मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

मुस्ताङ शिखर सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा महत्त्वपूर्ण भूमिका खेल्ने छ : प्रधानमन्त्री देउवा

मुस्ताङ शिखर सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा महत्त्वपूर्ण भूमिका खेल्ने छ : प्रधानमन्त्री देउवा


जोमसोम । प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु भएको मुस्ताङ शिखर सम्मेलनले नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।  
 
वन तथा वातावरण मन्त्रालयको आयोजनामा मङ्गलबारदेखि सुरु भएकोे अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष २०२२ मुस्ताङ पैरवी सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै भने, “कोप–२७ को सम्मेलन इजिप्टमा हुँदैछ, त्यसका लागि मुस्ताङ शिखर सम्मेलन फलदायी रहनेछ, यो सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा महत्त्वपूर्ण भूमिका खेल्ने मैले विश्वास लिएको छु ।” 
 
उनले मुस्ताङमा सोही कार्यक्रमअन्तर्गतको दोस्रो पटक शिखर सम्मेलन उद्घाटन गर्न पाउँदा आफू निकै खुसी भएको बताए । प्रधानमन्त्री देउवाले दिगो पर्वतीय विकास वर्षअन्तर्गत शिखर सम्मेलनका लागि नेपाली जनताको तर्फबाट संयुक्त राष्ट्रसङ्घलगायतलाई धन्यवादसमेत व्यक्त गरेका थिए । 
 
नेपालजस्तो पर्वतीय जैविक विविधता, संस्कृति, विभिन्न क्षेत्रको आर्थिक प्रणाली, वनस्पति, वन्यजन्तुलगायतमा चुनौती र अवसरलाई प्राथमिकीकरण गर्ने अवसर यो शिखर सम्मेलनले प्रदान गर्नेमा आफू आशावादी रहेकोसमेत प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे ।  
 
उनले पर्वतीय हिमाल हिउँले भरिएको प्राकृतिक धरोहर मात्र नभई समग्र एक अर्ब जनसङ्ख्यालाई पानी सिञ्चित गर्न आधारस्तम्भ भएको समेत उल्लेख गरे । धौलागिरि क्षेत्रमा थुप्रै समस्या र चुनौती विद्यमान रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने, “जलवायु परिवर्तन, जैविक विविधतामा क्षति, भूक्षयीकरण, प्रदूषण, गरिबी र असमानताजस्ता समस्यालाई तुरुन्तै सम्बोधन गर्न आवश्यक रहेको छ ।” 
 
यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पर्वतीय अर्थतन्त्र, जैविक विविधता, पारिस्थितिक प्रणाली, पर्वतीय संस्कृति, पर्वतीय महिला र हिमाल अनि तल्लो तटीय क्षेत्रको सम्बन्धजस्ता महत्त्वपूर्ण विषयमा विद्यमान समस्या रहेको बताए ।
 
उक्त सम्मेलनमा निवर्तमान सङ्घीय सांसद प्रेमप्रसाद तुलाचन, गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री दीपक थापा, राष्ट्रिय योजना आयोगका सदस्य सलोनीसिंह प्रधान, प्रधानमन्त्रीका वातावरणीय सल्लाहकार माधव कार्की, पूर्वउपसभामुख पूर्णकुमारी सुवेदी, एफएओ प्रमुख डा केन सिभिज र वन तथा वातावरण मन्त्रालयका सहसचिव डा सिन्धुप्रसाद ढुङ्गानालगायतले जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा पारेको प्रभाव र त्यसको दीर्घकालीन वैज्ञानिक निकास र समाधान खोज्न आवश्यक रहेको बताएका थिए । 
 
विश्वमै चिन्ताको विषय बनेको जलवायु परिवर्तनको असर, त्यसले वातावरणीय तथा विभिन्न क्षेत्रमा पारेको प्रभाव र त्यसको न्यूनीकरण तथा दीर्घकालीन अनुकूलनसम्बन्धी निकासको मार्ग पहिल्याउँदै मुस्ताङ पर्वतीय घोषणा जारी गर्ने तयारी भइरहेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । 
 
वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको उक्त सम्मेलनमा डीसीए, एफएओ, इसिमोड, आइयुसीएन र किर्डाक, एनटीएनसी,  युकाइर्ड,  युएनडीपी र डब्लुडब्लुएफलगायतका संस्थाले सहयोग गरेका छन् । आजदेखि सुरु भएको उक्त सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनले बुधबार मुस्ताङ पर्वतीय घोषणा जारी गर्ने भएको छ । रासस