मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

विदेशमा हासिल गरेको अनुभव स्वदेशमा खर्चिनुपर्छ : डा. स्वर्णिम वाग्ले

विदेशमा हासिल गरेको अनुभव स्वदेशमा खर्चिनुपर्छ : डा. स्वर्णिम वाग्ले


चितवन । अर्थविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले विदेशमा आर्जन गरेको अनुभव देशका लागि खर्चिनुपर्ने बताएका छन् ।

उनले भने, ‘गुणस्तरीय शिक्षा खोजीमा विश्वका जुनसुकै देशमा जान सकिन्छ । इतिहास, चिकित्सा, मनोविज्ञान, इन्जिनियरिङ, कानुन, प्रशासनलगायत कुनै पनि विषयमा हासिल गरेको ज्ञान र अनुभवचाहिँ देशमै खन्याउनुपर्छ ।’

वैदेशिक उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि लक्षितगरी रत्ननगर–२ मा गाइडियन्स एजुकेसन एण्ड भिसा सर्भिसेजको शाखा शुभारम्भका अवसरमा प्रमुख अतिथि डा. वाग्लेले देशबाहिर गएर कुनै पनि विषयमा हासिल गरेको ज्ञान देशकै हितमा लगाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘म आफू पनि सन् १९९३ मा उच्च शिक्षाका लागि बेलायतमा गएर विज्ञता हासिलगरी आफ्नो अनुभव देशका लागि खर्चिरहेको छु ।’ सबैले विदेशमा हासिल गरेको अनुभवलाई स्वदेशमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो ।

सो कन्सल्टेन्सीको एक समारोहबीच रत्ननगर–१ का वडाध्यक्ष कुलप्रसाद सापकोटा र रत्ननगर–८ का वडाध्यक्ष कृष्ण चौधरीले संयुक्तरूपमा रिबन काटेर उद्घाटन गरेका थिए । सोही समारोहमा रत्ननगर–२ का वडासदस्य रमा भट्टराईले पनि केक काटेर उद्घाटन गरेकी थिइन् । उनीहरुले विदेशमा उच्च शिक्षा हासिल गर्न पाउने अवसरको सदुपयोग गरी स्वदेश फर्किएर आफ्नो ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा गाइडियन्स एजुकेसन एण्ड भिसा सर्भिसेजका प्रबन्ध निर्देशक वीरेन्द्र चौधरीले विषय विज्ञहरुद्वारा आइएलटिएस, पिटिई, टोफेल कक्षा सञ्चालन गर्नुका साथै अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, युरोप, युएसए, युके र जापान जान चाहने विद्यार्थीका लागि आवश्यक परामर्शसहित डकुमेन्टेसन र भिसा प्रोसेसिङको काम गरिने बताए ।

अष्ट्रेलियाको सिड्नी र काठमाडौँमा मुख्य कार्यालय रहेको सो कन्सल्टेन्सीले सयौँ युवालाई उच्च शिक्षाको लागि परामर्श गर्दै आएको उनले बताए ।

कार्यक्रममा विद्यार्थी, अभिभावक तथा विभिन्न संघसंस्थाका व्यक्तिहरुको सहभागिता रहेको थियो ।