मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

४० वर्षदेखि पब्लिक क्याम्पसले भोगचलन गरेको जग्गा भूमाफियाको कब्जामा

४० वर्षदेखि पब्लिक क्याम्पसले भोगचलन गरेको जग्गा भूमाफियाको कब्जामा


चितवन । पूर्वी चितवनको सबैभन्दा जेठो शैक्षिक धरोहर रत्ननगर–३ स्थित (कमर्श क्याम्पस) शहीद स्मृति बहुमुखी क्याम्पसले ४० वर्षअघिदेखि भोगचलन गर्दै आएको जग्गा भूमाफियाको कब्जामा परेको छ । जग्गादाता दुर्गादेवी श्रेष्ठले सो क्याम्पसलाई दानस्वरुप दिएको तर मोही भएकाले तत्काल नामसारी हुन नसकेको ३ कठ्ठा १५ धुर जग्गा भूमाफियाले कब्जा गरेका हुन् । 
 
विसं २०३७ सालमा क्याम्पसले जग्गादाता श्रेष्ठसँग चार बिघा जग्गा रजिस्ट्रेसन पारित गरी लिएको थियो । सोही चार बिघा क्षेत्रफलसँगै जोडिएको पश्चिमतर्फको कित्ता नं ३६९ को जग्गामा मोही छुटाएपछि दानस्वरुप क्याम्पसको नाममा नामसारी गरिदिने श्रेष्ठले वचनसेत दिएकी थिइन् । तर, मोही भएका कारण सो जग्गा तत्कालीन समयमा नामसारी गर्न नमिलेपछि श्रेष्ठले क्याम्पसलाई दानस्वरुप दिने प्रतिबद्धता जनाएको पूर्वक्याम्पस प्रमुख रामबाबु घिमिरेले बताए । 
 
जग्गादाता श्रेष्ठले दानरुवरुप क्याम्पसलाई जग्गा दिने प्रतिबद्धता जनाएपछि क्याम्पसले तारबार गरी सो जग्गा प्रयोग गर्दै आएको उनले बताए । क्याम्पसले तारबार गरेर संरक्षण तथा प्रयोग गर्दै आएको जग्गा विसं २०७३ सालमा क्याम्पसलाई जानकारी नै नदिई एक्कासि किनबेच भएको थियोे । 
 
क्याम्पस हाताभित्र रहेकोे तीन कठ्ठा १५ धुर जग्गा अर्पना नेपाल र सुमित्रा खनालको नाममा नामसारी भएको छ । संधियारको हैसियतले खरिद गर्न पाउने अधिकारसमेत विपक्षले हनन गरेकाले क्याम्पस अन्यायमा परेपछि क्याम्पस सञ्चालक समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी आमजनसमुदायलाई सोबारे जानकारी दिएको हो । 
 
शहीद स्मृति बहुमुखी क्याम्पस आमजनताबाट स्थापित र सञ्चालित गैरनाफामूलक संस्था हो । जनताको आशाको धरोहर र १८ सय विद्यार्थीले अध्ययन गर्ने सो क्याम्पस सबैको साझा सम्पत्ति पनि हो । तर, ४० वर्षअघिदेखि भोगचलन गर्दै आएको क्याम्पस हाताभित्रको जग्गा भूमाफियाले चलखेल गरी कब्जा गरेपछि क्याम्पसले यसबारे सत्य-तथ्य बाहिर ल्याएको हो । 
 
सोही जग्गाकै कारण क्याम्पसको पश्चिमतर्फको सडकको नाम क्याम्पस मार्ग, सडक कालोपत्रे गर्दा उपभोक्ताको तर्फबाट तिर्नुपर्ने रकम ६० हजार रुपैयाँसमेत क्याम्पसले तिरेको र ४० वर्षदेखि भोगचलन गर्दै आएको जग्गा भोगचलन गर्नेकै अधिकार हुने व्यवस्थालाई आधार मानेर जग्गा फिर्ता हुनुपर्ने माग क्याम्पसको छ । 
 
