मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

नेपाल–केन्या क्रिकेट : नेपालद्वारा क्लिन स्विप

नेपाल–केन्या क्रिकेट : नेपालद्वारा क्लिन स्विप


काठमाडौँ । केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालले क्लिन स्विप गरेको छ ।
 
नेपालले घरेलु टोली केन्यालाई एकदिवसीय सिरिजको अन्तिम खेलमा ६ विकेटले पराजित गरेको छ । केन्याको नैरोबीको जिमखाना मैदानमा सोमबार भएको खेलमा केन्याले नेपाललाई जितका लागि २५६ रनको लक्ष्य दिएको थियो । 
 
जवाफमा नेपालले ४७ दशमलव १ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । नेपालको जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतकीय इनिङ खेले । अर्जुनले ५८ रनको योगदान दिए भने आसिफले ५६ रन जोडे । 
 
यसैगरी बसिर ५२ रनमा अविजित रहँदा कप्तान रोहित पौडेलले ४६ रन बनाए । ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट हुँदा देव खनाल एक रनमा आउट भए ।
 
केन्याका भिराज पटेलले २ तथा शेम एनगोचे र याश तालातीले १र१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनाएको थियो । 
 
केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले । यसैगरी लुकास एनडानडासनले अविजित रहँदै ५९ रनको योगदान दिएका थिए । सुखदिप सिंहले ३७ रन जोड्दा इमानुएल बुन्डीले २३ रन बनाए । कप्तान शेम एनगोचे १७ रनमा आउट भए ।
 
नेपालका सोमपाल कामी र आदिल अन्सारीले समान २र२ विकेट लिए भने बसिर अहमद र शाहब आलमले समान १र१ विकेट लिए । उक्त सिरिजअन्तर्गत पहिलो एकदिवसीय खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा १७ रनले विजयी भएको थियो ।
 
यस जितसँगै नेपालले केन्याविरुद्धको दुवै सिरिज आफ्नो पक्षमा पारेको छ । नेपालले यसअघि पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज पनि ३–२ ले जितेको थियो । रासस