मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाल चिनाउने म्युजियमको तयारीमा ड्यालस

नेपाल चिनाउने म्युजियमको तयारीमा ड्यालस

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस (अमेरिका) – आउँदो आधा शताव्दी पछि अमेरिकामा रहेका नेपाली समुदायको तस्बीर कस्तो रहला ? 
 
सर्सर्ती हेर्दा सामान्य लाग्ने यो प्रश्नको जवाफ गहिरिएर खोज्ने हो भने त्यतिखेरको नेपाली समुदाय, समाज, अहिलेको संघसंस्थाहरुको अवस्थाको काल्पनिक तस्वीर निकै भयावह देखिन्छ । आधा शताव्दी अर्थात ५० वर्षमा संभवत नेपालीमुलको चौथो पुस्ता समेत स्थापित भैसकेको हुनेछ । त्यो पुस्ताको नेपालसँगको सम्पर्क, सम्बन्धलाई अहिलेबाटै जोड्ने प्रयास नहुने हो भने चटक्कै टुट्न पनि सक्ने संभावना देखिन्छ । 
 
त्यतिखेरसम्म अहिलेको पहिलो पुस्ता त छाडौ दोस्रो पुस्ताका अधिकांशले समेत यो भौतिक संसार छाडिसक्नेछन् । अधिकांशको परिवार अमेरिकाको मिश्रीत संस्कारमा घुलिइसकेको हुनेछ । 
 
अमेरिकामा थोरैमात्र नेपालीमुलका दोस्रो पुस्ता छन् । प्रायः पहिलो पुस्ताकै नेपालीहरु छन् । पहिलो पुस्ता भन्नाले जो नेपालमै जन्मिएर अमेरिका आएर बसेकालाई लिइन्छ । दोस्रो पुस्ता चाहि नेपालीमुलका बाउआमाबाट अमेरिकामा जन्मिएका हुन् ।
 
भविष्यका पिढीलाई नेपाल र नेपाली संस्कृतिसँग जोडिराख्ने र सम्पर्कको तारलाई टुट्न नदिने प्रयास ड्यालसका नेपाली समुदायले अघि सारेका छन् । नेपाली संस्कृति, पुरातत्वका बारेमा अवगत गराउने उद्वेश्यले ‘नेपाल हेरिटेज’ को परिकल्पना अघि सारिएको छ । यो परिकल्पनाको मुख्य सार भनेको अमेरिकामै नेपाल चिनाउने, नेपाल देखाउने एउटा म्युजियम हो । 
 
‘नेपाल हेरिटेज तत्कालै पुरा हुने योजना होइन । अमेरिकामा रहेका नेपालीमुलका सबैले गर्व गर्नसक्ने गरि आफ्नो पुर्खाको पहिचान, संस्कार संस्कृतिको अध्ययन अनुसन्धान समेत गर्न मिल्नेगरि दीर्घकालिन कार्यक्रमका रुपमा यसलाई अघि सारिएको हो’ नेपाल हेरिटेजका परिकल्पनाकार एवं नेप्लिज अमेरिकन चेम्बरका निवर्तमान अध्यक्ष बाल जोशीले उल्लेख गरे । टेक्ससको युलेसमा नेपाली मन्दिर पसिसरमा अलग्गै संरचना सहित हेरिटेजलाई अघि बढाउने पहल चेम्बरले गरिराखेको छ ।
 
झण्डै एक वर्ष अघि नेपाल हेरिटेजको परिकल्पना चेम्बरले गरेको हो । यसलाई मूर्त रुप दिन र यसको महत्वका बारेमा सरोकारवाला अमेरिकाको नेपाली समुदायलाई जानकारी गराउने उद्वेश्यले आउँदो मे ७ तारिक ड्यालसमा भव्य कार्यक्रम आयोजना हुन लागेको छ । भेषभुषादेखि लिएर खाना मौलिक नेपाली हुनेगरि कार्यक्रमको मोड्यालिटी तयार पारिएको छ । यो कार्यक्रममा नेपाल चिनाउने केही कला प्रदर्शनी समेत हुनेछ । बढीमा एकसय जनालाई मात्र प्रवेश गराउने गरि आयोजकले कार्यक्रम तय गरेका छन् । 
 
‘नेपाल हेरिटेजलाई हामीले एउटा मिनि–नेपालको अवधारणाका साथ अघि सारेका छौ’ जोशीले भने–‘कोही अवलोकनकर्ता नेपाल हेरिटेजमा प्रवेश गरेपछि उसले नेपालका बारेमा धेरैभन्दा धेरै यथार्थ जानकारी लिएरमात्र बाहिर निस्कियोस् भन्ने हाम्रो अवधारणा हो ।’ 
 
यो अवधारणालाई साकार बनाउनका लागि चेम्बरले नेपालको पुरातत्व विभाग, पुरातत्वका क्षेत्रमा काम गरिरहेको व्यक्ति, संघसंस्थाहरुसँग समेत निरन्तर छलफल र सम्पर्क गरिराखेको छ । मन्दिर तयार भैसकेपछि ड्यालसका नेपाली समुदाय पूर्ण रुपमा नेपाल हेरिटेजमै केन्द्रित हुने र आउँदो केही दशक यसैको संरचना तयारमा संलग्न हुनेछन् । 
 
‘हामीले हेरिटेज बनाएर आउँदो पुस्ताहरुलाई दिन सकेनौ भने हाम्रा नातीका पुस्तासम्म पुग्दा नेपालसँगको सम्बन्ध र सम्पर्कनै टुट्ने अवस्था देखिएको छ । पुर्खाको भूमिसँग निरन्तर जोडिराख्न, संस्कारलाई अपनाइराख्नका लागि यो अवधारणालाई हामीले सबैभन्दा राम्रो ठहर गरेका हौं’ उनले भने । 
 
नेपाल हेरिटेजको नाममा स्थापनाको प्रकृयामा रहेको म्युजियमलाई सहयोग गर्न र कार्यक्रममा सहभागी हुनका लागि चेम्बरले नेपाली समुदायसँग आव्हान गरेको छ ।