मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

देश हामीले आफैँ बनाउने हो : अध्यक्ष ओली

देश हामीले आफैँ बनाउने हो : अध्यक्ष ओली


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो देश आफैँले बनाउनुपर्ने बताएका छन् ।  
 
अखिल नेपाल महिला संघ युवा सञ्जालले मंगलबार आयोजना गरेको ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा उनले कुनै पनि देश अर्काले नबनाइदिने र आफैँले बनाउनुपर्ने बताए । “कुनै पनि देश अर्कैले बनाइदिएको छैन । आफैँले बनाएर बनेको छ”, उनले भने, “हामी पनि हाम्रो देश बनाउन आफैँ लाग्नुपर्छ । हामीले अनावश्यक गफ दिएर हुँदैन । ”
 
उनले चीनजस्तो ठूलो देश पनि तीन चार दशकअगाडि गरिब रहेको र आफ्नै मिहिनेतले अहिले समृद्ध बनेको बताए । “चीन तीन चार दशकअगाडि गरिब थियो । तीन चार दशकमा ठूलो जनसङ्ख्यालाई कसरी खुवाउन सक्छ भन्ने थियो”, उनले भने, “आफ्नै खुट्टामा उभिएर चीन बनेको हो । चीनजस्तो ठूलो देश बनाउन सकिन्छ भने हाम्रोजस्तो सानो देशलाई चिटिक्क र समृद्ध बनाउन हामी पनि सक्छौँ ।”
 
पूर्वप्रधानमन्त्री ओलीले महिला आन्दोलन, महिला सशक्तीकरण, महिला जागरणलाई गलत बाटोतिर जान दिनु नहुने भनाइ राखे । समाजलाई सभ्य सुसंस्कृतिको बाटोमा लैजान महिला आन्दोलन आवश्यक रहेको उनको भनाइ थियो ।  
 
अध्यक्ष ओलीले नेपाली महिलाहरू इतिहासमा अग्रगामी स्थानमा भए पनि तीन चार सय वर्षयता महिलालाई पछि पार्न थालिएको बताए । उनले राजनीतिमा महिलाको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे । रासस