मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाद्वारा मोक्तान दम्पतीलाई सम्मान

अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाद्वारा मोक्तान दम्पतीलाई सम्मान


मेरिका । कलाकारहरूको अन्तर्राष्ट्रिय सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाले वरिष्ठ गायिका कुन्ती मोक्तान र वरिष्ठ सङ्गीतकार एवम् गीतकार शिलाबहादुर मोक्तानलाई अमेरिकामा आयोजित एक विशेष कार्यक्रममा अभिनन्दन गरेको छ । अमेरिकाको भर्जिनिया मनाससमा आयोजित वरिष्ठ गायिका कुन्ती मोक्तान र वरिष्ठ सङ्गीतकार एवम् गीतकार शिलाबहादुर मोक्तान सुमधुर साँझका अवसरमा उनीहरूलाई अभिनन्दन गरिएको हो । 
 
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष एवम् वरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनालले उनीहरूलाई अभिनन्दन गर्दै अभिनन्दन पत्र, मञ्चको अति सम्मानित मानार्थ सदस्यता र विशेष पदक पनि प्रदान गरेका थिए भने मञ्चकै बोर्ड अफ डाइरेक्टरहरू वरिष्ठ चलचित्र नायिका पूजा लामा, वरिष्ठ कोरियो ग्राफर, निर्देशक द्वय नवीन केसी र लुना श्रेष्ठले मञ्चका तर्फबाट मोक्तान दम्पतीलाई खादा र मालाले सम्मान गरेका थिए । 
 
यसै गरी कार्यक्रममा मेरिल्यान्ड राज्यका डेलिगेट्स ह्यारी भण्डारीले पनि मोक्तान दम्पतीलाई आफ्नो पदीय हैसियतबाट सम्मानपत्र प्रदान गरे । सो अवसरमा मोक्तान दम्पतीले भण्डारी र प्रायोजकहरूलाई पनि मायाको चिनो प्रदान गरे । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै डेलिगेट्स भण्डारीले गीत सङ्गीत क्षेत्रका दुई महान् हस्तीहरूलाई आफूहरूले सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।   
 
प्रतिभाशाली जोडी द्वय आरजे सरोज केसी र रुसा केसीको मिठो उदघोसणमा सञ्चालित कार्यक्रममा वरिष्ठ सङ्गीतकार एवम् गीतकार शिलाबहादुर मोक्तानका दुई गीतहरू प्रस्तुत गरिएपछि वरिष्ठ गायिका कुन्ती मोक्तानका लोकप्रिय सबैखाले गीतहरू प्रस्तुत गर्दा माहौल निकै रमाइलो बनेको थियो । गीत गाउँदै जाँदा वरिष्ठ गायिका मोक्तानले दर्शक श्रोताहरूसँग आफूले असाध्यै मन परेको र मन छोएको कविता पढ्छु भन्दै अनुमति मागेर रामप्रसाद खनालको कवितासङ्ग्रह देश हराएको मान्छेबाट अमेरिकामा शीर्षकको कविता वाचन पनि गरे । 
 
कार्यक्रममा स्थानीय केही प्रतिभाहरूका गीत र नाच पनि समावेश थिए । रुसा केसीको नाचको तारिफ गर्दै थिए कलाकार र दर्शकहरू ।  सरोजको उद्घोषण र उखान टुक्का शैली उत्तिकै स्मरण योग्य थियो ।   
 
वरिष्ठ गायिका कुन्ती मोक्तान र वरिष्ठ सङ्गीतकार एवम् गीतकार शिला बहादुर मोक्तान दुवैले अमेरिकामा आफूहरू सम्मानित अभिनन्दित हुने अवसर पाएकोमा गौरवान्वित भएको बताउँदै डेलिगेट्स भण्डारी, अध्यक्ष खनालसहित अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाप्रति, कार्यक्रम कोअर्डिनेशनकर्ता सरोज र रुसाप्रति आभार प्रकट गरे । अमेरिकामा दर्शक श्रोताहरूबाट आफूहरूले पाएको माया र सम्मान कहिल्यै नबिर्सिने उनीहरूले बताए ।  
 
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले चार दशकभन्दा लामो गीतसंगीतको इतिहास बोकेका यस्ता महान् कलाकारहरुलाई अभिनन्दन गर्दा मञ्च र आफू अत्यन्त हर्षित भएको बताए । २६ र २७ वर्षअघि आफूले गाएका, रेडियो नेपालबाट प्रसारित र म्युजिक नेपालबाट प्रकाशित आफ्ना गीतहरुमा संगीत संयोजन शिलाबहादुर मोक्तानलाई आफूले कहिलै बिर्सिन नसक्ने बताए ।