मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

म समग्र रत्ननगरवासीको साझा मेयरको उमेदवार हुँ : प्रह्लाद सापकोटा

म समग्र रत्ननगरवासीको साझा मेयरको उमेदवार हुँ : प्रह्लाद सापकोटा


स्थानीय निर्वाचन २०७९ वैशाख ३० गते हुँदैछ । रत्ननगर नगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका साझा मेयरका उमेदवार प्रह्लाद सापकोटा चुनावी घरदैलोमा व्यस्त छन् । यतिबेला चुनावी माहोल बढेको छ । उमेदवार सापकोटा पनि गठबन्धनको तर्फबाट भोट माग्न टोलटोलमा पुगिरहेका छन् । २०७४ सालको चुनावमा रत्ननगर नगरपालिकामा एमालेले चुनाव जितेको थियो । विगत २५ वर्षदेखि एमालेले शासन गरे पनि रत्ननगरको समग्र विकासमा कुनै बदलाब आएको छैन । जनताका आशा र अपेक्षा पूरा हुन सकेका छैनन् । यस पटक एमालेको किल्ला भत्काउने संकल्पका साथ समग्र कांग्रेस र गठबन्धन दल चुनावी अभियानमा लागेको छ । विशेषगरी कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको मत विश्लेषण गर्दा साझा उमेदवार सापकोटाको विजय भारी मतान्तरका साथ निश्चितजस्तै छ । निर्वाचनमा केन्द्रित रहेर मेयरका साझा उमेदवार प्रह्लाद सापकोटासँग गरिएको कुराकानी यसप्रकार छ ।
 
१) तपाईंको चुनावी दौडधूप कस्तो छ ?
 
–ठीकै छ, हजुरले भनेजस्तो दौडधूप छैन । नेता, कार्यकर्ता तथा नगरवासी जनतासँग भेटघाटको क्रम भने जारी छ । पहिलाको जस्तै हो । म पहिले पनि जनताकै घरदैलोमा नियमितरुपमा जान्थेँ । आज पनि गएको छु । भोलि पनि जाने छु । भोट माग्नकै लागि निर्वाचनकेन्द्रित दौडधूप होइन यो । हरेक सुखदुःखमा म जनतासँगै छु । म जनताकै सेवक हुँ , जनताकै सेवामा हरक्षण हाजिर छु ।
 
२) भेटघाटको क्रम जारी छ भन्नु भयो, जनताबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
 
–मैले भन्नुभन्दा पनि प्रह्लाद सापकोटाको विषयमा जनताको प्रतिक्रिया के छ भनेर तपाईंजस्ता पत्रकारले सर्वेक्षण गर्दा राम्रो हुन्छ । म जनताको मन्छे हुँ । मैले मेरो व्यक्तिगत चाहना र जीवनलाई कहिल्यै महत्त्व दिइनँ । यो लुकेको कुरा होइन म एउटा व्यवसायी पनि हुँ । व्यवसायबाट प्राप्त हुने नाफघाटा आफ्नो ठाउँमा छ तर मैले थाहा पाएसम्म कुनै जनतालाई निरास पारेको छैन, खाली हात पठाएको छैन । सम्भव भएसम्म समस्यामा परेकालाई सहयोग गरेको छु । आवश्यक संघसंस्थामा सहयोग गरेको छु । आर्थिक अवस्था कमजोर भएकालाई, अपाङ्गलाई, बिरामीलाई, जेहेन्दार विद्यार्थीलाई, अस्पतालका बिरामीहरुलाई, खेलाडीहरुलाई, मठमन्दिरलाई सबै ठाउँमा आर्थिक, नैतिक सहयोग गरेको छु । जनताका पीडा र समस्यालाई आफ्नै ठानेर काम गरेको छु, त्यसैले नगरवासीको समर्थन र आशीर्वाद पाएको छु ।
 
३) तपाईंले चुनाव जिल्ने आधार के के हुन् त ?
 
