोस सालजार र आइकाओ काउन्सिल अध्यक्ष साल्भाटोर साचिटानोसँग भेट गरी नेपालले हवाई सुरक्षा अभिवृद्धिमा उल्लेख्य सुधार गरेकाले इयुले नेपाललाई उडान सुरक्षासूचीमा राखिरहनुको औचित्य नरहेको बताएका थिए । 
 
आइकाओ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पर्यटनमन्त्री श्रेष्ठ यही असोज ९ गते क्यानडा प्रस्थान गरेका हुन् । महासभामा १९३ देशका मन्त्री तथा उच्चपदस्थ अधिकारी सहभागी छन् । 
      
आगामी अक्टोबर ७ सम्म चल्ने महासभामा पर्यावरण संरक्षण, उड्डयन सुरक्षा र सहजीकरण, उड्डयन क्षमता र दक्षता अभिवृद्धिका साथै हवाई यातायात र आर्थिक विकासलगायत उड्डयन नीति, रणनीति तथा यस क्षेत्रमा रहेका समस्या समाधानबारे छलफल हुनेछ ।

आइकाओको महासभामा सदस्य राष्ट्रको निर्वाचनका लागि मतदान हुनेछ । महाशाभामा एभिएशन क्षेत्रको सुधार, सुरक्षा रणनीतिलगायत विषयमा छलफल हुने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । नेपाली प्रतिनिधिमण्डल अक्टोबर ५ मा नेपाल फकिर्ने कार्यक्रम छ । रासस