मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

परिश्रमको तितो फल

परिश्रमको तितो फल

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालको एक निम्न बर्गीय परिवार श्रीमानको शिक्षण पेशा, श्रीमती साधारण लेखपढ मात्र भएकोले उनि गृहिणीमै सिमित थिइन्। नेपालको त्यति बेलाको समयमा उनीहरुको साधारण जीविका चलेकै थियो। उ बेलाको बाबुआमाले खोजी दिएको मागीबिबाह गरेका थिए। श्रीमानको उमेर १९ र श्रीमती को उमेर १७ बर्ष मात्र थियो बिबाह गरेको बर्ष दिनमै एक अर्कालाई राम्रोसँग चिन्न र हाँस खेल गर्न नपाउँदै उनीहरुको एउटा छोरो जन्मियो।

त्यसपछि झन उनीहरुलाई एक जनाको कमाइले तीन जनाको परिबार धान्न जीवन त कठिन हुन थाल्यो । तरपनि दुबैले आफ्नो बैंश जबानीलाई नै बिर्सेर जति दुख सहेर पनि छोरो लाई पढ़ाएर ठूलो मान्छे बनाउने र असल शील स्वभाबकी माया गर्ने बुहारी भित्राएर छोरा बुहारीसँगै बाँकी जीबन सुखमय सँग बिताउने सपना साँचेका थिए उनीहरुले। छोराको भबिष्य नै आफ्नो भाग्य सम्झे उनीहरुले
त्यहि छोराकै लागि उनीहरुले अर्को सन्तान नजन्माउने अठोट लिएजेनतेन छोरो हुर्केर तीन बर्ष पुगे पछि उनीहरुले छोरालाई नजिकैको राम्रो अंग्रेजी बोर्डिंग स्कूलमा भर्ना गरे । अब झन उनीहरुलाई स्कुलको आर्थिक बोझ पनि थपियो । त्यो बोझ कम गर्न श्रीमतीले छोरो स्कुल गएको बेला अर्काको घरमा सरसफाई गर्ने काम गर्न थालिन् । साँझ श्रीमान घरमा आएपछि घर खर्च र छोराकै बिषयमा मात्र उनीहरुको कुरा कानी हुन थाल्यो।

श्रीमती भन्थिन्अब यसरी हुँदैन मैले पनि सानो तिनो अरु काम गर्नु पर्यो त्यसको कमाईले स्कुल खर्च पुग्छ भनेर श्रीमानलाई सुनाई रहन्थी। उनीलाई सँधै छोरोलाई कसरी ठुलो मान्छे बनाउन सकिन्छ भन्ने ठुलो चिन्ता थियो त्यसैले हरेक दिन बिहान छोराकै लागी भगवान सँग प्राथना गर्द्थिन। यसरी उनीहरुले छोरालाई खाई नखाई गरेर भए पनि चार कक्षा सम्म पढ़ाउँदै थिए भगवानले श्रीमतीको बिन्ती सुनेछन कि के हो श्रीमानलाई सन २००८ मा अमेरिकाको डिभी चिट्ठा पर्यो । ऋण, सरसापट ऋणधन गरेर भए पनि २००९ मा ठुलो सपना बोकेर अमेरिका पसे ।

उनीहरुको अमेरिका आउने एउटै लक्ष्य भनेको छोरो पढाएर ठुलो मान्छे बनाउने मात्र थियो। अमेरिकामा उनीहरुको चिनेको भनेको श्रीमानको मावली दाईको परिवार मात्र थिए । बिगत १० बर्ष देखी क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरियामा बस्दै आएका थिए मावली दाइको परिवार । त्यसैले उनीहरु पनि उतै पुगे

मावली दाई भाउज्युले खोजी दिएको पुरानो एक बेड रूमको अपार्टमेन्टमा उनीहरु बस्न थाले। करिब एक महिनापछि उनीहरुले अमेरिकामा बस्न र कामगर्न पाउने कागजाज जस्तै ग्रिनकार्ड र सोसियल सेकुरिटी प्राप्त गरे । छोरालाई नजिकैको स्कुलमा भर्ना गरिदिए।

