मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

भरतपुर महानगरको मेयरमा माओवादीकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी

भरतपुर महानगरको मेयरमा माओवादीकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी


चितवन । भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नतिजा पाँच दलीय गठबन्धनको पक्षमा आउने निश्चित भएको छ । तीन वडाको कुल मतभन्दा मतान्तर बढी भएकाले गठबन्धनका मेयर र उपमेयर विजयी भएका हुन् ।
 
भरतपुर महानगरको वडा नं २७, २८ र २९ को कुल १० हजार ३२४ मत गणना गर्न बाँकी रहँदै गर्दा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल दोस्रो पटक भरतपुर महानगरपालिकाको मेयरमा विजयी भएकी छन् । यस्तै, उपमेयरमा चित्रसेन अधिकारी भारी मतका साथ विजयी भएका छन् ।   
 
सोमबार राति १०ः४५ बजेसम्मको मतपरिणामअनुसार मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ११ हजार ४५७ मतअन्तरले अग्रता लिइरहेकी छन् भने उपमेयरमा पनि नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २० हजार ३६ मतअन्तरले अग्रता लिएका छन् । 
 
भरतपुर महानगरमा कुल एक लाख २७ हजार ८३९ मत खसेकामा एक लाख १६ हजार ६६६ मतगणना भइसकेको छ, जसमा रेनु दाहालले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका विजय सुवेदीले जम्मा ३५ हजार ५८३ मत पाएका छन् । यस्तै स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले भने १४ हजार २६३ मत पाएका छन् । 
 
उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले ४७ हजार ९५८ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले जम्मा २७ हजार ९२२ मत पाएकी छन् । 
 
भरतपुर वडा नं ३, ११, १२, १८ र १९ को वडाध्यक्षमा नेकपा एमालेका उमेदवार निर्वाचित भएका छन् । यस्तै १३ ,२४ र २६ नम्बरमा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन् । यस्तै ७, ९, २२ मा एकीकृत समाजवादी र वडा नंं १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१ र २३ मा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् । यस्तै २५ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार छबिलाल सापकोटा विजयी छन् ।