मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

हालसम्म ७१६ पालिकाको अन्तिम परिणाम सार्वजनिक, ३५ को गणना जारी

हालसम्म ७१६ पालिकाको अन्तिम परिणाम सार्वजनिक, ३५ को गणना जारी


काठमाडौँ । देशभरका ७५३ पालिकामध्ये साँझ ८ बजेसम्ममा ७१६ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । हाल दुई पालिकाको गणना स्थगित रहेको छ भने र बाँकी ३५ पालिकाको गणना जारी छ । 
 
हालसम्म छ महानगरपालिकामध्ये विराटनगर महानगरपालिकाको मात्रै अन्तिम नतिजा सार्वजनिक भएको छ । काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र वीरगञ्ज महानगरपालिकाको गणना जारी छ । 
 
उपमहानगरपालिकामध्ये धरान, धनगढी, इटहरी, हेटौँडा, बुटवाल, नेपालगञ्ज र कलैयाको अन्तिम परिणाम आइसकेको छ । उपमहानगरपलिकामा हालसम्म धरान, धनगढी, इटहरी, हेटौँडा, बुटवाल, नेपालगञ्ज, घोराही र कलैया गरी सात वटाको अन्तिम परिणाम सार्वजनिक भएको छ । अझै जीतपुर सिमरा, तुलसीपुर र जनकपुरको गणना जारी छ । 
 
तनहुँको व्यास नगरपालिका, पाल्पाको रम्भा गाउँपालिकालगाायत विभिन्न नगरपालिकामा पनि गणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले जेठ १० गतेभित्र सबै पालिकामा गणना सकाउन आग्रह गरेको छ । हालसम्मको गतिका आधारमा काठमाडौँ, ललितपुर महानगरपालिकालगायत गणना समयमा नसकिने देखिएको छ । 
 
काठमाडौँ महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा (एमाले) की सुनिता डङ्गोलको अग्रता छ । साहले ४० हजार ५१ र उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार ४८४ रहेको छ । उपप्रमुखमा डङ्गोलको ३९ हजार ८१६ र उनको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठको १३ हजार ८९५ मत रहेको छ । 
 
ललितपुर महानगरपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा एमालेकी मञ्जली शाक्यको अग्रता रहेको छ । कांग्रेसका उम्मेदवार महर्जनले ३५ हजार ३७४ र उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण ब्यञ्जनकारले १८ हजार ८८६ मत पाएका छन् । उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले १८ हजार ३०९ मत र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र० का बाबुराजा बज्राचार्यले १३ हजार ४७२ मत पाएका छन् ।  
 
बाजुराको बूढीगङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ मा भएको मतदानमा विवाद भएपछि हाल मतगणना स्थगित भएको छ । यी ठाउँमा मतगणना गर्ने या पुनःमतदान गर्ने भन्ने अन्योल छ । दुवै ठाउँमा निर्णय हुन बाँकी रहेको आयोगले जनाएको छ । कुल ३५ हजार २२१ पदमा हालसम्म ३३ हजार ८५८ निर्वाचित भएको आयोगले जनाएको छ । निर्वाचन सकिएको नौ दिन बितिसकेको छ । रासस