मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

व्याजदरमा भएको वृद्धिले उत्पादनमूलक उद्योग प्रभावित पार्छ : अर्थमन्त्री

व्याजदरमा भएको वृद्धिले उत्पादनमूलक उद्योग प्रभावित पार्छ : अर्थमन्त्री


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थामा पैसा राखेर व्याज लिने संस्कारका कारण देशभित्र उत्पादनमूलक उद्योग स्थापनामा समस्या देखिएको बताएका छन् । 
 
आजदेखि यहाँ सुरु भएको नाडा इभी अटो प्रदर्शनीको उद्घाटन कार्यक्रममा उनले पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाले वृद्धि गरेको ब्याजदरका कारण उत्पादनमूलक उद्योगको विकास र विस्तारमा समस्या देखा परेको बताए ।
 
उनले भने, “जुन देशमा बैंकमा पैसा राखेर १४ प्रतिशत वा १५ प्रतिशत आम्दानी लिन पाइन्छ, त्यो देशमा उत्पादन सम्भव होला ? पक्कै पनि हुँदैन । यहाँ समस्या छ । यो समस्या हल गर्नुपर्छ ।”
 
उनले बिनालगानी सहजैरूपमा ब्याज आउँछ भने किन उत्पादनमा लगाउने ? भन्ने प्रवृत्तिको विकास हुन जाने भएकाले त्यसको निराकरणका लागि मन्त्रालयले पहल गरिरहेको उल्लेख गरे ।
 
उनले पछिल्ला दिनमा देखिएको यस्ता समस्याको निरुपणका लागि गम्भीर किसिमको निष्कर्ष निकालिने र  केही न केही हल आवश्यक रहेको स्पष्ट पारे । उनले उत्पादन क्षेत्रका लागि विशेष प्राथमिकता दिनुपर्ने र सबैले जिम्मेवारी लिने हो भने यस्ता समस्याहरु हल हुने विश्वास व्यक्त गरे ।
 
उनले अर्थतन्त्र बलियो बनाउनका सबै तह र तप्काका बीचमा साझा सहकार्यको जरुरी रहेको र निर्यात बढाउँदै आयात प्रतिस्थापन गर्ने सन्दर्भ नै उत्तम विकल्प भएको धारणा राखे ।
 
उनले भने, “हामी सबै लागौँ । निजी क्षेत्रलाई काम गर्न थप सहज पार्ने हो । जुनसुकै अवस्थामा पनि हामी नेपाली आफैँ आफ्नो उत्पादनमा बाँच्न सक्ने हुनुपर्छ ।”
 
उनले विद्युतीय सवारी साधन सँगसँगै हाइड्रोजनबाट चल्ने सवारी साधनका बारेमा पनि सोच्नुपर्नेमा जोड दिए । उनले भने, “धेरैको ध्यान अहिले त्यसतर्फ गइरहेको पनि छ । तर, यसलाई व्यावसायिकरूपले कसरी उत्पादन गर्ने भनेर सोच्न आग्रह गर्छु ।”
 
उनले अबको समय भनेको ग्रिन हाइड्रोजनको भएकाले हामीले पनि त्यतातिर जानुपर्ने बताए । अर्थमन्त्री शर्माले जुनसुकै चुनौती आए पनि हामी आफैँ बाच्न सक्छौँ र  थेग्न सक्छौँ भन्ने स्तरमा मुलुकलाई पु¥याउनुपर्नेमा जोड दिए ।
 
उनले हाल बढी भएको बिजुली निर्यात भइरहेको सन्दर्भ जोड्दै त्यसलाई उत्पादनमा लगाउनुपर्ने उल्लेख गरे । उनले भने, “हामीले विद्युत् निर्यात गर्ने नभएर विद्यत्बाट उत्पादित वस्तुहरुको निर्यात गर्ने हो । अब विद्युत्बाट उत्पादित हाइड्रोजनको निर्यात गर्ने हो ।” रासस