मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युक्रेन रूससँगको वार्ताका लागि ‘अझै तयार’ : राष्ट्रपति जेलेन्स्की

युक्रेन रूससँगको वार्ताका लागि ‘अझै तयार’ : राष्ट्रपति जेलेन्स्की


कि । युक्रेन मस्कोसँग वार्ता जारी राख्न ’अझै तयार’ रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार बताएका छन् । किभ नजिकै बुचा र अन्य क्षेत्रमा अत्याचारको खोजपछि रोकिएको वार्तालाई जारी राख्न युक्रेन निरन्तर लाग्ने जेलेन्स्कीले बताएका हुन् ।  
 
बुचाको भ्रमण गरेका अष्ट्रियाका चान्सलर कार्ल नेह्यामरसँगको पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, “युक्रेनले सधैँ वार्ताका लागि तयार रहेको र यो युद्ध रोक्ने कुनै पनि जिम्मेवार उपायको खोजी गरिरहेको छ ।”
 
“दुःखको कुरा, हामी समानान्तररूपमा महत्त्वपूर्ण युद्धहरूको तयारी देख्छौँ, केही मानिसहरूले पूर्वमा निर्णायक युद्धहरू भन्छन्,” उनले पूर्वी क्षेत्रमा रूसी आक्रमणको संकेत गर्दै भने । “कूटनीतिज्ञद्वारा यस युद्धको अन्त्य गर्न, हामी लड्न र समानान्तररूपमा हेर्न तयार छौँ,” उनले थपे ।
 
दुई पक्षबीच मार्च २९ मा अन्तिम पटक प्रत्यक्ष वार्ता भएको सो क्रममा युक्रेनी वार्ताकारहरुले तेस्रो पक्षबाट सुरक्षा प्रत्याभूतिको बदलामा तटस्थता स्वीकार गर्न तत्पर रहेको जनाएको बताइएको छ ।
 
जेलेन्स्कीले भने, “पूर्व र दक्षिणमा हामीले हाम्रो इलाकाको अर्को भागमा कब्जा गर्न तयार भएका हतियार, उपकरण तथा फौजहरूको एकाग्रता देखेका छौँ ।”
 
“कुनै पनि नयाँ रूसी आक्रमणको नतिजा ‘विभिन्न कारकहरू’मा निर्भर हुनेछ,” उनले भने । युक्रेनको शक्ति, साझेदारहरूले हामीलाई कति चाँडो हतियार आपूर्ति गर्छन् भन्नेमा निर्भर रहेको उनको भनाइ थियो । उनले रूसी नेता भ्लादिमिर पुटिन अझै अघि बढ्ने देखिएको बताए । 
 
सत्य बोल्दा मानवअधिकार संस्थाहरुमाथि निसाना
 
यसैबीच, रूसले मानवअधिकारको क्षेत्रमा काम गर्ने १५ वटा पश्चिमा गैरसरकारी संस्था बन्द गर्ने जनाएको छ । रुसले एमनेन्स्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचसहितका १५ संस्थाका आफ्नो देशमा रहेका कार्यलय बन्द गर्ने घोषणा गरेको हो ।
 
संयुक्त राष्ट्रसंघ महासभाले युक्रेनमा गरेको गम्भीर मानवअधिकार उल्लंघन र अत्याचारलाई लिएर रुसलाई राष्ट्रसंघीय मानवअधिकार नियोग (युएनएचसिआर) बाट निलम्बित गरेको थियो । त्यसको जवाफमा रूसले आफ्नो देशमा रहेका मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्थाका कार्यालयहरु बन्द गर्ने हठात् घोषणा गरेको हो ।
 
रूसको कानुन उल्लंघन गरेकाले ती संस्थाहरु बन्द गर्ने निर्णय गरिएको रूसी न्याय मन्त्रालयले जनाएको छ । तर, कुन कानुन कसरी उल्लंघन गरे भन्ने खुलाएको छैन । रुसको आरोपमा सत्यता नरहेको र मिथ्या रहेको एमनेन्स्टी इन्टरनेशनलले जनाएको छ । 
 
एमनेन्स्टी इन्टरनेशनलकी निर्देशक एग्नेस कालामार्डले सत्य बोलेका कारण रुसले आफूहरुलाई निशाना बनाएको बताएका छन् । तर, सत्य बाहिर ल्याउने कार्यमा आफूहरु थप सक्रिय भएर लाग्ने उनले उल्लेख गरेका छन् । 
 
युरोपेली आयोगका अध्यक्ष युक्रेन भ्रमणमा
 
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनको भ्रमण गरेका छन् । रुसी आक्रमणकारीहरुले आक्रमण गरेको ठाउँको स्थलगत अवलोकन गर्न उनी युक्रेन आएको जनाइएको छ । 
 
युक्रेनको बुच भन्ने सहरमा रुसी सुरक्षाकर्मीहरुले हत्या, बलात्कारजस्ता अमानवीय अपराध र ज्यादति गरेको दाबी गरिएपछि उनले स्थलगत अवलोकन गरेका हुन् ।  
 
स्थलगत अवलोकनपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष लेयनले घटनास्थलमा दयनीय अवस्था रहेको जानकारी दिए । उनले घटनास्थलमा मानव अधिकारको चरम उल्लंघन भएको र मानवीय संकट रहेको पनि बताए । 
 
बुचमा नरसंहार भएकाले त्यसका विरुद्धमा आवाज उठाउँदै लड्नुपर्नेमा पनि उनले जोड दिए । अध्यक्ष लेयनले त्रासदीपूर्ण घटनाको भत्सर्ना गर्दै आगामी दिनमा यस्ता घटना नहुने सुनिश्चित गर्न पनि माग गरेका छन् । 
 
“यहाँ हामीले कल्पना पनि नगरेको घटना भएको रहेछ, यो घटना अत्यन्त निन्दनीय छ, घटनामा संलग्नलाई कारबाही हुनुपर्दछ,” उनले भने ।  
 
रुसले गत फेब्रअरी २४ देखि युक्रेनमा आक्रमण गरेको छ । आक्रमणका कारण दुवै तर्फका गरेर अहिलेसम्म सयौँको मृत्यु भइसकेको दाबी गरिएको छ । 
 
रुसले आक्रमण गरेर गलत गरेको भन्दै विश्वभरीबाट विरोध भएको छ भने तत्काल वार्तामार्फत विवाद अन्त्य गर्न सबै पक्षले अनुरोध पनि गर्दै आएका छन् ।  >>अन्तर्राष्ट्रिय एजेन्सीहरुको सहयोगमा / तस्बिर : सामाजिक सञ्जाल