मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

खेल क्षेत्रलाई राज्यले विशेष ध्यान दिन आवश्यक छ : राष्ट्रपति भण्डारी

खेल क्षेत्रलाई राज्यले विशेष ध्यान दिन आवश्यक छ : राष्ट्रपति भण्डारी


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकुदले शारीरिक, मानसिक विकासमात्र नभई देश विकासमा टेवा पुग्ने भएकाले यस क्षेत्रलाई राज्यले विशेष ध्यान दिनुपर्ने बताएकी छन् ।  
 
रोयल नेपाल गल्फमा शनिबार आयोजित खुला महिला गल्फ प्रतियोगिताको विजेता खेलाडीहरूलाई पुरस्कार प्रदान गर्दै राष्ट्रपति भण्डारीले भनिन्, “हाम्रो देशको भौगोलिक बनोट अनुकूल मौसम भएकाले गल्फ खेलको विकासको ठूलो सम्भावना छ, त्यसैले यस खेलको प्रवर्द्धनबाट अन्तर्राष्ट्रिय खेलाडीलाई आर्कषक गरी खेल पर्यटनको विकास गर्न सहज हुनेछ ।” उनले खेलकुदको विकासका लागि सरकारी तथा निजी क्षेत्रसम्बद्ध सबैले खेलक्षेत्रमा लगानी गर्न पर्याप्त ध्यान दिनुपर्नेमा जोड दिइन् ।  
 
आज सम्पन्न एकदिने प्रतियोगितामा सुष्मा सिग्देलले महिला खुला गल्फ प्रतियोगिताको उपाधि जितिन् । उपाधिसहित उनले एक थान स्कुटर, रु ५० हजार र विभिन्न गिफ्टहृयाम्पर प्राप्त गरिन् । सोही विधाको उपविजेता भने कस्मिरा शाह भइन् । उनले रु ३० हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन् । प्रतियोगितामा सिनियरतर्फको उपाधि रेखा घिमिरेले जितिन् भने उपविजेता कल्याणी मोक्तान भइन् । सोही स्पर्धाको विजेताले रु ५० हजार पाए भने उपविजेताले रु ३० हजार प्राप्त गरे ।  
 
महिलाको जुनियरतर्फ आइस्टिना तण्डन विजेता र सोनी तामाङ उपविजेता भइन् । सो स्पर्धामा पहिलो हुनेले रु ३० हजार र दोस्रो हुनेले रु २० हजार प्राप्त गरे । त्यस्तै कस्मीरा शाहले महिला बुस्ट ब्राइडस विधाको उपाधि जितिन् भने महिला लङ्गेष्ट ड्राइभको उपाधि प्रतिभा राईले उचालिन् । 
 
एमेच्योर गल्फर प्रतिमा शेर्पा, आश्रिया बानु र सरिताश्री ज्ञवालीद्वारा आयोजित उक्त प्रतियोगितामा ३४ जना खेलाडीले भाग लिएका थिए । नेपालकी नम्बर एक नेपाली महिला गल्फर प्रतिमा शेर्पाले यस किसिमको प्रतियोगिताले नेपाली महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गल्फ प्रतियोगितामा सहभागी गराउन सजिलो होस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको बताइन् । रासस