मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

बजारमा दरिलो उपस्थिति प्रदर्शन गर्न निगम सक्रिय : महाप्रबन्धक ज्वारचन

बजारमा दरिलो उपस्थिति प्रदर्शन गर्न निगम सक्रिय : महाप्रबन्धक ज्वारचन


काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले प्रतिस्पर्धी हवाई बजारमा दरिलो उपस्थिति प्रदर्शन गर्न सक्रिय ढङ्गले लागिपरेको जनाएको छ ।
 
निगमका महाप्रबन्धक वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनले आर्थिक सुशासन र बजारमा आफ्नो दरिलो उपस्थिति प्रदर्शन गर्न निगम सक्रिय रहने उल्लेख गरे । निगम स्थापनाको ६४औँ वार्षिकोत्सवका अवसरमा आज नयाँ सडकस्थित निगमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले निगमका अगाडि प्रशस्त चुनौती रहे तापनि सामूहिक प्रयासका माध्यमले सफलतातिर लैजान सकिने विश्वास व्यक्त गरे ।  
 
“संस्थामा आन्तरिक सुधार गर्दै अन्तर्राष्ट्रिय जगत्मा प्रतिष्ठा बढाउनेतर्फ निगमको प्रयास रहनेछ तर त्यसमा एक्लो व्यक्तिको प्रयासमात्र पर्याप्त नहुने भएकाले निगमका समस्त कर्मचारीको सहयोगको अपेक्षा गरेको छु । निगमको बजार हिस्सा बढाउन प्रयास गरौँ”, महाप्रबन्धक ज्वारचनले भने ।
 
उनले नयाँ काम थाल्नेतिरभन्दा पहिलो चरणमा पुराना योजना पूरा गर्नेतिर निगमले प्रयास थालेको बताउनुभयो । भविष्यमा निगमका हितमा हुने कार्यनीति र कार्यक्रम थालिने उनको भनाइ छ । महाप्रबन्धक ज्वारचनले निगममा आर्थिक सुशासन र बजारमा आफ्नो दरिलो उपस्थिति प्रदर्शन गर्न निगम सक्रिय रहने उल्लेख गरे ।
 
कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको अन्तर कर्पोरेट फुटसल प्रतियोगितामा प्रथम भएका निगमका खेलाडीलाई महाप्रबन्धक ज्वारचनले सम्मानपत्र प्रदान गरेका थिए । 
 
निगमको नयाँ वेबसाइट सुरु
 
वायुसेवा निगमले वार्षिकोत्सवका उपलक्षमा नयाँ वेबसाइट सुरु गरेको छ । सूचना सञ्चार तथा प्रविधिमा संसारले मारेको फड्को मारेको सन्दर्भमा निगमलाई आधुनिक प्रविधियुक्त बनाउन भन्दै निगमले वेबसाइट प्रारम्भ गरेको हो । 
 
उक्त वेबसाइटको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शुभारम्भ गरे । बेवसाइटमार्फत निगमको अनलाइन टिकट बुकिङ गर्न सजिलो हुनेछ । अनलाइन बुकिङको प्लेटफर्म मैत्री सिष्टमले एक महिनाभित्र नै यात्रुले घरमै बसी टिकट काट्ने सुविधा प्राप्त गर्ने निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
 
निगमको नयाँ वेबसाइटमा च्याटबक्सको पनि सुविधा छ जसले गर्दा यात्रुको आफ्नो जिज्ञासा, गुनासोको पृष्ठपोषण हुनेछ । वेबसाइटमा रहेको उडान तालिकाबाट यात्रु तथा सरोकारवालाले विविध उडान सूचना, गन्तव्य तथा अन्य जानकारी प्राप्त गर्न सक्नेछन् । साथै आगामी दिनमा निगमले अन्तर्राष्ट्रिय उडानको बुकिङसहितको मोबाइल एप लोयल्टी म्यानेजमेन्ट सिस्टमको सुविधा पनि थप गर्ने भएको छ । यो वेबसाइटमार्फत निगमको फेसबुक, ट्वीटर, युटुयुब र इन्स्टाग्राममा जोडिन सक्ने सुविधा रहेको छ ।
 
वार्षिकोत्सव समारोह समितिका संयोजक एवं वाणिज्य विभागका निर्देशक जनकराज कालाखेतीले संस्था विभिन्न आरोहअवरोह पार गर्दै यो अवस्थामा आइपुगेको छ भन्दै भविष्यका लागि प्रशासनिक सुधार, प्रविधिमैत्री, सेवामा सबलीकरण र विमान थप्ने सोचका साथ अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे । 
 
उक्त अवसरमा निगमको प्रतीकका रूपमा मानिँदै आएको आकाश भैरवको पूजा पनि गरिएको थियो । वार्षिकोत्सवका उपलक्ष्यमा असार १६ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त अवसरमा १५४ जनाले रक्तदान गरेको निगमले जनाएको छ । रासस