मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

बदलिँदो परिस्थितिमा युवामा परेको असर

बदलिँदो परिस्थितिमा युवामा परेको असर


युवा भनेको राष्ट्रको मजबुत खम्बा, अनमोल र अमूल्य शक्ति हो । हालको तथ्यांकअनुसार कुल जनसंख्याको आदि भन्दा बढी नेपालमा युवा समूहको जनसंख्या रहेको छ । त्यसैले युवावर्गलाई राष्ट्रको प्रमुख धरोहर साथै मेरुदण्डको रूपमा लिइन्छ ।


नेपाल एक विकासउन्मुख देश हो । राष्ट्रलाई प्रगतिको बाटोतर्फ डोर्‍याउन युवा जनशक्तिको खाँचो छ । आर्थिक, सामाजिक र राजनीतिक विकासको लागि युवाहरूको सहभागिता जरूरी छ । युवा भविष्यका कर्णधार हुन् । अहिलेका युवा पछि गएर राष्ट्रनिर्माणका लागि महत्त्वपूर्ण भूमिका खेल्छन् । राष्ट्रले युवाको क्षमतालाई उपयोग गरेर देशलाई विकासतर्फ धकेल्न जरूरी छ ।

आर्थिक, राजनीतिक र सामाजिकरूपमा नेपालको परिस्थिति दिनानुदिन परिवर्तन हुँदै गइरहेकाले युवापुस्तालाई गहिरो असर परेको छ । हामीले युवालाई गतिशील, परिवर्तनशील र उर्जाशील वर्गमा विभाजन गर्छौं । तर, विडम्बना के छ भने अहिले राष्ट्रका धेरै युवाहरू बेरोजगार रहेका छन् । दैनिक १५ सय युवाहरू रोजगारीका लागि विदेसिने गरेको तथ्यांक छ । जनसंख्याको १० प्रतिशतभन्दा बढी युवाहरू विदेशमा रहेका छन् । जसले गर्दा राष्ट्रनिर्माणका लागि जनशक्ति घट्दै गइरहेको देखिन्छ ।

देशको बदलिँदोे परिस्थितिजस्तै राजनीतिक असमजदारी, जातीय विवाद, गरिबी, आर्थिक मन्दी र अन्य अनुकूल परिस्थितिले युवाहरूमा नकारात्मक सोचाइको सिर्जना गरेको पाइन्छ । अहिलेको युवापुस्ताहरु देशका लागि केही गर्छु भन्दा पनि बाध्यतावश उच्च शिक्षा, रोजगारी र राम्रो अवसरको लागि विदेसिने गरेका छन् । तथ्यांकअनुसार हेर्न हो भने एउटा नेपाली परिवारबाट एक सदस्य विदेशी भूमिमा पाइला राख्न बाध्य छ । यी सबै देशको बदलिँदो परिस्थितिको परिणाम युवाहरुले भोगिरहेका छन् ।

अहिलेको सन्दर्भमा हेर्ने हो भने राज्यको बागडोर समाल्ने युवाशक्ति अरुको देशमा गएर रगत र पसिना बगाउन बाध्य छन् । दुःखको कुरा त्यही रगत र पसिनाको रेमिटान्सले हाम्रो राष्ट्रको आर्थिक स्थिति धानिरहेको छ । यसमा दोष राज्यलाई दिने या राजनीतिक दललाई । किनकि पाँचतारे होटेलको बन्दकोठामा हुने बौद्धिक विलासिताले, युवाको आवश्यकताको, प्रश्न र अवस्थाको निचोड निकाल्न सक्दैनन् । त्यसैले बोलीमा भन्दा व्यावहारिक हुनु जरूरी छ ।

बदलिँदो परिस्थितिले युवामा पारेको असरहरु यस प्रकारले हेर्न सकिन्छ । धेरैजसो युवाहरू उच्च शिक्षा र रोजगारीबाट वञ्चित हुन पुगेका छन्, गरिबी र आर्थिक मन्दीका कारण युवाहरुको मानसिक स्वास्थ्यमा असर परेको देखिन्छ । देशको बेरोजगारीका कारण युवाहरू कुलत, विकृति र द्वन्द्वमा संलग्न भइरहेका छन् । अझै भन्ने हो भने हत्या, हिंसा, अपहरण, लागूऔषध, चोरी–तस्करी आदिजस्ता क्रियाकलापहरु युवाहरूमा बढ्दै जानुको मुख्य कारण आहिलेको बदलिँदो परिस्थिति हो ।

आजको आवश्यकता भनेको राष्ट्रको अर्थव्यवस्था, विकास र उन्नतिको लागि युवाको धेरै खाँचो छ । तसर्थ, राज्यले युवाहरूलाई देश विकासमा सामेल गरी सशक्त बनाउनुपर्छ । युवा समावेशिकरण, रोजगारी क्षमता, शिक्षालगायतका कुराहरुमा ध्यान दिन जरूरी छ । देशमै उद्यमशीलताको विकासका लागि राष्ट्रले सन्तुलित वातावरण निर्माण गराउनु पर्दछ । अझै हेर्ने हो भने पिछडिएका क्षेत्र, वर्ग र समुदायका युवाहरूलाई विशेष प्राथमिकता दिनु पर्दछ ।

युवा वर्ग देशको सबैभन्दा ठूलो शक्ति हो त्यसैले राष्ट्रको दिगो विकासका लागि उनीहरुलाई सक्षम, शिक्षित र सशक्त बनाउन आवश्यक छ । दिन–दिनै युवाहरूलाई विदेश पलायन हुनबाट रोक्नु अहिलेको सबैभन्दा ठूलो चुनौती हो । त्यसैले राज्यले शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलताको विकास गराई युवाहरूलाई शिक्षित, सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रूपमा विकास गराउनु वर्तमान आवश्यकता रहेको छ ।

अन्तमा राज्यले देशको बदलिँदो परिस्थितिलाई सन्तुलन बनाएर विकास निर्माणका लागि युवाहरूलाई अग्रसर बनाउन जरूरी  छ । त्यसैले युवाहरू राष्ट्रको गहना हुन् साथै सिंगो राष्ट्रको आर्थिक, राजनीतिक र सामाजिक विकासको लागि उनीहरुलाई सक्षम र प्रयाप्त योगदान पुर्‍याउन साथै सशक्त, सुदृढ बनाउन महत्त्वपूर्ण प्रयासहरुको स्थापना गराउनु वाञ्छनीय देखिन्छ ।