मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रेष्टुरेन्टहरुमा ग्राहक बढाउन सेलिब्रेटी ल्याउने क्रम तीब्र

रेष्टुरेन्टहरुमा ग्राहक बढाउन सेलिब्रेटी ल्याउने क्रम तीब्र

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) । अमेरिकाको ड्यालसमा नेपाली–अमेरिकनहरुद्वारा सञ्चालनमा आएका रेष्टुरेन्टहरुले ग्राहकहरुलाई आकर्षित गर्न नेपालबाट सेबिब्रेटीहरु ल्याउने क्रम बढेको छ ।
 
ग्राहकलाई मनोरञ्जन सहित खानाको स्वाद चखाउने क्रममा रेष्टुरेन्ट सञ्चालकहरुले सेलिब्रेटीहरु झिकाएर कार्यक्रम समेत गर्ने क्रम केही समय यता बढ्दै गएको छ । हालैमात्र अर्भिङमा आफ्नो तेस्रो आउटलेट खोलेको नाङ्ग्लो ग्रुपले आउँदो सप्ताहन्त अहिलेका दुई चर्चित सेलिब्रेटीहरुलाई ल्याउने भएको छ ।
 
रेष्टुरेन्टका मेनेजर कविन्द्र सिंहले दिएको जानकारी अनुसार आउँदो शनिबार (मे २८ तारिक) नायिकाद्वय केकी अधिकारी र रिमा विश्वकर्मालाई ल्याइदैछ । ‘उहाँहरुका साथमा स्थानीय मुरली ब्याण्डको प्रस्तुती र लाइभ कन्सर्ट समेत हुँदैछ’ सिंहले भने । प्रवेश निशुल्क गरिएको यो कार्यक्रमले समर छुट्टीको क्रममा नेपाली विद्यार्थीहरुलाई रमाइलो वातावरण प्रदान गर्ने लक्ष्य आयोजकको छ । 
 
भरखरैमात्र वैवाहिक जीवनमा प्रवेश गरेकी नायिका केकी कार्यक्रममको सिलसिलामा अमेरिका आएकी हुन् । उनीसँगै आएकी अर्की नायिका रिमाको यसै साता नेपाल फर्किने टिकट भएपनि विशेष अनुरोध गरेर ड्यालस ल्याउन लागिएको नाङ्ग्लो ग्रुपले जनाएको छ । 
 
नाङ्ग्लोले हरेक महिना जस्तो नेपालबाट आएको सेलिब्रेटीहरुलाई ल्याएर ‘मिट दी ग्रेट’ सहितको माहौल गर्दै आएको छ । यसैक्रममा गायक एसकुमार, बाबु बोगटी लगायतले आफ्नो प्रस्तुति दिइसकेका छन् ।
 
त्यस्तै गतवर्षदेखि युलेसमा सञ्चालनमा आएको ठमेल बियर गार्डेन रेष्टुराले पनि नेपालकी चर्चित सेलिब्रेटी तथा पूर्ब मिस नेपाल श्रृङ्खला खतिवडालाई ल्याउँदैछ । आउँदो जुन ४ तारिक शनिबार खतिवडाका साथमा विविध कार्यक्रम गर्न लागिएको रेष्टुँराका मेनेजर राजेन्द्र सुवेदीले जानकारी दिए । 
 
जुन ४ तारिक साँझ ५ बजेदेखि कार्यक्रम सुरु हुने जनाइएको छ । 
 
खतिवडा सन् २०१८ की मिस नेपाल हुन् । उनी हाल अमेरिकाकै म्यासाचुसेट राज्यको हार्भर्ड युनिभर्सिटीमा अध्ययनरत छिन् । पेशाले उनी इन्जिनियर हुन् । 
 
ग्राहकलाई नेपाली स्वादका खानेकुरासँगै मनोरञ्जन समेत प्रदान गर्ने उद्वेश्यले सेलिब्रेटी ल्याउने क्रम केही महिना यता तीब्र भएको छ । कोरोनाका कारण दुईवर्षसम्म शिथिल भएको रेष्टुरेन्ट व्यबसायले पछिल्ला केही महिनामा फड्को मारेको छ । 
 
कोरोनाकालमा निकै राम्रो चलेको बेडफोर्डको फिस्टेल रेष्टुरा पुरै बन्द भएको छ ।