–मैले चुनाव जिल्ने आधार खोज्नुपर्ने अवस्था नै छैन । जनताको सेवक नै जनताको आफ्नो मान्छे हो ।  प्राविधिकरुपमा म अहिले गठबन्धन दलहरुको साझा मेयरको उमेदवार हो । तर, व्यावहारिकरुपमा म समग्र नगरवासीको साझा उमेदवार हो । म पार्टीको जिम्मेवार व्यक्ति भएको कारणले पार्टीगत सभासम्मेलन पार्टीगत कार्यक्रमहरुमा नेपाली कांग्रेसको प्रतिनिधि भएँ तर तपाईंले जनतासँग बुझ्न सक्नुहुन्छ सामाजिक काममा, विकास निर्माणका काममा, सामाजिक सहयोगमा, न्यायको पक्षमा सधैँ जनताको मान्छे भएर काम गरेँ । मलाई नेपाली कांग्रेसको नेताभन्दा पनि सामाजिक अभियन्ताकै रुपमा जनताले राम्रैसँग चिन्छन् । रत्ननगर र नगरवासीको भविष्यको लागि यसपटक मेयरमा प्रह्लाद सापकोटाको विकल्प अरु हुनै सक्दैन भनेर स्वयम् नगरवासी मतदाताहरुले नै भनिरहनु भएको छ । सामाजिक काममा मेरो सक्रियता र यो जनभावना म नगरसभापति भएपछि नेपाली कांग्रेसमा प्रवेश गर्ने नगरवासीहरुको जनलहरले नै देखाएको छ । जनताले खोजेकोजस्तो नगरप्रमुख म नै हुँ ।
 
४) चुनाव जितेपछि रत्ननगरलाई कस्तो बनाउने सोच्नु भएको छ ?
 
–रत्ननगरलाई रत्ननगरजस्तै बनाउने हो । कुनै पनि योजनाहरुमा भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ । मैले एक्लैले बनाउँछु पनि भन्दिनँ । सबै नगरवासी जनता मिलेर बनाउने हो । सबै कुरामा म निपूर्ण नहुन सक्छु तर रत्ननगरमा धेरै विद्वान्, शिक्षित, योग्य व्यक्तिहरु हुनुहुन्छ । विश्व बैंकमा नाम कमाएका विद्वानहरु जसले राष्ट्रिय योजना आयोगमा रहेर काम गरिसकन्ु भएको छ । त्यस्ता विद्वानहरु रत्ननगरकै हुनुहुन्छ । अरु धेरै जानकार विद्वानहरु पनि हुनुहुन्छ सबैसँग रायसल्लाह लिएर अगाडि बढ्छु । बेरोजगार राष्ट्रिय समस्या हो तर मेरो मुख्य लक्ष्य भनेको रोजगारीको लागि विदेश जानु नपर्ने गरी यहीँ रोजगारीको व्यवस्था गर्ने र आगामी ५ वर्षभित्र घरघरमा गएर तथ्याङ्क संकलन गरी रोजगारीका लागि विदेसिनु भएका दाजुभाइ, दिदीबहिनीलाई यहीँ रोजगारीको व्यवस्था गरी स्वदेश फर्कने व्यवस्था मिलाउनेतर्फ अगाडि बढ्छु । यस्तै, खानेपानी, बिजुली, स्वस्थ्य, शिक्षा, रोजगार, बिमा, गास, बास, कपासजस्ता आधारभूत आवश्यकतामा जोड दिइने छ । अव्यवस्थित सुकुमवासी बस्तीलाई व्यवस्थित बनाइने छ । आवश्यकताअनुसार विद्यार्थीहरुलाई इन्टरनेट, कम्प्युटर, सामुदायिक विद्यालयहरुमा जीवनोपयोगी प्राविधिक शिक्षाको व्यवस्था गरिने छ । किसानहरुको लागि सहज रुपमा मल, बीउ, बजार र सिँचाइको राम्रो प्रबन्ध गरिने छ । खगेरी खोला, बूढी कुला, कयर खोला, लौरीघोल र रापतीलाई व्यवस्थित र तटबन्धसहित छेउछेउबाट हरियालीसहितको मार्गहरुको निर्माण गरिने छ । हाल टाँडीचोकदेखि उत्तर दक्षिणतिरको मार्गहरुमा भीडभाडको समस्या छ सवारी साधनअनुसार कयरखोला लौरीघोल, बूढीकुलो र खगेरी खोलालाई व्यवस्थित गर्दै छेउछेउबाट मार्गहरु खोलिने छन् । लौरीघोलजस्ता जलाधारयुक्त सिमसार क्षेत्रहरुलाई पर्यटकीय धार्मिक क्षेत्रको रुपमा विकास गरिने छ । सफा, सुन्दर, शान्त, समृद्ध र न्यायको सहर बनाइने छ । यी सबैको लागि राष्ट्रिय विनियोजित बजेट, आन्तरिक राजस्व, दातृनिकायहरुसँग समन्वय गरिने छ । टोलटोलमा गुनासा पेटिका राखिने छ । विशेष महिलाहरुका लागि सम्मानित र हरेक नागरिकका लागि सुरक्षित अपाङ्गमैत्री नगरको निर्माण गरिने छ ।
 
५) पाँच वर्षमा यति सजिलै यस्ता कुरा व्यवहारमा कसरी पूरा हुन्छ ?
 
