दुई साता अघि पारिवारिक भ्याकेसनका लागि नजिकै ओक्लोहामा राज्यको दक्षिण पूर्बमा पर्ने एउटा ताललाई हामीले रोज्यौँ । ब्रोकन बो ताल थियो त्यो । टेक्ससको प्रचण्ड गर्मीलाई छल्दै तालमा डुंगा शयरका लागि हामी त्यहाँ पुगेका थियौ । हुनतः ड्यालसको सेरोफेरोमै दर्जनौ ताल नभएका होइनन् । तर ब्रोकन बो तालनै हामीले रोज्नुको तीनवटा कारण थिए ।
पहिलो, केही घण्टाको दूरी होस् भन्ने हाम्रो चाहना थियो । दोस्रो चाहि अघिपछि भन्दा फरक तरिकाले तीन दिनसम्म जंगलभित्रकै कुनै कटेजमा बसौ भन्ने इच्छा । अन्तिम अर्थात तेस्रो चाहि तालको पानी सफा होस् भन्ने पनि थियो ।
ड्यालसबाट झण्डै तीनघण्टाको यात्रामा ब्रोकन बो ताल पुगिन्छ । ब्रोकन बो को सेरोफेरोमा पुग्दा हामी आश्चर्यमा पर्यौं । किनभने सारा सिटीको अर्थतन्त्र एउटा तालले यति चलायमान अर्थात भाइब्रेट बनाएको रहेछ कि त्यसको ठूलै लेखाजोखा गर्नुपर्ने अवस्था आयो ।
ब्रोकन बो सिटीको प्रवेश गरेपछि झण्डै २० माइलसम्मै भीड थियो । होटल, मोटलहरु टनाटन थिए । जंगलभित्र अदृश्य रुपमा सयौं कटेजहरु थिए । पुरै सुविधासम्पन्न घरको रुपमा रहेका ती कटेजहरुमा तीनदेखि ४/५ बेडरुमहरु थिए । ती सबै पुरै खचाखच थिए । जंगलभित्र रहेका ती कटेजहरु आधुनिक जिपिएसको नेभिगेसन सिस्टमबाट विल्कुल पर थिए ।
बुकिङ्ग गरेको कटेज हामीले धुँइपत्ताल लगाएर बल्लतल्ल खोज्यौ । एप्पल र गुगलको नेभिगेसनमा भर पर्ने हामीलाई दिइएको बाटोको निर्देशन अनुसार कटेज खोज्न हम्मेहम्मे पर्यो ।
‘भेटियो भेटियो । अलि अघि आउनुस्’ हाम्रो ग्रुपका सहायक व्यबस्थापक विशाल शर्माले फोन गरे । फेरि मोबाइल पनि कहाँ गतिलोसम्म लाग्नु ? छिनछिनमा टी मोबाइलको नेटवर्क गायब भइदिने । अमेरिकामा पनि मोबाइलको नेटवर्क नटिप्ने ठाउँ छन् भन्दा बाँकी दुनियाले शायद विश्वास गर्न गाह्रो पर्छ । तर ब्रोकन बो ताल छेउछाउमा स्थानमा मोबाइलको नेटवर्कले काम नगर्ने पीडा भोग्ने हामी पनि थपियौँ ।
‘हामी भोली बिहान ११ बजेभित्र यो कटेजबाट बोटिङ्गका लागि निस्कनुपर्छ । डुंगा पाउन गाह्रो छ जस्तो छ’ बिशालले फेरि हामीलाई सचेत गराए । खान र पिउनमा मस्त हाम्रो टीमलाई बेलाबेलामा बिशालले सचेत गराइरहन्थे ।
कतिपय देशलाई प्रकृतिले दिएको छ । कतिपय देश जनताको मेहनतले बनेको छ । अमेरिकामा धेरै संरचनाहरु मानिसले खडा गरेका छन् । ब्रोकन बो ताल पनि त्यस्तै मानव निर्मित एउटा भयंकर संरचना हो । २२ माइल लम्बाइको यो ताल सन् १९६८ मा निर्माण सुरु भएर दुई वर्षमा पुरा भएको हो । एउटा बाँध बनाएपछि त्यसबाट थुनिएको खोलाले जे जति सतह ढाकेको छ, त्यो तालका रुपमा आज चिनिएको छ । यही बाँधबाट एकसय मेगावाट बिजुली निकालिएको छ ।
बाँध बाँधिएपछि बनेको तालका कारण हजारौंलाई रोजगारी सिर्जना भएको छ । होटल, कटेज खुलेका छन् । तालमा चल्ने डुङ्गाले सयौंलाई काम दिएको छ । शनिबार र आइतबार त डुंगा चढ्नका लागि पालो नआउने संभावना त्यत्तिकै छ । ताल किनारमा मिलिनियरका लागि गल्फकोर्स खुलेको छ ।
