मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

आइसिसी विश्वकप लिग–२ : नेपाल अमेरिकासँग ३९ रनले पराजित

आइसिसी विश्वकप लिग–२ : नेपाल अमेरिकासँग ३९ रनले पराजित


ह्युस्टन, अमेरिका । आइसिसी विश्वकप लिग–२ मा नेपाल घरेलु टोली अमेरिकासँग पराजित भएको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिकाले दिएको २४६ रनको लक्ष्य भेट्टाउन सकेन। अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा बिहीबारसम्पन्न खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हो । 
 
अमेरिकाले नेपालसामु जितका लागि २४६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । पाँच विकेट गएको बेला आरिफ सेख र सोमपाल कामीले नेपालको इनिङ सम्हालेर २०० रन माथि स्कोर पुऱ्याएका थिए। छैटौं विकेटका लागि शेख र कामीबीच १०६ रनको साझेदारी भएको थियोतर त्यसपछि लगातार पाँच विकेट खेर फालेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएर २०६ रन मात्र बनाउन सक्यो। अमेरिकासंग पहिलो खेल टाई गरेको नेपालले दोश्रो खेल ३९ रनले गुमायो।
 
सोमपाल कामीले ७२ बलमा एक चौकाको मद्दतमा ४७ रन बनाए ।  ओपनर कुशल भुर्तेलले १०, आसिफ शेखले १८, देव खनालले ३४ र रोहितकुमार पौडेलले १६ रन बनाए । 
 
बलिङतर्फ अमेरिकाका सौरभ नेत्रवालकर र अली खानले तीन/तीन तथा नोथुश केंजिगे र निसर्ग पटेलले एक एक विकेट लिए । 
यसअघि अमेरिकाले निर्धारित ५० ओभरको खेलमा सात विकेट गुमाउँदै २४५ रन बनाएको थियो । अमेरिकाका लागि गजानन्द सिंहले ६० बलमा ५ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५८ रन बनाए । यस्तै सुशान्त मोदानीले ८३ बलमा सात चौकासहित ५४, आरोन जोन्सले ४३, साइतेजा मुक्कामल्लाले ३६, निसर्ग पटेलले अविजित १८ र क्यामरन स्टिभन्सले अविजित १६ रन बनाए । 
 
बलिङतर्फ नेपालका लागि करन केसीले तीन, कप्तान सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह एैरीले एक एक विकेट लिए । 
अमेरिका भ्रमणमा रहेको नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो भने तेस्रो खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको थियो । 

नेपालको समर्थनमा जम्मा भएका सयौं दर्शकहरु नेपाली खेलाडीहरुलाई नेपाली झण्डा फहराउँदै उक्साइरहेका देखिन्थे। नेपालले खेलेको सबै खेल नेपाली टिमको जर्सी, नेपाली झण्डा र ढाका टोपीमा सजिएर हेरेका ह्युस्टनका लक्ष्मण भण्डारी दर्शक दिर्घामा निकै चर्चित भए। कमेन्ट्री बक्सबाट समेत उनको टोपी र नेपाली झण्डाको निकै तारिफ भएको सुनिन्थ्यो।

अमेरिकामा खेलेको चार खेलबाट तीन अंक जोडेको नेपालले १६ खेलबाट १५ अंक जोडेर सात देश समावेश समुहको अंक तालिकामा पाँचौं स्थान बनाएको छ। नेपालले अझै लिग अन्तर्गत २० खेल खेल्न बाँकी छ। लिगमा ३६ खेलबाट ४४ अंक जोडेको ओमान सात देश अंक तालिकाको शीर्ष स्थानमा छ।