–सबै कुरा इच्छाशक्तिमा भर पर्ने कुरा हो । चितवनकै पुरानो रत्ननगर नगरपालिका विकासका दृष्टिले अरु नगरपालिकाभन्दा कति पछाडि छ आफैँ हेर्नुस् न ! टाँडीबजारको कुरा गर्नुस् कति अव्यवस्थित छ, चैत, वैशाखमा धुलाम्य र असार, साउनमा हिलाम्य हुने अवस्था छ । फुटेका ढलहरुको दुर्गन्ध हेर्नुस्, सडकबोर्डभित्रको आकाशे पुल हेर्नुस्, किसानले अनुदानमा पाएका सामान बजार मूल्यभन्दा बढी तिर्नुपर्ने यी सबै इच्छाशक्तिका कमीले हुन नसकेका हुन् । हामीसँग भएका स्रोत र साधनलाई समुचित परिचालन र व्यवस्थापन मात्र गर्न इच्छाशक्ति भए पुग्छ, सबै कुरा सजिलै सम्पनन्न गर्न सकिन्छ । मसँग इच्छा शक्ति छ ।
 
६) एक कार्यकाल उपमेयर भएर काम गरिसकेकी विमलादेवी दुवाडी नेकपा एमालेबाट मेयरकै प्रतिस्पर्धी हुनुहुन्छ । तपाईंलाई चुनाव जित्न कत्तिको सहज छ ?
 
–उहाँ उपमेयर भएको व्यक्ति हो तर काम गरेको भन्नु गलत हुनसक्छ । के काम गर्नु भो त नि उहाँले रत्ननगरमा ? के भयो त उल्लेख्य विकास ? के त्यस्तो उल्लेख्य काम गर्नुभयो र फेरि पनि भोट दिने त भन्दा उहाँहरुसँग कुनै जवाफ छैन । रत्ननगर जस्ताको तस्तै छ । जनताले हेरेका छन्, देखेका छन्, विगत पाँच वर्षको अवधिमा तलब भत्ता खानेबाहेक के भयो काम ? सीमित उहाँहरुको कार्यकर्तालाई फाइदा पुग्यो होला । तर, के पाए त नगरवासीले ? कार्यकर्तालाई संरक्षण गर्ने काम भयो । आफ्ना नजिकका संस्थालाई खोजीखोजी बजेट विनियोजन गर्ने काम भयो । उहाँहरुले समग्र नगरको अभिभावकत्व निर्वाह गर्न सक्नु भएन । म व्यक्तिगत रुपमा जनताको घरदैलोमा पुगेको छु, जनताका घाउहरुमा मलम लगाएको छु । अब उहाँहरुको ढाँटछल चल्दैन, जनता धेरै नै सचेत भैसकेका छन् । म र मेरो नेतृत्वको सबै टिमलाई जिताउन जनता तयार छन् । मेयरका प्रत्यासी धेरै हुनुहुन्छ । तर, मेरो प्रतिस्पर्धी कोही छैन । यो विषयमा जनता सबै ढुक्क छन् ।
 
७) अन्त्यमा, नगरवासीलाई के सन्देश दिन चाहनुहुन्छ ?
 
–म नगरवासीसँगै छु । चुनावमुखी घरदैलोको आवश्यकता छैन मलाई । तैपनि भेटघाट गरेकै छु । नगरवासी जनताले नै प्रह्लाद भाइ आइदिनु भन्नुहुन्छ, यस पटक तपाईंलाई भोट हाल्ने हो भन्नुहुन्छ, आशीर्वाद दिनुहुन्छ सबै नगरवासीलाई भेट्नेक्रममा व्यस्त छु । आशीर्वाद लिने क्रममा छु । भ्रष्टाचार, कमिसन र बेथितिको गन्धले नगर बेस्मारी गनाएको छ । म नगरवासीलाई फेरि पनि विश्वस्त पार्न चाहन्छु म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ । सधैँ जनताकै सल्लाह र सुझावअनुसार अघि बढ्ने छु । तपाईंले गरेको बहुमूल्य मत दुरुपयोग हुन दिन्न । यो मेरो वाचा भयो ।