सुरुसुरुमा उनीहरुलाई भाषाको कारणले काम पाउन धेरै गाह्रो भयो । बल्लबल्ल दुइ महिनापछि श्रीमानले पिजाह्ट्मा काम गर्न थाले श्रीमतीले करिब चार महिना पछि नजिकैको एउटा इन्डियन डाक्टरको घरमा सरसफाईको काम पाईन। त्यतिबेला सम्म उनीहरुलाई तिनै मावली दाईले सबै कुरा मिलाई दिएका थिए। अब उनीहरुको काम घर र छोरालाई स्कुल ल्याउने लैजाने गर्दैमा दिन बित्न थाले।
करिब दुइ बर्ष पछि एक्कासी मावली दाईले भने-‘हेर भाई अब हामी पनि बसाई सराईको क्रममा टेक्सस जाने भयौ तिमीहरु पनि पुरानो भईसक्यौ, सबै कुरा थाहै छ अब कस्सिएर काम गर्ने, छोरो पढाउने आफु पनि बेलाबेलामा यसो रमाइलो गर्नु बुझ्यौ निभनेर ऊनी गए।

अब उनीहरु एक्ला भए त्यति बेलासम्म पनि उनीहरु काम घर अनि छोरालाई घर र स्कुल बाहेक अरु केहि बुझेका थिएनन्। बिरानो ठाउँ, भाषाको समस्या, साथीभाई अरु आफन्त कोहि नहुँदा मावली दाईको परिवार सरेपछि उनीहरले टुहुरो महसुस गरे । त्यसपछि काम घर र छोरो भन्दैमा उनीहरुको दिन बित्न थाल्यो। बाहिरी संसार कस्तो छ थाहै भएन। कसैसँग उनीहरुको सम्पर्कै भएन अनि नेपाली चाड बाड कहिले र कसरी मनाउने मेसै मिलेन उनीहरूलाइ

अमेरिका आएर पैसा कमाउनु पर्छ भन्ने बाहेक अरु कतै सोचेनन्यसैगरि उनीहरुले धेरै बर्ष काम र घर नै गरी रहे। श्रीमती विहान छोरालाई स्कुल पठाएर काममा जान्थिन भने श्रीमान दिउसो छोरोको छुट्टी भए पछि छोरालाई घरमा ल्याएर काममा जान्थे । राती १२ बजे पछी मात्र घर फर्कन्थे। बिस्तारै छोरो ठुलो भएर ग्रेड पुगे पछि ऊ आफै घर र स्कुल गर्न थाल्यो। अब त झन छोरालाई कलेज पढाउन पर्छ भनेर यति धेरै काममा ब्यस्त हुन थाले । त्यसले गर्दा छोरासँग भेट हुन पनि मुश्किल हुन थाल्यो । दम्पत्तिका भेटघाट र कुराकानी पनि हप्तामा एक दिन आइतबार मात्र हुने गर्थ्यो । उता छोरो भने दिन प्रति दिन बिग्रिदै थियो। उसलाई बाहिरी हावा लागी सकेको थियो अमेरिकन साथीभाईहरुसँग बरालिने र गर्लफ्रेन्ड लिएर हिड्न सुरू गरिसकेको थियो घरमा एक दुई दिन बिराएर मात्र आउँथ्यो ।

उसले नेपाली बोल्न पनि छोडी सकेको कुरा बाबुआमाले कामको व्यस्तताले पत्तै पाएनन्। कसरी उनीहरुको दिनचर्या बितिरहेको छ उनीहरुलाई पत्तै भएन। परिश्रमको फ़ल मिठो हुन्छतर परिश्रम गरेर मात्र पनि हुँदो रहेनछ, अलि विचार पुर्याएर परिश्रम गरिएन भने “परिश्रमको फ़ल तितो” पनि हुँदो रहेछ भन्ने उदहारण भयो यो परिवार ।

