मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

भरतपुर विमानस्थल विस्तार चालु आवदेखि सुरू हुन्छ : उड्डयनमन्त्री श्रेष्ठ

भरतपुर विमानस्थल विस्तार चालु आवदेखि सुरू हुन्छ : उड्डयनमन्त्री श्रेष्ठ


चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको काम चालु आर्थिक वर्षदेखि नै अघि बढ्ने बताएका छन् । भरतपुर महानगरपालिकाले आयोजना गरेको विमानस्थल विस्तारसम्बन्धी अन्तर्क्रियामा उनले तत्काल काम अघि बढाइने बताए । 
 
हालसम्म भएका छलफल र कार्यप्रगति सुनेपछि मन्त्री श्रेष्ठले विमानस्थल विस्तारका लागि आवश्यक जग्गा दिन नेपाली सेना तयार भएको भन्दै अब काम अघि बढ्ने बताए । उनले भने, “यो विमानस्थल विस्तारका लागि मन्त्रालयले उच्च महत्त्व दिएको छ ।”
 
विमानस्थलको धावनमार्ग विस्तारका लागि ३०० मिटर जग्गा आवश्यक पर्ने भन्दै उनले यस विषयमा प्रधान सेनापतिसँग सकारात्मक छलफल भएको बताए । उनले भने, “जमिनको कारणले काम रोकिन्न ।” चितवनका लागि मात्रै नभएर देशकै लागि यो विमानस्थल महत्त्वपूर्ण भएको भन्दै उनले नागरिक उड्डयन प्राधिकरणको बजेटबाट काम अघि बढ्ने जानकारी दिए । भरतपुर महानगरपालिकाले निरन्तररूपमा विमानस्थल विस्तारका लागि घचघच्याउने कार्य गरेकोमा महानगरलाई धन्यवाद दिए ।
 
सोही अवसरमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणकै बजेटबाट विस्तृत अध्ययन प्रतिवेदनको काम तत्काल थाल्ने बताए । गर्मीको मौसममा जहाजले पूर्ण क्षमतामा उडान भर्न यहाँ नसकेको भन्दै उहाँले विसं २०८० सम्ममा ठूला जहाज रातिसमेत उडान गर्नसक्ने गरी विमानस्थल विस्तार गरिने बताए । रातिको समयमा काठमाडौँ बाहिरका विमानस्थलमा २० वटा जहाज बस्ने गरेको भन्दै उहाँले राजधानी नजिक भएर पनि हवाई सुविधामा पछाडि परेको बताए । उनले भने, “अब हामी ढिलो गर्दैनौँ, तत्काल काम थाल्छौँ ।” 
 
महानगर प्रमुख रेनु दाहालले पहिलोपटक आफू प्रमुख भएपछि निरन्तररूपमा विमानस्थल विस्तारमा लागिरहेको बताइन् । उनले भनिन्, “अब हामी विमानस्थल विस्तारका लागि छलफलमा बस्नुपर्दैन भन्ने मलाई लागेको छ ।” यो विमानस्थल प्रदेशकै महत्त्वपूर्ण विमानस्थल बन्ने उनले बताइन् । आवश्यक सहजीकरणका लागि महानगर जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको भन्दै उहाँले तत्काल विस्तारका लागि आग्रह गरिन् ।
 
सो अवसरमा नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक नवलविक्रम थापाले अहिले भइरहेको धावनमार्गमा ३२२ मिटर विस्तार गरी एक हजार ५०० मिटर पु¥याउन सकेमा ७२ सिट क्षमताको विमान अवतरण हुनसक्ने बताए । राति पनि सञ्चालन गर्नसक्ने गरी विमानस्थल विस्तार गर्नुपर्ने उनको भनाइ छ ।
 
हाल भरतपुर विमानस्थलको धावनमार्ग एक हजार २०० मिटर लम्बाइ र ३० मिटर चौडाइ छ । सन् १९६१ मा यो विमानस्थल स्थापना भएको हो । विमानस्थल ५८ बिघा जमिनमा फैलिएको छ । वरपर घर बनेकाले यो विमानस्थललाई जोखिमका हिसाबले तराईको लुक्का भनेर चिन्ने गरिन्छ ।
 
धावनमार्ग छोटो हुँदा ३७ सिट क्षमताको विमानमा गर्मीको समयमा १६ जना मात्रै यात्रु बोक्ने गरिएको छ । त्यस्तै ४७ सिट क्षमताको विमानले ४२ जना मात्रै बोक्ने गरेको छ । गर्मीमा हावाको घनत्व कम हुँदा धावनमार्ग लामो आवश्यक पर्दछ ।
 
भरतपुर महानगरपालिकाले हालसम्म विमानस्थल विस्तारका लागि गरेका प्रयासका बारेमा महानगरका उपसचिव महेन्द्र पौडेलले जानकारी गराए । महानगरले नेपाली सेनाको गणलाई स्थानान्तरणका लागि नेपाल ट्रष्टको जग्गा र घोडा प्रजनन केन्द्रका लागि भरतपुर–११ मा वैकल्पिक जग्गाको व्यवस्था गरिसकेको छ ।
 
यसैगरी आजै मन्त्री श्रेष्ठको उपस्थितिमा महानगरपालिकामा बसेको बैठकले विमानस्थल विस्तारका लागि प्राविधिक अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक नवीनप्रसाद अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको छ । 
 
समितिको सदस्यमा नेपाली सेनाका सेनानी विभूषा क्षेत्री, शैलजा श्रेष्ठ, भरतपुर महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्य, सूर्य श्रेष्ठ र सदस्य सचिवमा प्राधिकरणका नलविक्रम थापा रहेको समिति गठन गरेको छ । समितिले १५ दिनभित्र प्रतिवेदन दिने निर्णय भएको महानगर प्रमुख दाहालले जानकारी दिइन् ।