मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपालका लागि अमेरिकाको राजदूतमा थम्सन प्रस्तावित

नेपालका लागि अमेरिकाको राजदूतमा थम्सन प्रस्तावित


वासिङ्टन । अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गरेका छन् । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि राजदूतमा थम्सनलाई नियुक्त गर्न राष्ट्रपतिले प्रस्ताव गरेको उल्लेख गरिएको छ । 
 
लामो समय परराष्ट्र सेवामा कार्यरत थम्सनले सन् २०२१ को सेप्टेम्बर १५ देखि अमेरिकाको परराष्ट्र सेवामा दक्षिण तथा मध्य एसियाका लागि मुख्य सहायकमन्त्रीको भूमिकामा कार्यरत रहेका छन् । उनको नियुक्तिलाई सिनेटले अनुमोदन गरेपछि नेपालका लागि राजदूत नियुक्त हुने व्यवस्था रहेको छ । 
 
परराष्ट्र सेवामा लामो समय काम गरेका थम्सनको राजदूतको भूमिकामा नियुक्त भएको पहिलोपटक हो । यसअगाडि उनीसँग मलेसियाको राजधानी क्वालालम्पुरमा चिफ अफ मिशन भएर काम गरेको अनुभव रहेको छ । यसअघि रोमानियाका लागि उपनियोग प्रमुख भएर काम गरेका थम्सनले विभिन्न पदमा रहेर भारत, श्रीलङ्कालगायत देशमा पनि बसेको स्टेट डिपार्टमेन्टमा रहेको उनको व्यक्तिगत विवरणमा उल्लेख गरिएको छ । 
 
अमेरिकी विदेशमन्त्रीहरुलाई सीधा सहयोग, चौबिसै घन्टा खुला हुने अपरेसन सेन्टरलगायतका विभिन्न इकाइमा बसेर देश सेवा गरेका थम्सनले परराष्ट्र सेवाभन्दा अघि रक्षा मन्त्रालय मातहत रहेर काम गरेको अनुभवसमेत रहेको छ । 
 
युनिभर्सिटी अफ मेरिल्यान्डको पब्लिक अफेयर्सबाट सार्वजनिक व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले नेशनल सेक्युरिटी स्टडीमा स्नातकोत्तर उपाधि ग्रहण गरेका छन् । रासस