मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

झुटा र भ्रमपूर्ण सूचनाको प्रसार हुनु चुनौतीपूर्ण : राष्ट्रपति

झुटा र भ्रमपूर्ण सूचनाको प्रसार हुनु चुनौतीपूर्ण : राष्ट्रपति


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सूचना र सञ्चारका क्षेत्रमा भएको नयाँ प्रविधिको विकाससँगै देखापरेको सञ्चारका नयाँ अनलाइनका माध्यमबाट झुटा र भ्रमपूर्ण सूचनाको प्रसार हुनु चुनौतीको विषय भएको बताएकी छन् ।  
 
प्रेस काउन्सिल नेपालको ५३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विश्वव्यापी चुनौतीका रूपमा रहेको सञ्चारका अनलाइन माध्यमलाई बढी मर्यादित र प्रभावकारी बनाउनका लागि काउन्सिलले अनलाइन सञ्चालन गर्नुअघि अनिवार्य अभिमुखीकरणको व्यवस्था गरेकामा खुसी व्यक्त गरिन् । 
 
राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त समारोहमा उनले पत्रकारिताको पेशागत आचरण कायम राखी स्वच्छ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकासका लागि प्रेस काउन्सिल स्थापना गरिएको स्मरण गर्दै त्यसका लागि उक्त संस्थाले निरन्तर भूमिका खेलिरहने पनि बताइन् । 
 
पत्रकारको अभिभावक संस्था काउन्सिलले पत्रकार आचारसंहिताको पालना गर्ने पत्रकारलाई पुरस्कृत गर्ने र उल्लङ्घन गर्नेलाई कारबाही गर्दै आएको भन्दै प्रशंसा गरिन् । 
 
समारोहमा उनले संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र सुदृढ तुल्याउन संवैधानिक प्रावधानलाई राज्यका सबै अङ्गले गम्भीरतापूर्वक पालना गर्नुपर्ने बताइन् । 
 
राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र आगामी मङ्सिर ४ गते हुन लागेको सङ्घ तथा प्रदेशसभाको आवधिक निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न नागरिक समुदायका रूपमा रहेको पत्रकारिता क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।