ब्रोकन बो तालमा डुङ्गामा यात्रा गर्दै गर्दा मैले एक दशकदेखि चर्चाको शिखरमा रहेको बुढीगण्डकी जलाशययुक्त आयोजनालाई सम्झिए । झण्डै १२ वर्ष अघि काठमाडौंबाट तामझामका साथ तत्कालिन ऊर्जा मन्त्री गोकर्ण विष्ट, मन्त्रालयका सचिव, सहसचिवहरु, विद्युत प्राधिकरणका कार्यकारी निर्देशकहरु सहितको टोली बुढीगण्डकीको प्रस्तावित बाँधस्थलसम्म पुगेका थियो । संयोगवशः त्यतिखेर समाचार संकलनका लागि म पनि सँगै थिए । धादिङको बेनीघाट पारि ध्याल्चोकमा सानो कार्यक्रम पनि भएको थियो । आयोजना भोलीनै सुरु भैहाल्छ कि जस्तो भएको थियो । आयोजना निर्माणको क्रममा बेनीघाटदेखि सल्यानटारसम्म नदीको पानी भरिएर बन्ने तालले अर्थतन्त्रमा ठूलो योगदान पुग्ने हिसाब निकालिएको थियो ।
तर यसबीचमा आयोजनाको काम द्रुतगतिमा बढेको खबर छैन । मुआव्जा वितरणको काम समेत अहिलेसम्म पुरा भएको छैन । एकहजार दुईसय मेगावाटको यो आयोजना पुरा हुने हो भने त्यसले विद्युतमा आत्मनिर्भर मात्र नभएर सबैभन्दा बढी प्रभाव पर्यटनमा पर्ने निश्चित छ । किनकी त्यस क्षेत्रमा होटल, लज, मनोरञ्जनात्मक उद्योगहरु, कृषि लगायतका क्षेत्रहरु फस्टाउने छन् । ब्रोकन बो तालले जसरी आन्तरिक पर्यटक तानेको छ, विजुली उत्पादन गरेर आम्दानी गरेको छ त्यसैगरि बुढीगण्डकीले अझै ठूलो तहमा गर्नसक्ने संभावना छ ।
ब्रोकन बो तालको डुङ्गा शयरमा हाम्रो टीमका सबैभन्दा परिपक्व शैलेसराज आचार्य दाइदेखि लिएर सबैभन्दा सानो उमेरकी सुप्रिया दाहाल (सुपुत्री–बाबुराम दाहाल तथा गोपिनी दाहाल) समेत त्यत्तिकै रमाउने वातावरण बन्यो । झण्डै तीनघण्टासम्म बोटिङमा रहँदा मेरो दिमागमा भने उही बुढीगण्डकीकै याद आइरह्यो । मान्छेले चाह्यो भने गर्न नसक्ने धेरै क्षेत्रहरु छन् । यति समथर भागमा चारहजार फिटको बाँध बनाएको भरमा सारा मानिसलाई तान्न सकेको छ । एकसय मेगावाट बिजुली निस्किएको छ । बस्ती पुनस्र्थापनामा पनि कुनै समस्या आएन । पर्यावरणका कुरा पनि उठेनन् । बरु जंगल जोगिएको छ ।
ब्रोकन बो घुमिरहँदा मेरो स्मृतिमा भने जलाशययुक्त बुढीगण्डकी र पश्चिमसेतीका कुराहरु खेलि नै रहे । जो वर्षौदेखि नेपालीका लागि ललीपप मात्र बनिरहेको छ ।
के गगन थापा आउने चुनावमा प्रधानमन्त्रीका लागि योग्य उम्मेदवार हुन् ? अहिलेकै अवस्थामा भन्नुपर्दा-होइनन् । गगनले राजनीतिक उचाई त बढाएका छन् । तर, जनताले चाहेको जस्तो प्रधानमन्त्री हुन सक्छन् भन्ने क्षम ...
‘परिवर्तन’ पछिको नेपाल प्रगतितिरभन्दा अधोगति र आजकालको भाषामा ‘श्रीलंकाको गति’मा झरिरहेको जगजाहेर भईसकेको छ । यो यथार्थ अमेरिकामा कार्यरत र बसोबास गरेका नेपालीहरूबाट पनि व्यक्त भएको सुन्नुपर्दैछ । विग ...
पत्रकारिता पेसाबाट विश्राम लिएर राजनीति गर्ने घोषणा गरेका रवि लामिछानेले नयाँ दल दर्ता गर्ने प्रक्रिया सुरुमात्र गरेनन्, काठमाडौँको राष्ट्रिय सभागृहमा घोषणा सभा राखेर उनले आफूले खोल्ने दलको नाम राष्ट् ...
अमेरिकाको दक्षिणी राज्य टेक्ससमा रहेको युभाल्डेमा रहेको रब इलिमेण्ट्री स्कूलको बालबालिकाहरुको चित्कार अझै अमेरिका भर गुन्जिरहेको छ। त्यो दर्दनाक र ह्रदय विदारक नरसंहार पीडाजनक मात्र भएको छैन, त्यसले म ...
प्रतिक्रिया