मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

सिङ्गो कर्णालीको एक्लो सन्त नेता : मनऋषि

सिङ्गो कर्णालीको एक्लो सन्त नेता : मनऋषि


नादेशका सम्पादक पत्रकार कृष्णसेन इच्छुक तत्कालीन शाही सेनाबाट बेपत्ता पारिएपछि सम्पादक बनेका पत्रकार मनऋषि धिताल मार्क्सवादी सिद्धान्तबाट दीक्षित छन्। जनयुद्धको भट्टीमा खारिएर स्पात बनेका उनलाई सिद्धान्त व्यवाहारमा उतारेका एक पात्रको रुपमा बुझ्दा न्याय हुन्छ। यसको प्रमाण उनी इमानदार छन्, उत्तरदायी छन् र जिम्मेवार पनि। उनमा कुनै पनि खालको लोभलालच छैन।
 
एकातिर सिद्धान्त र आदर्श तथा अर्कातिर व्यवहार गरेर तथालिङ्ग राजनीतिको पछि नलागि इमान्दारिताका साथ जिम्मेवारी निभाउँदै आएका उनलाई यतिबेला नेकपा माओवादी केन्द्र जुम्लाले प्रतिनिधिसभाको सम्भावित उम्मेदवारको रुपमा सिफारिस गरेको छ।
 
उनीसँगै पूर्वसभासद् एवम् कर्णाली प्रदेशका पूर्वकाननुमन्त्री नरेश भण्डारी, पूर्वराज्यमन्त्री गोमा कुँवर र कर्णाली विकास आयोगका पूर्वअध्यक्ष डा. कलबहादुर रोकाया पनि सम्भावित उम्मेदवारको सूचीमा छन्। यी चार जनामध्ये एक जनाले मात्रै टिकट पाउने सम्भावना रहन्छ। हाललाई यो माओवादीको गर्भभित्र छ।
 
कर्णाली प्रदेशभरिबाट माओवादी केन्द्रले छानेका सम्भावित उम्मेदवारहरुमा एकमात्र सन्त नेता हुन, धिताल। जसले मार्क्सवादी राजनीतिसँगै पत्रकारिता गरे।  
 
वर्गीय समाजमा पत्रकारिताको पनि वर्ग हुन्छ। जनताका खास कुराले जनतालाई नै सचेत पार्न र अधिकार प्राप्तिको लडाइँमा होमिने उत्प्रेरणा दिनको लागि जनताकै पत्रकार हुनुपर्ने मान्यताका कारण मिसन पत्रकारिता सुरु भएको हो। जसले व्यापक जनतालाई सचेत र संगठित गरी क्रान्तिमा लगाउन सकिन्छ।
 
लगानीकर्ता र मालिक भक्तिलाई प्राथमिकतामा राखेर पुँजीवादी व्यवस्थाको छाँयाबाट उम्कन नसक्ने व्यवसायिक पत्रकारिताले निम्न वर्गको प्रतिनिधित्व गर्न सक्दैन। जहाँ गरिब दुःखीका कथाहरु त अटाउलान तर उनीहरुले सोचेको जस्तो न्यायपूर्ण व्यवस्था आउँदैन । 
 
त्यसकारण पनि धितालले राजनीतिसँगसँगै पत्रकारिता गरे। उनलाई पार्टीभित्रबाट खासगरी जुम्लाबाट नेता कम, पत्रकार बढी भनेर प्रचार गरिँदा पार्टी पंक्तिका तल्ला समितिसँग उनको राम्रो हिमचिम छैन। तथापि यो सामान्य कुरा हो। उनले यो भ्याकुमलाई चाँडै पूरा गर्न सक्छन्। 
 
चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्सेतुङ पनि आफूलाई पत्रकार सम्झन्थे। राज्यले जबर्जस्ती पछाडि धेकेलेको कर्णाली र देशको निम्न वर्ग, जातजाति, भाषाभाषीलाई कलमको माध्यमबाट अगाडि ल्याउन धितालले राजनीति सँगसँगै पत्रकारिता गरे। 
 
माओको विचारलाई आदर्श ठान्ने धिता यसकारण पनि पत्रकारितासँगै खुला राजनीतिमा लागे। अहिले मैदानमा आउन अति जरुरी भइसकेको छ।
 
तर, यति ढिलो गरि किनरु यो प्रश्न उनीमाथि उठिरहेको छ र उठिरहने छ। राजनीतिमा इमानदार र असल नेताहरु नआइदिदा देशको हालत समाल्न  नसकिने गरि बिग्रेको छ। 
 
उनी राजनीतिमा चाँडै आएको भए साविकको कर्णालीका जनाद्र्धन उनी हुने थिए। उनी जस्ता लोभ लालच नभएकाको हातमा डाडु पन्यू पर्दा जनताले समानताको अनुभूति गर्न पाउने थिए। आसेपासे र हनुमान मोटाइरहेका हुने थिएनन्।
 
यसको विरुद्धमा बोल्ने आँट कसैको छैन। कम्युनिस्ट पार्टीले प्रश्न गर्ने कार्याकर्ता उत्पादनमा जोड दिन्छ। तर आज कम्युनिस्ट पार्टीको नेतृत्व नै कार्यकर्ताको हनुमानकरण खोजिरहेको छ।
 
वर्गीय पक्षरधरताको कठिन राजमार्गमा उनले रोजेको इमानदारिताको परिणाम २०७९ मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा उनी संघको सम्भावित उम्मेदवारको रुपमा चयन भएका छन्।
 
उनले टिकट पाउलान, नपाउलान त्यो पार्टीको आन्तरिक कुरा होला। स्वार्थ र लाभका हिसाबले कुरा गर्ने हो भने उनले टिकट नपाउँदा नै ठिक होला। सामुहिक स्वार्थ र वास्तविक रुपमा जनताको समस्या समाधानका लागि उनीजस्ता सन्त नेता नभई कर्णाली बन्दैन।
 
हरेक वर्ष बजेट चाषणसँगै हनुमनहरुले हाम्रा नेताले हाम्रालागि यति ठाउँमा योजना हाले भनेर फेसबुकका भित्ता रंग्याउने गर्छन्। ती योजना चलाउने काम पनि उनीहरुकै हुन्छ। त्यसैलाई तथास्तु भनेर आफूलाई शक्ति केन्द्र ठान्ने नेता अहिले कर्णालीको जरुरी होइन।  
 
केही समय अघि कर्मचारीतन्त्रमा राम्रो पहुँच बनाएका र विभिन्न मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी समेत सम्हालेका एक जुम्लाका एक उच्च तहका कर्मचारीले विदेशबाट भनेका थिए, ुहामीले पनि मन्त्रालयम हुँदा मातृभूमिका निम्ति केही गरेका हौला तर मैले गरे भनेर सुनाउन जरुरी छैन। किनभने त्यो मेरो कर्तव्य हो। त्यसका लागि जनताले तिरेको करबाट मैले तलब खाएको छु।
 
उनको निचोड थियो, कुनै नेताले मैले फलानो गरे, हलानो गरे भनेर फुर्ती लाउनु जरुरी छैन। किनभने उसले त्यही गर्नकै लागि जनताबाट मत पाएको हुन्छ। मत पाउनेले गर्नैपर्छ। त्यो उसको कर्तव्य हो। अहिले नभनिकनै काम गर्ने नेता जनताले बड्ता रुचाउँछन्।
 
माओवादी पार्टी र धितालाई अलग देखाउनु यो लेखको चेष्टा होइन। तथापि पार्टीका सिद्धान्त र व्यवहार तथा उनको कार्यशैलीको फरकमा भने देखाउनै पर्छ। 
 
जनयुद्धको बैठान सहि ढंगबाट नुहँदा र सत्ता प्राप्ति पछि आफ्ना मुद्दाहरु छोड्दै जाँदा माओवादी पार्टीको साख गिर्दो छ। तर, धितालको कद उचो छ। स्वभाविक रुपमा व्यक्ति भन्दा पार्टी मुख्य हुन्छ। तर आफ्नो नेतृत्वको सरकार र संयुक्त नेतृत्वको सरकारमा सहभागी हुँदा जनयुद्धका मुद्दा तथा निर्वाचन घोषणापत्रमा जाहेर गरिएको न्युनतम प्रतिबद्धताहरु पूरा नगरेको माओवादी पार्टी जनताको रोजाइमा नपरेर व्यक्ति पर्ने सक्ने सम्भावना उच्च छ। यस्तो बेला पार्टीले धिताल जस्ता सन्त नेता अगाडि सार्न जरुरी छ।
 
तत्कालीन जनमोर्चाले देउवा सरकारसमक्ष राखेका ४० बुँदालाई हेर्ने हो भने जनयुद्धको सुरुवात सही थियो। नेपालको राजनीतिमा चलेखेर गरिरहेको भारत उसको प्रमुख दुस्मन थियो। माओवादी नेतृत्वले २०६१ असोजमा रुकुमको फुन्टिवाङमा भएको केन्द्रीय समिति बैठकबाट प्रत्याक्रमणको पहिलो योजना सफल पारौं, वैदेशिक हस्तक्षेप विरुद्ध व्यापक तयारी गरौँ भन्दै भारतविरुद्ध सुरुङ युद्ध गर्न आफ्ना छापामार र कार्यकर्ता परिचालन गरेको थियो।
 
पश्चिमी पहाड र तराईमा सयौं खाल्डा खनेको माओवादीको नेतृत्वले त्यसअघि भारत सरकारसँग भारतीय हित प्रतिकूल केही नगर्ने लिखित प्रतिबद्धता जाहेर गरेको खुलासा नेपाल इन ट्रान्जिसनः फ्रम पिपुल्स वार टु फ्रेजायल पीस नामको पुस्तकले गरेको थियो।
 
पुस्तकमा भारतीय प्रोफेसर एसडी मुनिको ब्रिङगिङ दि माओइष्ट डाउन फ्रम दि हिल्स्ः इंडियाज रोल्स् शीर्षकको लेखमा माओवादी नेतृत्वले २०५९ असारमा भारतीय प्रधानमन्त्री कार्यालय (पिएमओ) मा त्यस्तो प्रतिबद्धता जनाएको किटान विवरण छ।
 
त्यसबेला जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक रहेका मुनिले माओवादी नेताहरु पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईलाई भारतीय संस्थापनसँग सम्पर्क गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका एसडी थिए।
 
माओवादी नेतृत्वले निकट सम्बन्ध बनाएको प्रा। मुनिको लेखले अविश्वसनीय सम्बन्धका पाटाहरु सार्वजनिक गरेको छ। लेखले विस्तारवादी भारतका जासुसी एजेन्सीहरु इन्टेलिजेन्स ब्यूरो (आइबी) र रिसर्च एण्ड एनालाइसिस विङ (रअ) सँग माओवादी नेतृत्व कसरी नजिक भयो र उनीहरुमार्फत पिएमओमा कसरी प्रतिबद्धता जनायो भन्ने कुराको सविस्तार वर्णन छ। भारतीय संस्थापनसँगको माओवादी सम्बन्धको यो खुलासाले उसले १० वर्षे जनयुद्ध र राष्ट्रियताको आन्दोलन कसरी तुहिदै गयो र जनतासँग कसरी धोका हुँदै गयो प्रष्ट हुन सकिन्छ। 
 
माओवादीको तर्फबाट संगठित रुपमै यसको खण्डन हुन सकेन। आज देशको स्थिति बिग्रदै जानुमा माओवादी पार्टी र यसको नेतृत्व सबैभन्दा बढी जिम्मेवार छ। 
 
यस्तो अवस्थामा धिताल उम्मेदवार बन्न निकै ढिलो भएको छ होइनरु भन्ने प्रश्न पनि उब्जेका छन्। राजनीतिले खराब मोड लिएर भड्खालोमा जाँकिदै गर्दा हस्तक्षपकारी भूमिका निर्वाह गर्नुपर्नेमा विदेशिका भाँडा माज्न निस्किएका उनले यो भ्याकुम पिरियडको क्षतिपूर्ति पनि दिनुपर्नेछ।
 
जुम्ली जनताले उम्मेदवार दोहोर्‍याएको इतिहास छैन। यस्तो अवस्थामा पार्टीहरुले पुरानै अनुहार देखाए जनताबाट हुने अप्रिय निर्णय देख्न कुनै आइतबार कुर्नुपर्ने छैन। सांगठनिक रुपमा बलियो माओवादीले इतिहासको कदर गर्न सकेको खण्डमा आफ्नो संगठन थप मजबुत गर्न सक्ला ।