मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

स्रष्टा काफ्लेको पहिलो कृति ‘चाँदनी’ विमोचित

स्रष्टा काफ्लेको पहिलो कृति ‘चाँदनी’ विमोचित


ड्यालस (टेक्सस) । कवि तथा गीतकार राधाकृष्ण काफ्लेको पुस्तकाकार पहिलो कृति ‘चाँदनी’ आइतबार अमेरिकाको ड्यालसमा विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको छ । 
 
मुक्तकसंग्रहका रुपमा रहेको चाँदनीमा काफ्लेका समसामयिक र प्रेमरसयुक्त चोटिला मुक्तकहरु समेटिएका छन् । लामो समयसम्म रेडियो नेपालको प्रशासनिक पदहरुमा रहेर कार्यसम्पादन गरेका काफ्लेले विगत केही समयदेखि ड्यालसलाई कर्मथलो बनाएका छन् । 
 
कवि काफ्लेले यसअघि मुक्तक, कविता, गीत, गजलहरु लेख्दै आएका छन् । उनका रचनाहरु प्रेमरसले भरिएका, समसामयिक र चोटिला हुन्छन् । 
 
अन्तर्राष्ट्रिय साहित्य समाज ड्यालस च्याप्टरले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले काफ्लेद्वारा लिखित चाँदनीको समीक्षा गर्नुका साथै भाषा साहित्यमा गरेको योगदानका बारेमा चर्चा गरेका थिए । 
 
समाजकी अध्यक्ष निर्मला राईको सभापतित्वमा भएको कार्यक्रममा कवि, लेखक बैकुण्ठराज आचार्य, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, लेखिका डा. शिलु न्यौपाने, कवि भीम कार्की, शशि भट्टराई, लायन्सका पूर्वअध्यक्ष थलराज पन्त, गजलकार पवन लामिछाने, कवियत्री भगवती पौडेल, श्रष्टा साँझका अध्यक्ष प्रभात दीक्षित, साहित्यकार बासु शर्मा, ग्लाेबल भुटनिज लिटरेचर एसाेसिएसनका डेम्जोङ साम्पाङ्ग, कवि गीतकार शैलेशराज आचार्यलगायतले काप्लेका मुक्तकसंग्रहका बारेमा चर्चा गरेका थिए । 
 
कवि सुमन काजीद्वारा सञ्चालित कार्यक्रममा स्थानीय साहित्यकारहरुले संयुक्तरुपमा पुस्तकको विमोचन गरेका थिए ।