मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ह्यारी भण्डारी : अमेरिकामा ग्यासस्टेसनको जागिरदेखि संसद्सम्म

ह्यारी भण्डारी : अमेरिकामा ग्यासस्टेसनको जागिरदेखि संसद्सम्म


कोलोराडो, अमेरिका । सन् २००५ मा नेपालको पर्वत जिल्लाबाट भाग्यको खोजीमा अमेरिका आइपुगेका ह्यारी भण्डारी १३ वर्षको अन्तरालमा सन् २०१८ मा मेरिल्याण्ड स्टेटको हाउस अफ एसेम्बेली सदस्य हुन पुगे ।
 
अमेरिका आई ग्यास स्टेसनको जागिरबाट यात्रा सुरु गरी छोटो समयमा अमेरिकाको मूलधारको राजनीतिमा प्रवेश गरी सांसद्सम्म बन्न सकेँ भन्ने इतिहास उनले आज कोलोराडोमा एक समारोहबीच सुनाए ।  
 
डेमोक्रयाटिक पार्टीबाट मेरिल्याण्ड स्टेटको हाउस अफ एसेम्बेली सदस्यमा दोस्रो कार्यकालको लागि उमेदवार रहेका भण्डारी कोलोराडोमा नेपाली समुदायबाट उत्प्रेरणा, शुभ आशीर्वाद तथा सहयोगको लागि Meet and Greet कार्यक्रम लिई आइपुगेका हुन् ।
 
कोलोराडोस्थित नेपाली समुदायले ब्रुमफिलस्थित दरबार रेष्टुरेण्टमा आयोजना गरेको कार्यक्रममा कोलोराडोमा सक्रिय संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, व्यवसायी, समाजसेवी, नागरिक अगुवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

 
कार्यक्रममा उपस्थित महानुभावहरुलाई सम्बोधन गर्दै सांसद् भण्डारीले आफ्नो चारवर्षे कार्यकालको अनुभव सुनाएका थिए । आफू मेरिल्याण्ड स्टेटको मात्र सांसद् भए पनि अमेरिकाभर रहेका नेपाली समुदायको दुःखसुखको साथी हुने मौका पाएकोमा आफूलाई गौरव लागेको र आफूलाई यस स्थानसम्म पु¥याउन नेपाली तथा एसियन अमेरिकनहरुको ठूलो हात रहेको बताए ।
 
आफू अमेरिकामा नेपालीलाई देखिने र सुनिने बनाउने अभियानमा लागेको भन्दै यस अभियानमा जोडिन सबैलाई आग्रह गरे । अमेरिकाको सबै स्टेटमा रहेका नेपालीले यहाको मूलधारको राजनीतिमा प्रवेश गरी नीति निर्माण गर्ने तहसम्म नपुगेसम्म हामीलाई सम्पूर्ण अधिकार प्राप्त गर्न कठिन हुने भएकाले सम्भव भएसम्म क्षमता भएका मानिसहरु अगाडि बढ्न उनले सुझाव दिए । 
 
दृढ विश्वासका साथ अगाडि बढे एकदिन शिखर चुम्न सकिन्छ भन्दै उनले थपे, ८० प्रतिशत भन्दा बढी गोराहरुको बसोबास भएको ठाउँमा के चुनाव जितिएला भनेर आफू चुप लागेर बसेको भए यो अवसर कहिल्यै प्राप्त नहुने बताए । उनले आफ्नो थप जानकारी चाहिएमा www.harrybhandari.com  जान र सक्दो सहयोग गर्न सुझाव दिन सबैलाई अनुरोध गरे ।
 
हामी अहिले हाम्रो सामुदायिक विकासको लागि भर्खर जग खन्दैछौँ । यस्तो अवस्थामा हामी चुप लागेर बसे हाम्रो घर कहिल्यै तयार हुन नसक्ने र हाम्रो समुदायको हकहित र अधिकारको लागि हाम्रा छोरा नातिले पनि संघर्ष गरिरहन पर्ने अवस्था आउने हुनाले अधिकार खोजीको लागि सबैलाई अग्रसर हुन अनुरोध गरे ।
 
दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालन भएको कार्यक्रम बासु खनालले सञ्चालन गरेका थिए ।  कार्यक्रममा कोलोराडोका अग्रज तथा समाजसेवीहरु नारायण श्रेष्ठ, पुरुषोत्तम पाण्डे, पदम विश्वकर्मा, जगदीशचन्द्र ढकाललगायतका व्यक्तिहरुले आ–आ आफ्नो धारणा राख्दै कोलोराडोका नेपाली समुदायको तर्फबाट भण्डारीलाई दोस्रो कार्यकालको सफलताको शुभकामना दिएका थिए ।