सन २०१७ मे महिनाको अन्तिम आइतबार साँझको हो दुबै श्रीमान श्रीमती घरमै सोफामा बसेर छोराकै विषयमा कुरा गरीरहेका थिए छोरो अब ठुलो भई सक्यो हेर बुढी उसले अमेरिका आएर पढेको पनि १० बर्ष पुगि सक्यो क्यारे । अब त कलेज जाने बेला पनि भईसक्यो। मलाई त केहि भनेको छैन तिमीलाई केहि भनेको छ ?’ उसले पत्नीलाइ सोध्यो । छोराको पढाइ बारे दुबै अनभिज्ञ थिए ।
त्यतिकैमा छोरो एउटा गोरी केटीका साथ हाँस्दै घर भित्र छिर्यो ऊ हाईस्कुल सकेर १२ को ग्रयाजुयेसन टोपी र गाउनका साथ एउटा हातमा फूलका गुच्छा र अर्को हातमा पढाईको प्रमाणपत्र लिएर घर भित्र प्रबेश गरेको थियो । बाबु आमा सोफामा बसेर टिभी हेर्दै छोराकै पढाईको बारेमा कुरा गर्दै थिए तर उनीहरुलाई आज छोराको ग्रयाजुयेसन छ भन्ने थाहै थिएन । न छोराले बाबु आमालाई यो कुरा भनेको नै थियो तर छोरालाई के थाहा उसका आमा बाबुको जीवनको यो नै सबै भन्दा ठुलो खुशीको क्षण थियो भनेर
यहि दिनको लागि उनीहरुले आज सम्म यति दु:ख गरेका थिए तर छोराले यो कुरा मैले आमाबाबुलाई भन्न पर्छ भन्ने बुझ्नै सकेन। यसरी छोरो एक्कासी घरमा प्रबेश गरे पछि बाबु आमा झसङ्ग भए अनि छोराले आमालाई सोफाबाट उठ्न संकेत गर्दै गोरी केटीलाई सोफामा बसाल्यो आमालाई दुइ कप कफी बनाउन अर्डर गर्यो । उता बाबु चाँही अक्क न बक्क भएर त्यहिँ उभिरहे

एकछिन पछि छोरा लाई उस्को हातको प्रमाणपत्र देखाएर सोधे बाबु तिम्रो हातमा के हो ? छोराले बाबुलाई प्रमाण पत्र देखाऊँदै भन्यो दिस इज माई हाइस्कुल सर्टिफिकेट टुडे वाज माई ग्राजुएसन सेरमोनी । नाउ आइ विल गो युनिभरसिटी ड्याड

बाबुले केटी तर्फ संकेत गर्दै सोधे यिनी को हुन नी ?

छोराले जबाफ दियोसि ईज माई गर्लफ्रेन्ड बाबु तीनछक्क परेर छोराको हातबाट प्रमाण पत्र खोसेर हेरे त्यति बेला सम्म आमा भान्साकोठाबाट दौडदै आईन र खुशी हुँदै भनिन्खै मलाई पनि देखाउनुस् न म पनि मेरो छोराको प्रमाणपत्र हेरौं। यसै बिच छोराले झर्किंदै बाबुको हातबाट फ्याट्ट प्रमाणपत्र खोस्यो र भन्यो-‘हवाट ननसेन्स फेरी अंग्रेजी मै भन्योतपाइहरू जस्तो अनपढ गँवारहरुले के बुझ्नु हुन्छ यसमा लेखेको कुरा।

बाबुले रुन्चे अनुहार लगाऊदैं छोरालाई भने हो तेरी आमा साधारण नेपाली लेखपढ हुन यिनलाई अंग्रेजी पढ्न आउँदैन। आमा अश्रुपूर्ण आँखालाई पछ्याैराको सप्कोले पुछ्दै कफी बनाउन भान्साकोठा तिर गईन । बाबुले एक थप्पड छोराको गालामा दिँदै भने हो छोरा तैले एकदमै सही भनिसहामी तेरो अंग्रेजीमा अनपढ़ छौं, सुन छोरा आज म तँलाई सबै कुरा भन्छु। अब तैले सुन्नै पर्छ हाम्रो कथा।
 
