मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

काँग्रेस बदल्छौं भन्नेहरु आफैं बदलिए

काँग्रेस बदल्छौं भन्नेहरु आफैं बदलिए

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हामी बदलिन्छौं, हामी कांग्रेस बदल्नेछौं’ अभियान २०७४ को आम चुनावमा काँग्रेसले नराम्रो हार ब्यहोरेसंगै निकै प्रचारमा आएको थियो। प्रत्यक्ष निर्वाचित हुने प्रतिनिधिसभाका १६५ सिट मध्ये २३ सिटमा मात्र विजयी हुन सकेपछि काँग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाको सर्वत्र आलोचना भयो। गगन थापा, विश्व प्रकाश शर्मा, धनराज गुरुंग, चन्द्र भण्डारी, प्रदिप पौडेल, गुरुराज घिमिरे र बद्री पाण्डे सहित ७ जना युवा नेताहरुले काँग्रेसमा ब्यापक सुधारको अभियान नै शुरू गरेका थिए।
 
एजले होइन एजेण्डा’ले नेतृत्व निर्धारण हुनुपर्छ भन्ठान्ने काँग्रेसीहरुलाई सातजना युवा नेताहरुको अभियानले मुर्झाएको फूल झैं सौन्दर्यता गुमाएको काँग्रेसी बगैंचामा बहार ल्याएको थियो। काँग्रेसको आन्तरिक राजनीतिमा समेत एउटा तरङ्ग ल्याएको त्यो अभियान विश्वप्रकाश शर्मालाई काँग्रेस सभापति देउवाले प्रवक्ता बनाएसंगै तुहिएको थियो।
 
२०७४ साल मै पार्टी सभापतिबाट राजिनामा दिन भनिएका देउवाले राजिनामा दिएनन् मात्र होइन, केन्द्रीय कार्य समितिको पटक पटक म्याद थपिएर भएको भएको महाधिवेशनमा विभिन्न तिकडम लगाएर फेरि आफैं सभापति बने। अहिले दृश्य बदलिएको छ। काँग्रेस सुधार अभियानमा सक्रिय पात्रहरुको भूमिका बदलिको छ। गगन थापा, विश्वप्रकाश महामन्त्री भइसकेका छन् भने धनराज उपसभापति। प्रदिप पौडेल, चन्द्र भण्डारी लगायतका युवा नेताहरु काँग्रेसको केन्द्रीय राजनीतिको हिस्सा छँदै छन्।
 
भूमिका बदलिंदैमा दृष्टिकोण र शैलीमा फरक आउँदैन, समयको विश्लेषण र घटनाको प्रकृति मुचुल्का बदलिंदैन” भन्ने विश्वप्रकाशहरु काँग्रेसको महामन्त्री भइसक्दा पनि पाँच वर्ष अघि नै विस्थापित हुन सुझाइएका देउवा झन् शक्तिशाली भएर आएका छन्। संसदको विशेष अधिवेशन बोलाउन पर्दा आवेदन दिनसक्ने संख्या समेत नभएको काँग्रेसले कागतालीबाट सरकारकै नेतृत्व गर्न पाउँदा काँग्रेस सुधार अभियानमा निकै घोक्रो सुकाएका चर्चित युवानेता गगन थापाको नाम कसैले लिएन। बरु उनी आफैं चार वर्षसम्म आफैंले अक्षम भनेको देउवालाई नै प्रधानमन्त्री बनाउन कस्सिएर लागे।
 
गत डिसेम्वर महिनामा सम्पन्न काँग्रेसको महाधिवेशनका बेला ‘काँग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउन’ भन्ने नारा दिएर गगन थापाले महामन्त्रीमा चुनाव जितेका हुन्। स्थानीय निकायको चुनाव प्रकिया सुरु हुनु अघि काँग्रेसले रुखमा बाहेक अन्यत्र भोट् हाल्दैन भन्ने अभिव्यक्ति दिएर काँग्रेसीहरुलाई उक्साइ रहेका थापाले ऐन मौकामा काँग्रेसीहरुलाई रुख मै भोट हाल्ने परिस्थिति बनाउन अहम भूमिका खेलेनन्। बरु सत्तास्वार्थमा लिप्त देउवाको गलत निर्णयको खिलाफमा देशभर आवाज बुलन्द गरेका काँग्रेसीहरुको आवाजलाई साथ दिनुको सट्टा माओवादीको झण्डामुनी अराजनीतिक गठबन्धनको पक्षमा भोट माग्दै हिंड्न बाध्य छन्। आफूलाई फाइदा हुने कुरामा पूर्व तैयारी साथ मिडिया परिचालन गर्न माहिर थापाले काँग्रेसीले काँग्रेसलाई भोट दिन पाउनुपर्छ भन्ने अभियान चालाएका र झण्डै देउवाकै उमेर बराबर काँग्रेस राजनीतिमा लागेका बयोबृद्ध कृष्णलाल सापकोटा सहित देउवाको गलत निर्णयको खिलाफ भरतपुरको मेयरमा उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई पार्टीबाट निकाल्ने निर्णय गर्दा समेत चुईंक्क बोलेनन्।
 
जो बदलिन्छन् नेतृत्व लिन्छन्, जो बदलिंदैनन् ती बाहिरिन्छन्” भन्ने विश्वप्रकाशले चार वर्ष अघि भनेका कुरा आफ्नो लागि भने जस्तो साबित हुँदैछ। त्यो बेला उनीहरुले देउवालाई लक्षित गरेर त्यसो भनेका थिए। चार वर्ष पछि पनि देउवा बदलिएनन्, बरु उनले आफू बिरुद्ध एकीकृत आवाज उठाएका युवानेताहरुलाई बदल्न पार्टी र राज्यसत्ताको भरपुर उपयोग गरे र सफल पनि भए।
 
काँग्रेस नेता अर्जुन नरसिंह केसीका भाइ समेत रहेका बद्री नरसिंह केसीले भनेजस्तो दुनिया भरको पुरुषमा हुने बैगुन सबै भएका देउवाको नीजि महत्वाकांक्षाको रक्षक बनिरहनु परिवर्तन चाहने युवा नेताहरुको कमजोरी नै हो। परेको बेला युवाहरुको आवाजलाई साथ नदिने र आफैंले उठाएको एजेण्डा बिर्संदा काँग्रेस सुधार्ने अभियान अलपत्र परेको छ।
 
शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतका नेतालाई कार्यकारी जिम्मेवारीमा बस्दैनौं भनेर स्वघोषित अवकास लिन सुझाएको पाँच वर्ष पछि पनि फेरि उनै देउवा सभापति भएका छन्। न देउवाले फेरि सभापति हुने लालच छोडे न युवा नेताहरुमा उनलाई रोक्ने क्षमता देखियो। अक्षम भनिएका देउवा फेरि प्रधानमन्त्री र पार्टी सभापति दुबै बन्न सक्षम भए। राजनीतिको खेल पनि बिचित्रको छ—अघिल्लो पटक आफैंहरुले अक्षम भनेका सभापतिको मातहत महामन्त्री भएर देउवाको निर्देशन मान्न बाध्य छन् गगनहरु। शेरबहादुर उमेर र एजेण्डा दुबै हिसाबले काँग्रेसलाई नेतृत्व दिन सक्षम छैनन् भन्ने युवा काँग्रेसीहरुको प्रभाव कार्यसमिति बाहिर हल्लाखल्ला मच्चाउनेमा मात्र सीमित छ। चुनावी गठबन्धनको खिलाफ आवाज उठाउनेहरुको पक्षमा आफूहरुलाई उभ्याउन नसक्नु युवा काँग्रेसीहरुको बाध्यता जस्तै बनेको छ।
 
सार्वजनिक कार्यक्रममा आफैंले हात्तीको कानमा झुम्मिने चमेरा भनेको दलहरुसंग स्थानीय चुनावमा गठबन्धन गर्ने निर्णय हुँदा काँग्रेस बदल्छौं भन्ने नारा दिएर पार्टी सत्तामा पुगेका धनराज गुरूङले काँग्रेसलाई ‘भागशान्ति’ गठबन्धन गर्नबाट रोक्न सकेनन्।
 
२०७४ मा काँग्रेस हार्नुको मुख्य कारण भनिएका घटना र परिवेश अहिले पनि उस्तै छ। पारित नहुने महाअभियोग लगाएर तीन महिनादेखि प्रधानन्यायाधीशलाई निलम्वनमा राखेका छन् भने आइजीपी नियुक्ति गर्दा बरियतामा १६ महिमा पछाडि रहेकालाई नियुक्ति गरेर मनोमानी गरेका छन्। देउवा खान्दानी अक्षम व्यक्ति हुन् भन्ने जान्दा जान्दै पनि गगन थापा, विश्वप्रकाश र धनराजहरु उनकै दौराको फेरो समातेर आफ्नो राजनीतिक यात्रा अगाडि बढाउन अभ्यस्त देखिन्छन्। खराब काम हुन रोक्नुको सट्टा त्यही खराब कामलाई सही भन्नु पर्ने बाध्यतामा रहेकाहरुबाट काँग्रेस सुधारको अपेक्षा गर्न सकिंदैन। 
 
देउवाकै नेतृत्वमा चुनाव हार्दा ‘साइज-साइजको नेतृत्व, साइज-साइजको दोष’ हुने भन्ने विश्वप्रकाशहरुले बैशाख ३० मा हुन लागेको स्थानीय चुनावमा काँग्रेसले फेरि नराम्रो नतिजा ल्याए पहिले जस्तो देउवालाई मात्र दोष दिएर उम्कने स्थिति छैन। साइज अनुसारको दोष त उनीहरुले पनि लिनु पर्ला! 
 
अघिल्लो आम चुनावमा काँग्रेसको गाडी दुर्घटना गराएका चालकले नै यो पटक पनि चुनावी गाडी दौडाइरहेका छन्। अक्षम हुन् कि घाइते, चालक नबदली गुड्ने हालत कै भएपनि त्यही गाडीमा सुझबुझ भएका यात्रीहरु पून यात्रा गर्नु भनेको फेरि अर्को दुर्घटना निम्त्याउनु जस्तै हो भन्ने काँग्रेसीहरुले अझै बु्झ्न नसक्नु काँग्रेसीहरुको कमजोरी हो भने समग्र देश र जनताका लागि बिडम्वना हो। हामी बदलिन्छौं, हामी कांग्रेस बदल्नेछौं’ भनेर अभियान शुरु गरेकाहरुको हैसियत बदलियो तर काँग्रेस बदलिएन। घगडान भाषण गरेर काँग्रस बदल्ने हुँकार गर्नेहरु आफू त बदलिए तर काँग्रेसलाई देश हितका लागि बदल्ने हैसियत राखेनन्।