मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग प्रधानमन्त्री देउवाको आग्रह

थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग प्रधानमन्त्री देउवाको आग्रह


लुम्बिनी । प्रधानमन्त्री शेरबहादुर देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्नुभएको छ ।
 
आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज यहाँ भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा प्रधानमन्त्री देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन र व्यावसायिक सञ्चालनको शुभारम्भ भइसकेको सन्दर्भमा सम्पर्क सञ्जाल विस्तार, सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको आवागमनलाई थप सहज बनाउन उक्त विमानस्थल उपयुक्त हुने भएकाले थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आग्रह गर्नुभएको हो ।
 
वार्ताका क्रममा प्रधानमन्त्री देउवाले आपसी हितका लागि दीर्घकालीलनरूपमा विद्युत् व्यापार गर्न आग्रह गर्नुभएको थियो । पराराष्ट्र मन्त्रालयका अनुसार अरुण तेस्रो जलविद्युत् आयोजना सुचारु रूपमा अगाडि बढिरहेकामा दुवै देशका प्रधानमन्त्रीले सन्तुष्टि प्रकट गर्नुभएको थियो । वार्ताका क्रममा प्रधानमन्त्री देउवाले उठाउनुभएका विषयलाई भारतीय प्रधानमन्त्री मोदीले सकारात्मकरूपमा लिनुभएको छ । 
 
वार्तामा दुवै देशका प्रधानमन्त्रीले स्वच्छ ऊर्जाका लागि जलविद्युत्को महत्वमा जोड दिँदै जलविद्युत् क्षेत्रमा, सार्वजनिक, नीति र सझेदारीका अपार सम्भावनाहरु रहेकोमा सहमति जनाउनुभयो । प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युत् आयोजनाको विकासका लागि भारतको इच्छुक कम्पनीलाई लगानीका निम्ति आग्रह गर्नुभयो ।
 
पञ्चेश्वर आयोजनालाई प्राथमिकताका साथ आगाडि बढाउन पनि दुवै देशका प्रधानमन्त्रीले सहमति जनाएको मन्त्रालयले वार्तापछि जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
 
वार्ताका क्रममा दुवै पक्षले सम्पर्क सञ्जाल विस्तारमा सहयोग प्रवद्र्धन, मल आपूर्ति समयमै गर्ने विषयलाई प्राथमिकतामा राख्नुभएको व्यापार सन्धिको समीक्षा गरिएको थियो ।
 
जलविद्युत् उत्पादन, बौद्ध र रामायण परिपथसहितका संस्कृति, पयर्टन, शिक्षा र शैक्षिक सहयोग, भारतीय मुद्रा बढी बोक्न पाउनुपर्ने प्रावधान, पारस्परिक हितका मामलामा क्षेत्रीय र बहुपक्षीय मञ्चहरुमा सहयोग आदानप्रदान गर्ने बारेमा पनि दुई देशका प्रधानमन्त्रीबीच छलफल भएको थियो ।
 
दुवै देशबीच सुक्खा बन्दरगाह निर्माण, चाँदनी, दोधारामा एकीकृत जाँच चौकी बनाउने, भारतको उत्तराखण्डको पूर्णगिरिमाई र डडेलधुराको पशुरामधाम जोड्ने पूल निर्माणबारे पनि छलफल भएको थियो ।
 
नेपाललाई भूकम्प, कोभिड–१९ जस्ता महामारीको प्रतिकूल परिस्थतिमा भारतले सहयोग गरेकोमा प्रधानमन्त्री देउवाले हार्दिक आभार व्यक्त गर्नुभयो । साथै दुवै प्रधानमन्त्रीबीच गत चैतमा भएको प्रधानमन्त्री देउवाको भारतको भ्रमणका बारेमा समीक्षा भएको थियो । नेपाल र भारतले संयुक्तरूपमा बौद्ध परिपथ विकास गर्ने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै सांस्कृतिक एर्व पर्यटनका क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि गर्न बौद्ध परिपथ विकास गरिने घोषणा गर्नुभएको छ । 
 
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा आज यहाँ आयोजित २५६६औँ बुद्धजयन्तीको विशेष समारोहमा उहाँले भगवान् बुद्धको जीवनसँग सम्बन्धित महत्वपूर्ण स्थानहरूलाई एकापसमा जोड्ने बौद्ध परिपथ विकास गर्न नेपाल र भारत प्रतिबद्ध रहेका बताउनुभएको हो । 
 
प्रधानमन्त्री देउवाले नेपालको लुम्बिनीलाई भारतको बौद्धगया, सारनाथ, कुसिनगर एकापसमा जोड्न त्यस्तो परिपथले नेपाल र भारतबीच सांस्कृतिक पर्यटनको प्रवद्र्धनका क्षेत्रमा सकारात्मक योगदान पु¥याउने बताउनुभयो । 
 
प्रधानमन्त्रीले भन्नुभयो, “विश्वभरका बौद्ध धर्मावलम्बीहरूलाई नेपाल र भारतमा रहेको भगवान् बुद्धको जीवनसँग जोडिएका महत्वपूर्ण स्थानहरूको भ्रमण उत्प्रेरित गर्नेछ ।” हालै निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएसँगै लुम्बिनीमा भारत एवं सम्पूर्ण विश्वबाट अझ ठूलो सङ्ख्यामा पर्यटक तथा तीर्थयात्रीलाई स्वागत गर्न नेपाल उत्सुक रहेको बताउनुभयो । 
 
नेपाल र भारत समाज सांस्कृतिक एवं आध्यात्मिक मूल्य मान्यताले जोडिएका बताउँदै उहाँले केही समयअघि सम्पन्न वाराणसीको आफ्नो भ्रमण स्मरण गर्दै काशीविश्वनाथ बाबाको पूजाअर्चना गर्ने अवसरमा प्रधानमन्त्री मोदीले जुटाइदिनुभएकामा उहाँप्रति र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
 
भारत नेपालको बहुआयामिक सम्बन्ध भएको घनिष्ट छिमेकी मित्र हो । कोभिड–१९ महामारी जनजीवन कष्टकर बनाएको अत्यन्त कठिन समयमा र अन्य विषम परिस्थितिमा भारत सरकारले उदारता र आत्मीयताका साथ गरेको सहयोगको सराहना गर्दै प्रधानमन्त्री देउवाले नेपालको आर्थिक विकासमा निरन्तर सहयोगका लागि भारतप्रति आभार प्रकट गर्नुभयो । 
 
नेपालको पूर्वाधार निर्माण, सम्पर्क सञ्जाल विस्तार, जलविद्युत् कृषि तथा मानव संसाधनको विकासका साथै भूकम्पपछिको नवनिर्माण एवं सांस्कृतिक सम्पदाका पुनः स्थापना  र पुनः निर्माणका लागि भारत सरकारले गरेको सहयोगका निम्ति पनि आभार प्रकट गर्नुभयो । 
 
यसै वर्ष नेपाल र भारतको कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्सव मनाइरहेका बेला आपसी समझदारी तथा पारस्परिक सम्मानका आधारमा दुई मुलुकबीचको सम्बन्धलाई अझ सदृढ बनाउँदै थप उचाइमा पु¥याउन चाहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । 
 
भगवान् बुद्धको जन्मभूमि लुम्बिनी बुद्धका ज्ञानरुपी, अनन्त ज्योतिलाई सदैव प्रज्वलित राख्न प्रतिबद्ध रहेको बताउँदै उहाँले लुम्बिनीलाई समग्र विश्वकै एक महत्वपूर्ण सम्पदाका रुपमा एवं विश्व शान्तिका लागि प्रेरक केन्द्रका रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लुम्बिनीलाई बुद्ध धर्म तथा दर्शनको विश्वव्यापी केन्द्रका रुपमा विकास गर्ने हाम्रो प्रतिबद्धता हो । यस पवित्र उद्देश्य हासिल गर्न सबैको सहकार्य र ऐक्यबद्धताको कदर गर्दछौँ ।”
 
वर्तमान विश्वका विभिन्न ठाउँमा मानव जातिले हिंसा, वैमनस्य र युद्धको सामना गरिरहनु परेको, आतङ्कवाद, शस्त्रअस्त्रको होडबाजी र द्वन्द्वका कारण विश्वव्यापी शान्तितर्फको यात्रा दिनप्रतिदिन कठिन र चुनौतीपूर्ण बन्दै गएको परिप्रेक्ष्यमा भगवान् बुद्धका उपदेशहरू अझ सान्दर्भिक र मननीय छ भन्नुभयो । 
 
पारस्परिक सम्मान, करुणा, अहिंसा र सद्भावयुक्त, शान्तिपूर्ण विश्वका लागि भगवान् बुद्धका सन्देशहरू अत्यन्त उपयोगी रहेको पनि प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री धर्मपत्ती डा आरजु राणा देउवा, मन्त्री परिषद्का सदस्यहरू, लुम्बिनी प्रदेशका मुख्यमन्त्री, प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिका सदस्य, लुम्बिनी विकास कोषका उपाध्यक्ष र पदाधिकारीसहित, बौद्धमार्गी र सर्वसाधारणको ठूलो सङ्ख्यामा उपस्थिति थियो ।