जब हाम्रो बिहे भएको तीन महीना मात्र भएको थियो हामीले चाहँदा नचाहँदै तेरी आमा गर्भवती भई मैंले भने बिबाहपछि काहिँ घुम्न जाँउ, रमाइलो गरौँ, बिबाह अगाडी हामीले एक अर्कालाई राम्रोसँग चिनेका पनि थिएनौं कतै घुमेका पनि थिएनौ। मैले तेरी आमालाई भने हिड यस पटक यो बच्चा एबर्सन गरौँ अलि एक दुइ बर्ष पछि अर्को जन्माउँला तर तेरी आमाले मानिन र भनि घुम्न रमाइलो गर्न र एकअर्कालाई बुझ्न त बिस्तारै हुन्छ त्यसैले यो बच्चा हामीले जन्माउनै पर्छ। थाहा छ बाबु तँलाई त्यो बच्चा को थियो ? त्यो तँ नै थिइस। त्यसपछि तेरो जन्म भयो, हामीले तँलाई जन्म दिएर गँवार भयौं हैन ?

सुन अझ पहिला हामीले त्यती दुध फलफुल किन्दैन थियौं जब तँ गर्भमा आइस अनि तेरी आमाले दूध फलफुल सागसब्जी एकदमै मन पराउन थाली । किन थाहा छ उसले तँलाई स्वस्थ बनाउनको लागी नौ महिनासम्म दूध खुब पिउँथि किनकी तेरी आमा अशिक्षित थिइ। अझ सुन बाबु, तँलाई बिहानै स्कूल जानु पर्थ्यों त्यसैले हामी बिहानै ४ बजे उठेर तँलाई मनपर्ने नास्ता बनाउँथ्यौ किनकी हामी मुर्ख थियौं। जब तँ रातमा पढ़दापढ़दै निदाउथिस नि हामी गएर तेरो कपी किताब झोलामा राखीदिएर अामाले तँलाई ओछ्यानमा सुताउँथी र त्यसपछि मात्र हामी सुत्थ्यौ र रातमा बारम्बार उठेर तँलाई हामी शिरक ओढाउँथ्यौ किनकी हामी पागल थयौं बाबु। सानै देखी तँ धेरै बिरामी भईस त्यतिबेला हामी रात भर जागाराम हुन्थाै र बिहानै उठेर हस्पिटल लैजान्थियौ अनि काममा जान्थ्यौं किनकी हामी बेबकुफ थियौ। तेरो लागी नया कपडा ल्याउनको लागी भनेर तेरी आमा मेरो पछि पर्थी तर स्वयं हामी भने बर्षभरी एउटै कपडामा रहन्न्थयौ किनकी हामी पाखे थियौं। अनि सुन तँ ठुलो हुँदै गए पछि तँलाई पकेट खर्च चाहिंछ भनेर आँफु ओभरटाइम गरेर भए पनि तेरो सिरानी मुनी हामीले पैसा राखी दिन्थियौ किनकी हामी स्वार्थी थियौं।

करिब एक बर्ष अघि मात्रै होला तैंले साथीहरु सँग न्यूयोर्क घुम्न जाने भनेर आमासँग पैसा माग्दा उनीले एउटा तिलहरी भए पनि किन्न पर्यो भनेर जम्मा गरेको खुत्रुक्के पनि फुटाएर तँलाई नै दिएको यति चांडै बिर्सिस बाबु ?

हेर छोरा, जो तेरो नज़रमा पढ़े लेखेका भनेको छस नि, त्यहि केटीलाई देखाउँदै उनीहरु सबभन्दा पहिला आफ्नो स्वार्थ र मतलब हेर्छन तर हामीले आजसम्म आफुलाई कहिल्यै हेरेनौ बुझिस् । किन थाहा छ ? हाम्रो स्वार्थ भनेको नै तँलाई ठुलो मान्छे बनाउने थियो । बल्ल आज हामीलाई थाहा भयो अब तँ ठुलो भइसकीछस्अहिले मात्र हामीले बुझ्याैँ । धन्यबाद छोरा तैंले हामीलाई ब्युँताइस्। तँलाई हुर्काउन र पढाउन पर्दा हामीले जीबनभर आँफुलाई केहि जोड्न र बचत गर्न सकेनौं । यहाँ सम्मकी बिबाहमा मैले तेरी आमालाई दिएको तिलहरी र औंठी समेत उस्ले तेरै खातिर बेची। तेरी आमा खाना बनाएर हामीलाई दिन्थी तर कहिलेकाँही आफै खान बिर्सन्थी। त्यसैले म आज गर्वको साथ भन्छु हामी मुर्ख नै थियौं किनकी हामीले सँधै आँफैलाई बिर्सेर जीवनभर छोराकै लागी भनेर समर्पित भयौं।

त्यति बेलासम्म छोरोले गोरी केटीलाई सोफाबाट तानेर अब म यो घरमा एकछिन पनि बस्दिन म सदाको लागी तिमीहरुबाट टाढा भएँ मलाई भेट्ने कोशिश कहिल्यै नगर्नु भनेर निस्कियो । त्यहि गोरी केटी लाई लिएर छोरो घरबाट बाहिर निस्क्यो तर बाबु आमा एक अर्कालाई हेरेर सुँक्कसुँक्क गर्दै टवाल्ल परि रहे । जीवनभर गरेको गल्तीलाई सम्झिएरछुताउँ गर्दै दुवै जना सोफामा थच्छ बसे।

उनीहरुले छोरालाई आफ्नो दुख लुकाएर हुर्काए पढाए तर छोराले कहिल्यै आफ्नो बाबु आमाको चाहना र भाबना बुझेन। छोरो ठुलो हुँदै गए पछि छोराको आनीबानी आमाबाबुले आफ्नो कामको व्यस्तता र छोरा प्रतिको विश्वासले गर्दा छोरो बिग्रेको पत्तै भएन। आफुले भने जीवनभर दुख गरी रहे तर छोरालाई कहिल्यै आफ्नो दुखको महसुस गराएनन्।

छोरो ठुलो भए पछि उनीहरुले कहिल्यै छोरालाईसँगै राखेर आफ्ना कुरा सुनाएनन्। आफ्नो घर परिबार, भाषा, धर्म, संस्कारको बारेमा केहि भनेनन् र पछि उस्ले आफ्नै मातृ भाषा नेपाली पनि भुल्न थाल्यो आमाबाबु बाट झन झन ऊ टाडिदैं गयो। छोराले बाबु आमाबाट शिक्षा त पायो तर संस्कार पाएन, आमाबाबुले छोरा त पाए तर उसको मायाँ पाएनन्। अचेल उनीहरु करिब दुइ बर्ष सम्म पनि छोरा सँग कुनै सम्पर्क नभएपछि छोराको साहारा चाहिने बेलामा फेरी नेपालको आफ्नै गाउँ फर्केर बाँकी जीवन बिताई रहेका छन्।
त्यसैले कुनैपनि बाबुआमाले आफ्नो छोरा छोरीलाई मायाँ गर्नुको साथै छोराछोरीलाई आफ्नो कर्तब्य र संस्कार दिन पनि नभुलौं । मायाँ गर्ने भनेर आबस्यक भन्दा बढी लाडप्यार अनि बुढेस कालको लागी साहारा भनेर छोराछोरी प्रति पुर्ण भर पनि नपरौं।    ॐ पितृदेवो भवस् मातृ देबो भबस् ॐ ! 
                                                                       
(आज कुशे औँशी अर्थात हिन्दु संस्कार अनुसार बाउ अर्थात पिताको मुख हेर्ने दिन । यसै प्रसङ्गलाई जोडेर अहिले नेपाली समाजमा भइरहेको यथार्थताको उजागर गर्नु समय सान्दर्भिक लागेर यो कथा प्रस्तुत गरिएको हो । यो कथा आम नेपालीको बास्तबिकता हो तर यदि कसै सँग छ मेल खाएमा सयोंग मात्र हुनेछ ।)
 
– कथाकार ढकाल युलेस टेक्ससका बासिन्दा हुन् ।