विचार / ब्लग

श्रद्धेय प्रदीप गिरिप्रति श्रद्धाञ्जलीका मेरा दुई शब्द

प्रकाशित |
०४२ सालताका सत्याग्रह आन्दोलनको पक्षमा काठमाडौँको इन्द्रचोकमा प्रजातान्त्रिक समाजवादी युवा दलका तर्फबाट भाषण गर्दागर्दै तात्कालीन पञ्चायती शासनका प्रशासकबाट प्रदीप गिरिजीको साथ विभिन्न युवा नेताहरुलाई धरपकड गरेर जेल लाने क्रममा हाम्रो दाजु शैलेस आचार्यलाई समेत भद्रगोल जेलमा थुनामा राखियो पछि सेन्ट्रल जेलमा प्रदीप गिरिसँगै सारियो । त्यसबखत त्रिचन्द्र कलेजको विद्यार्थी म, मेरो काम प्रायः हरेक शनिबार सेन्ट्रल जेल गई दाजुसँग भेट गर्ने हुन्थ्यो । यसरी जेल जाने क्रममा मैले धेरै नेताहरु देख्ने मौका पाएँ प्रदीप गिरिलाई पनि अरुसँग बोल्दै गरेको त्यहीँ देखें, त्यस बखतसम्म मैले प्रदीप गिरिको नामचाहिँ सुनेको तर वहाँलाई प्रत्यक्ष नदेखेको अवस्था थियो । बडो स्पष्ट, ओजपूर्ण, वजनदार ‘भोकल’ युक्त आवाज विलकुल माता सरस्वतीकै वरदान थियो वहाँको वोलीमा । 
 
म मनमनै सोच्थेँ को रहेछ यो मान्छे अनि पछि थाहा भयो प्रदीप गिरि भनेर । वहाँकी पत्नी भारती सिलवाललाई पनि मैले त्यहीँ देखेको रातो रंगको कुर्था सुरुवाल आँखामा ठूलो कालो चस्मा लगाएर प्रदीप गिरिलाई भेट्न वहाँ आउनु हुन्थ्यो । त्यससमयमा वहाँहरु अंग्रेजीमा वात मार्नु हुन्थ्योजस्तो लाग्छ मलाई । जेलबाट अलि ढिलो गरी वहाँहरु छुट्नु भयो । त्यसपछि कहिलेकाहीँ दाजुकै निवासमा वहाँ आउनु हुन्थ्यो । कहिलेकाहीँ वहाँसँग अत्यन्त छोटो बोल्ने मौका पनि पाइन्थ्यो बोल्दा हामी साना भाइहरुलाई समेत तपाईं भनेर बडो शिष्टतापूर्वक सम्बोधन गर्नुहुन्थ्यो । भेट्ने मौका पातलै भए पनि भेट्दा हाम्रो काम सुन्नेमात्र हुन्थ्यो किनभने ठूलाले बोल्दा सानाले बीचमा बोल्ने कुरा पनि भएन । 
 
पछिपछि पत्रपत्रिका तथा टेलिभिजनमा वहाँका विचार र अन्तर्वार्ता पढ्ने र सुन्नेमा सीमित भयो तर त्यसमा पनि अपार आनन्द आउँथ्यो । एकफेर त यो बोल्छमात्र केही गर्न सक्दैन किताबी किरो यसको कुनै काम छैन भन्ने सोचसमेत नआएको होइन तर पनि वहाँका विचार तथा तर्कले आकर्षित गर्न कहिल्यै छोडेन तर पछिल्ला दिनमा त वहाँप्रति त्यस्तो नकारात्मक सोच पटक्कै आएन । विशेषगरी वहाँले संसदमा बोलेका कुराहरु अत्यन्त मननयोग्य हुन्थे चाहे ती जुनसुकै विषयका बारेमा बोलिएका किन नहुन् । वहाँले खासगरी संसदमा देशको सामाजिक आर्थिक रुपान्तरण र विकास तथा परराष्ट्र सम्बन्ध आदिका बारेमा बोलेका कुराहरु अत्यन्त सारगर्भित र महत्त्वपूर्ण छन् । संसदमा राखिएका वहाँका ती विचारहरु संग्रह गरी प्रकाशन गरेको खण्डमा भोलिको पुस्तालाई राम्रो ज्ञानको स्रोत हुनसक्छ । विशेषगरी हरेक सत्ताधारीका साथै आफ्नै दलका नीति, कार्यक्रम र व्यवहारमा देखिने वा अनुभूति हुने कुनै पनि किसिमको कमजोरीका विरुद्ध शिष्ट आलोचना एवं तिखो व्यङ्ग्यवाणले सबैलाई चकित र उत्तेजित बनाउने वहाँमा बेजोड कला थियो । वास्तवमा वहाँ एक दार्शनिक राजनीतिज्ञ हुनुहुन्थ्यो ।
 
शाश्वत सत्य हो जन्मिएपछि मर्नै पर्छ । अहिले वहाँको पार्थिव शरीर हामीमाझ छैन । हातमा आई पुनः फुत्किएर उम्किई पोखरीमै पसेको माछो ठूलो भनेजस्तै भयो अहिले । वहाँकै भाषामा नेपाल त्यतिविघ्न सानो नभए पनि विशालकाय छिमेकीसँगैको यो सानो देशको जनचेतनाको स्तर सानो, प्र्रजातन्त्र सानो, नेता सानो, संसद् सानो अन्ततः नेपालको सांसद् पनि साना हुने नै भए । वहाँ जीवित छँदा मलाई यो कुराको कुनै खास मतलव नै भएन तर जब वहाँको पार्थिव शरीर यस धरतीमा रहेन अनिमात्र वहाँको व्यक्तित्वको मूल्याङ्कन हुने रहेछ । त्यसैले ढिलै भए पनि अब म के दाबा गर्छु भने विगत ६०/७० वर्षको इतिहासमा विश्वभरिका विभिन्न देशका पार्लियामेन्टरियनहरुमध्ये माथिबाट गणना गर्दै जाँदा १० जनाको नामभित्र एउटा नाम श्रद्धेय प्रदीप गिरिको आउँछ । मलाई थाह छ मेरो भौतिक उचाईका साथै सामाजिक उचाई पनि छैन । मैले कुनै विषयका बारेमा सार्वजनिक क्षेत्रमा व्यक्त गरेको अभिव्यक्ति वा दाबाले खासै महत्त्व राख्दैन । तथापि म अर्को के कुरा व्यक्त गर्न चाहन्छु भने– वास्तवमा नेपालले लक्ष्मीप्रसाद देवकोटा र विपी कोइरालापछि प्रदीप गिरि नामको एउटा अर्को त्यस्तो अमूल्य मोति पाएको थियो जो फरि समुद्रमै गयो भोलि पुनः त्यस्तो मोति देशले पाउने हो वा होइन यसै भन्न सकिन्न । 
 
स्वर्गको पार्लियामेन्टमा पनि वहाँको ओज र तेज सदा कायम रहिरहोस् । श्रद्धेय स्वर्गीय प्रदीप गिरिप्रति मेरो भावपूर्ण श्रद्धाञ्जली । यस दुःखद्घडीमा वहाँको पत्नी, छोरालगायत सम्पूर्ण पारिवारिक सदस्यहरुका साथै वहाँका सच्चा अनुयायीहरुमा धैर्य धारण गर्ने शक्ति प्रदान गरिदिनका लागि ईश्वरसँग प्रार्थना गर्दछु । जय नेपाल !
 
(तीनपैनी, विराटनगर–२)
हाल : नेपाल राष्ट्र बैंक, टक्सार महाशाखा, बबर महल, काठमाडौंमा निर्देशक पदमा कार्यरत
सम्पर्क नं : +९७७९८५११८२९९२

–विनोदराज आचार्य

–विनोदराज आचार्य -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया