मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

२६४६ बुद्ध जयन्तीको उपलक्ष्यमा आयोजना हुने शान्ति पदयात्राको तयारी पूरा

२६४६ बुद्ध जयन्तीको उपलक्ष्यमा आयोजना हुने शान्ति पदयात्राको तयारी पूरा


कोलोराडो, अमेरिका । २६ सय ४६ औं बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोस्थित डेनभर डाउनटाउनमा आयोजना हुन लागेको शान्ति पदयात्रा कार्यक्रमको सबै तयारी पूरा भएको छ ।
 
बौद्ध समाज कोलोराडोको आयोजनामा, बुद्धको जन्मभूमि नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा गौतम बुद्धको शान्तिको सन्देश संसारभर फैलाउन शान्ति पदयात्राका कार्यक्रमको आयोजना गरिन लागिएको हो ।
 
यही मे १४ तारिक शनिबार बिहान १०:३० बजे डेनभर डाउनटाउनस्थित सिभिक सेन्टर पार्कमा शान्तिका अग्र द्रूत भगवान् गौतम बुद्धको लामागुरुहरुबाट पूजापाठ गरिने छ । त्यसपछि ११ बजे धिमेबाजासहित सुरु हुने शान्ति पदयात्रा डेनभर डाउन टाउनको १६ स्ट्रिट महल परिक्रमा गरी पुनः सिभिक सेन्टर पार्कमा आई कोणसभा गरी कार्यक्रम सम्पन्न गरिने बौद्ध समाज कोलोराडोका सचिव सञ्जय शाक्यले बताएका छन् ।
 
आयोजक संस्थाको हालै सम्पन्न कार्यसमितिको बैठकले पदयात्रालाई व्यवस्थित तरिकाबाट सफलताका साथ सम्पन्न गर्न जिम्मेवारी बाँडफाट गरिएको जनाएको छ । जसमा बसन्त गुरुङलाई बुद्ध पूजा, सोनाम शेर्पालाई मन्च तथा साउण्ड सिष्टम ब्यावस्थापन, शुरेन्द्र श्रेष्ठ धिमेबाजा, संजय शाक्य प्रसाद बितरण र लाक्पा शेर्पालाई पानी तथा चिसो ब्याबस्थापनको जिम्मा दिईएको सचिव शाक्यले बताएका छन् । 
 
समितिले संघसंस्थाका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, गन्यमान्य, सञ्चारकर्मी तथा सर्वसाधारण सबैसँग मातृभूमिलाई विश्वसामु चिनाउन पाउने यस कार्यक्रमको व्यापक प्रचार प्रसार गरी कार्यक्रममा धेरैभन्दा धेरै जनसहभागिता गराउने बातावरण बनाइदिन हुनसमेत आग्रह गरेका छन् ।
 
संघसंस्थाका पदाधिकारीहरुले आधुनिक सञ्चारका विभिन्न माध्यमहरुबाट कोलोराडोमा बसोवास गर्ने सम्पूर्ण नेपाली, नेपाली भाषी भुटानी, विभिन्न राष्ट्रबाट कोलोराडोमा आई बसोवास गरिरहेका बौद्ध धर्मालम्बी, नेपाल र नेपालीप्रति सद्भाव राख्ने स्थानीय सबैलाई कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाउन अनुरोध गरिरहेका छन् ।
 
उनीहरुले सहभागीहरुलाई आफ्नो घरमा भएका नेपालको झण्डा, बुद्धको तस्बिर, ब्यानर, प्रतिमा, ध्वजा पतंगा, बुद्धका महाबाणीहरु संगटिएको प्लेकार्ड लिई सम्भव भएसँग परम्परागत पहिरन लगाएर उपस्थित हुन सबैलाई अनुुरोध गरेका छन् ।