मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संवैधानिक मूल्यमान्यता आत्मसात् गर्न सकौँ : सभामुख

संवैधानिक मूल्यमान्यता आत्मसात् गर्न सकौँ : सभामुख


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले नववर्ष २०७९ साल प्रारम्भका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि, सुस्वास्थ्य र सफलताको हार्दिक शुभकामना व्यक्त गरेका छन् । 
 
उनले विक्रम संवत् २०७८ मा कैयौँ अप्ठ्यारा आए र तिनलाई हामीले सुझबुझपूर्ण ढङ्गले निकास दिँदै गएको उल्लेख गर्दै भविष्यका लागि आशावादी बनाएर २०७८ बिदा भएको शुभकामना सन्देशमा भनेका छन् ।     
 
विसं २०७९ चुनावी वर्ष रहेकाले आम नागरिकका लागि आफ्नो अमूल्य मताधिकारको सही प्रयोग गर्ने एवं राजनीतिक दलका लागि आफ्ना नीति र नेतृत्वको परीक्षाको वर्ष बन्ने  विश्वास पनि शुभकामना सन्देशमार्फत सभामुख सापकोटाले बताएका छन् । 
 
आगामी दिनमा संविधानको कार्यान्वयन, परिवर्तित व्यवस्थाअनुरुप नागरिकले अनुभूत गर्ने तहमा जीवनस्तर परिवर्तनको दिशामा मुलुकलाई अगाडि बढाउन दलका बीचमा सहकार्य र सहमतिको संस्कृति अझ विकास र विस्तार हुने उनले विश्वास व्यक्त गरेका छन् ।  
 
लोकतन्त्रको उच्चतम् अभ्यास गर्न, यसलाई फुल्ने, फल्ने वातावरण बनाउन, लोकतान्त्रिक विधि, पद्धति र प्रक्रिया लागू गर्न निरन्तर प्रयत्नरत रहन एवं संवैधानिक मूल्य, मान्यता र नैतिकतालाई आत्मसात् गर्न नयाँ वर्षले सबैलाई प्रेरणा दिने विश्वास सभामुख सापकोटाको छ । रासस