मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

ह्युस्टनमा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुको स्वागत (भिडियो सहित)

ह्युस्टनमा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुको स्वागत (भिडियो सहित)


ह्युस्टन, अमेरिका । विश्व कप क्रिकेट लिग २ अन्तर्गत अमेरिका र ओमानसंग त्रिकोणात्मक एक दिवसीय क्रिकेट खेलका लागि हाल अमेरिकाको ह्युस्टनमा रहेका नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुको भव्य स्वागत तथा अभिनन्दन भएको छ।
 
ह्युस्टनका नेपाली संस्थाहरु नेप्लिज एसोसिएसन अफ ह्युस्टन (एनएएच), क्रियटिभ नेप्लिज सोसाइटी (सिएनएस), नेप्लिज हेरिटेज युनियन (एनएचयू), गुल्मी समाज, अन्तर्राष्ट्रिय साहित्य समाज, ह्युस्टन च्याप्टर र गैरआवासीय नेपाली संघ, अमेरिकाको टेक्सस च्याप्टरले स्वागत कार्यक्रम संयुक्तरुपमा आयोजना गरेका हुन् । 
 
शनिबार नै पेयरल्याण्डस्थित मोसा क्रिकेट स्टेडियममा भएको निकै रोमान्चक एकदिवसीय क्रिकेट म्याच नेपाली राष्ट्रिय टोलीले अमेरिकासँग बराबरी खेल्यो। नेपालको हातबाट फुत्किसकेको खेललाई अन्तिम ओभरमा आदिल आलम अन्सारीले गरेको उत्कृष्ट बलिङ प्रदर्शनका कारण टाई हुन सकेको थियो । 
 
स्वागत समारोहमा कप्तान सन्दीप लामिछानेसहित अन्य खेलाडीहरुमा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल आलम अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो, सागर ढकाल र सुवास खकुरेलको उपस्थिति थियो। साथै मुख्य प्रशिक्षक पुवुदु देशानायके र टिम मेनेजरहरुको समेत विशेष उपस्थिति थियो।
स्वागत समारोहमा आयोजकहरुका तर्फबाट एनएएचका अध्यक्ष डा. विष्णु नेपालले खेलाडी तथा प्रशिक्षकहरुलाई स्वागतका साथै एवं मायाको चिनो प्रदान गरेका थिए। एनएएचका वरिष्ठ उपाध्यक्ष रवीन श्रेष्ठद्वारा सञ्चालित स्वागत कार्यक्रममा मुख्य प्रशिक्षक देशानायके, कप्तान लामिछानेले र क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का अध्यक्षले खेल मैदानमा उपस्थित भएर खेलाडीको हौसला बढाएकोमा ह्युस्टनका नेपाली दर्शकहरुप्रति धन्यवाद र आभार प्रकट गरेका थिए। 
 
ह्युस्टनमा अभ्यास खेल खेल्दा देखि नै नेपाली संघसंस्था एवं नेपाली समुदायबाट पाएको माया, आतिथ्यता र सद्भाव कहिल्यै भुल्न नसकिने खालको भएको कप्तान लामिछानेले बताए । 
स्वागत समारोहमा ह्युस्टन, डालास, अस्टिन, स्यानआन्टानियो लगायतका स्थानहरुबाट समेत नेपाली समुदायका अगुवारप्रतिनिधिहरुको सहभागिता रहेको थियो।
 
कार्यक्रममा एनआरएनए, अमेरिकाका उपाध्याक्ष सुमन थापा, टेक्सस च्याप्टरका अध्यक्ष सोफिन थापा, उपाध्यक्ष गंगा शर्मा, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, यूएसए क्रिकेटका डिरेक्टर शुशील नडकर्णी, एनएएचका अध्यक्ष डा. विष्णु नेपाल, एनएचयुका अध्यक्ष कर्ण बोगटी, गुल्मी समाजका अध्यक्ष लक्ष्मण भण्डारी, आइएनएलएस ह्युस्टनका अध्यक्ष बासु पौडेल, नेपाल सरकार पर्यटन बोर्डका अवैतनिकदूत जगदिश काफ्ले लगायतका नेपाली समुदायका महत्त्वपूर्ण व्यक्तिहरुको उपस्थिति रहेको थियो ।