अर्पना नेपालले जग्गाको लालपूर्जा आफूसँग रहेको भन्दै जिल्ला अदालतमा निषेधाज्ञा जारी गरी पाऊँ भनी उजुरी दिएकी थिइन् । जिल्ला अदालतले वैशाख ६ गते नेपाल र खनालकै पक्षमा फैसला गरेपछि क्याम्पस प्रशासन न्याय खोज्दै मिडियामा आएको हो । 
 
जिल्ला अदालतले निषेधाज्ञालाई निरन्तरता दिँदै चित्त नबुझेमा उच्च अदालतमा पुनरावेदन गर्नू भनी फैसला गरेको थियो । त्यसलगत्तै क्याम्पस सञ्चालक समिति उच्च अदालतसम्म पुग्यो । सो मुद्दा अहिले पुनरावेदन अदालत, हेटौँडामा विचाराधीन अवस्थामा रहेको छ । 
 
जिल्ला अदालतको फैसलापछि नेपाल र खनाल पक्षले गत वैशाख १० गते क्याम्पसले लगाएको तारबार ४०/५० जनाको समूह साथमा ल्याई भत्काएर जग्गा कब्जा गर्ने प्रयास गरेपछि इलाका प्रहरी कार्यालय रत्ननगरमा सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि अनुरोधपश्चात प्रहरी आएपछि तारबार काट्न आएको समूह तितरबितर भएको सञ्चालक समितिका अध्यक्ष घिमिरेले बताए ।  
 
जग्गा विवादमा तानिएपछि जेठ १६ गते सम्पन्न क्याम्पस सभाले क्याम्पसका पूर्वअध्यक्ष तथा पूर्वराज्यमन्त्री शेषनाथ अधिकारी संयोजक रहेको जंग्गा संरक्षण तथा विवाद समाधान समिति गठन गरेको थियो । कानुनी प्रक्रियामै टेकेर जग्गा क्याम्पसको पक्षमा ल्याइने संयोजक अधिकारीले बताए ।
 
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ईश्वरीप्रसाद अर्यालले ४० बर्षदेखि क्याम्पसले भोगचलन गर्दै आएको जग्गा भूमाफियाको कब्जामा परेको बताए । ‘यो हामी सबेको साझा सम्पत्ति हो’, उनले भने, ‘यो जग्गा कुनै पनि हालतमा क्याम्पसलाई नै फिर्ता हुनुपर्छ ।’ ३ कठ्ठा १५ धुरमध्ये नेपालको नाममा ३७ धुर र खनालको नाममा ३८ धुर रजिस्ट्रेसन पास भएको छ । 
 
क्याम्पस प्रमुख डा.धर्मदत्त तिवारीले सो जग्गाका विषयमा क्याम्पसले हकदाबी गर्ने पर्याप्त प्रमाण रहेको बताए । 
उक्त कित्ताको जग्गा क्याम्पसले दानस्वरुप प्राप्त गर्न नसक्ने अवस्था आए पनि उक्त कित्ताको पूर्व, पश्चिम र दक्षिण तीनैतर्फ क्याम्पसको जग्गा र पश्चिम बाटो भएकाले सधियारका हैसियतले प्रचलन र कानुनी आधारमा जग्गादातासँग क्याम्पसले खरिद गर्न पाउने हकसमेत वञ्चित गरिएको क्याम्पस प्रमुख तिवारीले बताए । 
 
चार दशकसम्म भोगचलन गर्दै आएको जग्गा खरिद गरेका विपक्षीले पाँच वर्षसम्म गुपचुप राख्नुले पनि नियत सफा नरहेको क्याम्पसले ठहर गरेको छ । जग्गा संरक्षण र विवाद समाधान समितिको बैठकले क्याम्पसको सुरक्षाका लागि असार ५ गते आइतबार तारबार यथास्थितिमा ल्याउने निर्णय गरेको छ ।