मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

कोलोराडोमा नयाँ वर्षको शुभकामना तथा सांस्कृतिक साँझ सम्पन्न

कोलोराडोमा नयाँ वर्षको शुभकामना तथा सांस्कृतिक साँझ सम्पन्न

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो, अमेरिका ।  कोलोराडो निवासी नेपालीहरुले गायक किरण गजमेरलगायत स्थानीय कलाकारहरुको उपस्थितिमा सांस्कृतिक साँझ कार्यक्रमको आयोजना गरी नयाँ वर्ष २०७९ को शुभकामना आदान प्रदान गरेका छन् ।
 
नेपालीहरुको साझा संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालले आयोजना गरेको शुभकामना साँझमा सहभागी भई उनीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरेका हुन् । कार्यक्रममा कोलोराडोमा बसोवास गर्ने नेपाली तथा नेपाली भाषी भुटनिज, स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
 
ब्रुमफिलस्थित लिगेसीहाई स्कुलमा शनिबार साँझ सम्पन्न भएको कार्यक्रममा सहभागी कतिपय नेपालीहरु दौरासुरुवाल, ढाका टोपी, गुन्यूचोलो लगाएर आएका थिए भने केही आफ्नो जातीय भेषभूषा झल्कने पहिरहन लगाएर आएका थिए ।
 
कार्यक्रम आयोजनास्थलमा बालक हुन् वा वृद्ध, युवा हुन् वा युवती सबै आआफ्ना दौँतरीका साथ शुभकामना साँटासाट गरिरहेका थिए । कोही हात मिलाएर त कोही हग गरेर, कोही नमस्ते गरेर त कोही टाउको निहुँराएर, उमेर र अवस्थाअनुसार नयाँ वर्षको शुभकामाना साँटासाट गर्ने प्रक्रिया निरन्तर चलिरहेको देखिन्थ्यो ।
 
संस्थाका निवर्तमान अध्यक्ष विनोद त्रिपाठीले पानसमा बत्ती बालेर उद्घाटन गरेपछि कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रष्ट पारेका थिए ।
 
स्थानीय कलाकार भाइबहिनीहरुले लोक, आधुनिक, देशभक्तिलगायतका गीतमा कम्मर मर्काइ मर्काइ नेपाली शैलीमा नाचेको हेरिरहँदा जोकोहीलाई नेपाली घरआँगनमै भएको महसुस गराएको थियो । 
 
कार्यक्रममा गायक किरण गजमेरले लाइभ व्याण्डमा दर्जन बढी गीत गाएका थिए । त्यसैगरी उनले लाइभ व्याण्डमै चर्चित गायिका सम्झना पाण्डेसँग पनि गीत गाएर दर्शक तथा श्रोताहरुको मन जित्न सफल भएका थिए । लाइभ व्याण्डमा उनीहरुलाई विजय नेपाली अधिकारी, वीरेन्द्र सुवाल सिंह, प्रयास रसाइली, अनुपम राई, राजेश खड्की, हरिश गजमेरलगायतका कलाकारहरुले साथ दिएका थिए ।  
 
त्यसैगरी सोही कार्यक्रममा शशि रावल र भुवन श्रेष्ठले पनि गीत गाएका थिए । शुभकामना साँझमा विभिन्न चर्चित लोक तथा राष्ट्रभक्तिका गीतहरुमा साना भाइबहिनीहरुले सुन्दर नृत्य प्रस्तुत गरी श्रोता तथा दर्शकहरुको मन जित्न सफल भएका थिए ।
 
संस्थाका उपाध्यक्ष रामगोपाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम संस्थाका महासचिव अर्जुन बगाले र कल्चर सेक्रेटरी आकृति राई अधिकारीले संयुक्तरुपमा सञ्चालन गरेका थिए ।
 
कार्यक्रम सफल बनाउन विभिन्न दाताहरुले आर्थिक सहयोग उपलब्ध गराएका थिए । प्राप्त सहयोगको आधारमा डाइमन्ड, गोल्ड र सिल्भरमा वर्गीकरण गर्दै उनीहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।  
 
कार्यक्रममा ओम बड्स कमिटीका सदस्य रोहिणी शर्मा र निवर्तमान अध्यक्ष विनोद त्रिपाठीबाट संयुक्तरुपमा  कलाकार तथा सहयोगी दाताहरुलाई खादा लगाई प्रशंसापत्र प्रदान गरिएको थियो । संस्थाले आफ्नो स्थापनाकालदेखि निरन्तररुपमा यस्ता सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
 
त्यसैगरी कोलोराडोमा नयाँ वर्षको अवसर पारेर बोल्डरस्थित सि–यू मा अध्ययनरत नेपाली छात्रछात्राहरुको संगठन नेप्लिज स्टुडेन्ट एसोसिएसनको आयोजनामा नेपाल नाइटको कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा गायक दिवश गुरुङ, गायिका वार्तिका राईको प्रस्तुति रहेको थियो ।