मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

केआरएसएमा नयाँ नेतृत्व (भिडियो सहित)

केआरएसएमा नयाँ नेतृत्व (भिडियो सहित)


ड्यालस(टेक्सस)। किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) को ड्यालसमा शनिबार भएको महासभाले नयाँ नेतृत्व चयन गरेको छ । महासभाले न्यूयोर्क निवासी खगेन्द्र राईलाई सर्वसम्मतरुपमा केन्द्रीय अध्यक्ष चुनेको छ ।
 
वरिष्ठ उपाध्यक्षमा न्यूयोर्ककै भारती राई, उपाध्यक्षमा डालस निवासी दिलीप राई, महासचिवमा कोलोराडो निवासी दिवस राई, सचिवमा न्यूयोर्क निवासी सुमन नाछिरिङ कोषाध्यक्षमा न्यूयोर्ककै सन्देश राई, सहकोषाध्यक्षमा डालसकी रुपा राई, सदस्यमा न्यूयोर्ककी वाकासा वान्तवा, शुभाशचन्द्र राई र डालसका माकुहाङ राई चयन भएका छन् । कुल ११ सदस्यीय कार्यसमितिमा निवर्तमान अध्यक्ष मार्गदर्शककका रुपमा कार्यसमितिमा रहने व्यवस्था छ । निवर्तमान अध्यक्ष न्यूयोर्क निवासी रामकुमार राई हुन् ।  
महासभामा निर्वमान महासचिव मार्कस राईको सांगठनिक प्रतिवेन र निवर्तमान कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको थियो । पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरेको थियो । निवर्तमान अध्यक्ष रामकुमार राईले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । 
 
नयाँ कार्यसमितिलाई निर्वाचन आयोगका प्रमुख आयुक्त प्रमोद थुलुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । नयाँ नेतृत्व चयन गर्न गठन गरिएको निर्वाचन आयोगको आयुक्तमा पदम सिङ राई, र प्रशान यलुङ राईलाई नियुक्त गरिएको थियो ।
 
महासभालाई केआरएसएका सल्लाहकार मणि बाङ्देल, प्रमोद थुलुङ, केआरएसए न्यूयोर्क च्याप्टर अध्यक्ष वाकासा वान्तावा र टेक्सास च्याप्टर अध्यक्ष दिलीप राईले सम्बोधन गरेका थिए । काम गर्न र एक अर्कालाई बुझ्न सजिलो होस भनेर च्याप्टर कार्यसमितिका पदाधिकारी र सदस्यलाई केन्द्रीय कार्य समितिमा स्थान दिने व्यवस्था केआरएसएको विधानमा गरिएको छ । 
 
नयाँ कार्यसमितिले बियर क्रिक पार्कमा आयोजना गरिएको साकेला उभौलीमा केआरएसएका अगुवा नेतृत्वहरुलाई सम्मान गरेको छ । महासभा र साकेला उभौलीमा सहभागी हुन ओहायो निवासी केआरएसएका पूर्वअध्यक्ष चन्द्रकुमार राई पनि डालस पुगेका थिए । 
 
ड्यालसमा साकेला
महासभाले नयाँ नेतृत्व चयन गरेको भोलिपल्ट डालसको बियर्स क्रिक पार्कमा साकेला उभौली कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा केआरएसएका नव निर्वाचित केन्द्रीय उपाध्यक्ष तथा टेक्सास च्याप्टर अध्यक्ष दिलीप राईले सम्पूर्ण किरात राई समुदाय तथा नेपाली समुदायलाई शुभकामना दिए । 
 
कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष विकासराज न्यौपाने, तामाङ सोसाइटी टेक्सासका अध्यक्ष सूर्यकुमार तामाङ र किरात याक्थुङ चुम्लुङ टेक्सास भुपेन्द्र लिम्बूले साकेला उभौलाका अवसरमा शुभकामना मन्तव्य दिएका थिए ।
साकेला किरात राई समुदायको सबैभन्दा ठूलो चाड हो । यो चाड उभौली र उँधौली गरी वर्षमा दुई पटक मनाइन्छ । जाडो मौसम सुरु हुने बेला बाली भित्र्याउने र जोडो छल्न लेकबाट बेंसी झर्ने बेला मनाइने चाड साकेला उँधौली हो । गर्मी सुरु भएसँगै बेंसीबाट लेक चढ्दा मनाइने साकेला उभौली हो ।
 
साकेला नाचले किरात राई समुदायको उत्पति, मिथक र परम्परासम्बन्धी कथा भन्छ । यो नाच प्रकृतिसँग जोडिएको छ । किरात राई समुदायहरु प्रकृति पूजक हुन् ।
 
केआरएसएले आफ्नो भाषा, संस्कार, संस्कृति प्रवर्द्धन गर्ने उदेश्यले अमेरिकाका विभिन्न राज्यमा साकेला जस्ता सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ ।