मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

पापमोचिनी एकादशी र यसको पौराणिक महिमा

पापमोचिनी एकादशी र यसको पौराणिक महिमा


वैदिक सनातन र हिन्दु पञ्चाङ्गअनुसार संवतसरको अन्तिम महिना चैत्रमास कृष्णपक्षको एघारौँ तिथिलाई पापमोचिनी एकादशी भनिन्छ । सम्पूर्ण पापकर्महरुलाई मोचन (नष्ट) गरिदिने भएको हुनाले यसको नामै पापमोचिनी रहन गएको हो । यस एकादशीको व्रतबाट ब्रह्महत्या, गुरूपत्नी गमन, परस्त्री गमन, मद्यपान, स्वर्ण तस्करी, भ्रूणहत्या, हिंसा आदिजस्ता भयङ्कर पापकर्म गर्ने दुष्टहरु पनि मुक्त हुन्छन् भनेर हाम्रा विभिन्न पुराणहरुमा वर्णन गरिएको छ । पापमोचिनी एकादशीको कथा सुन्दा र सुनाउँदा मात्र १०० गाई दान र एक राजसूय यज्ञ गरेबराबरको पुण्य प्राप्त हुने बताइएको छ । जो व्यक्तिले यस एकादशीको विधिपूर्वक व्रत गर्छ त्यस्तो व्यक्तिको स्वास्थ्य राम्रो हुने, सुखी–समृद्धिवान् हुने, धनसम्पत्तिवान् हुने, उत्तम बुद्धिमान् हुने, ऐश्वर्यवान् हुने अवश्यम्भावी छ ।

 
द्वापरयुगमा धर्मराज युधिष्ठिरले श्रीकृष्णसँग पापमोचिनी एकादशीका बारेमा केही जान्न चाहेर प्रश्न गरेछन् । श्रीकृष्णले त्यही पौराणिक कथा सुनाएर युधिष्ठिरको प्रश्नको उत्तर दिएछन्, जुन कथा चक्रवर्ती राजा मान्धातालाई त्रेतायुगमा महर्षि लोमेशले सुनाएका थिए । लोमेश ऋषिले भनेछन्, ‘हे महाराज ! प्राचीनकालमा चैत्ररथ नाम गरेको एक वन थियो । त्यस वनमा स्वर्गका अप्सराहरु किन्नरसँग विहार गर्ने गर्थे । चैत्ररथ वन त्यस्तो सुन्दर र मनोरम थियो कि जहाँ सदैव वसन्त ऋतुको मौसम रहन्थ्यो । त्यस्तो वन अन्यत्र कतै पनि थिएन । त्यहाँ विभिन्न प्रकारका रङ्गीविरङ्गी फूलहरु फुलेर झुलिरहन्थे । त्यस वनमा कहिले गन्धर्वका कन्याहरु विहार गर्थे भने कहिले देवराज इन्द्र देवताहरुसँग विहार, क्रीडा गर्थे । त्यस वनमा मेधावी नाम गरेका एक जना शिवभक्त ऋषि पनि आफ्नो तपस्यामा लीन भएर रहन्थे । 
 
एकदिन मञ्जुघोषा नामकी अप्सराले मेधावी ऋषिलाई मोहित पारी लाभ उठाउने कोसिस गर्न लागिछन् । मञ्जुघोषाले केही पर बसेर बिणा बजाई सुमधुर स्वरमा गाना गाउन लागिछन् । त्यसै समयमा ती शिवभक्त मेधावी ऋषिलाई कामदेवले पनि आफ्नो वशमा पार्ने चेष्टा गरेछन् । कामदेवले ती सुन्दरी अप्सराका भ्रूणको धनुष बनाएछन्, कताक्षको प्रतञ्चा बनाएछन् र उसका आँखालाई मञ्जुघोषा अप्सराको सेनापति बनाएछन् । यसरी कामदेव पनि आफ्नो शत्रुभक्तलाई जित्नका निम्ति तयार भएछन् । त्यस समयमा मेधा ऋषि अत्यन्त हृष्टपुष्ट थिए, युवावस्थाका थिए । उनले आफ्नो जनै र दण्ड धारण गरेका थिए । मानौँ यी ऋषि दोस्रो कामदेवजस्तै प्रतीत हुन लागेका थिए । ती मुनिलाई देखेर कामदेवका वशमा भएकी मञ्जुघोषाले बिस्तारै–बिस्तारै सुमधुर स्वरमा बिणा बजाएर गीत गाउन लाग्दा मेधावी ऋषि पनि त्यो सुमधुर स्वर र अप्सराको सौन्दर्यप्रति आकर्षित हुँदै गएछन् । ती अप्सराले मेधावी ऋषिलाई काम वासनाबाट पीडित भएको ठानेर अँगालो हाल्न लागिछन् । मेधावी ऋषि पनि अप्सराको सौन्दर्यप्रति झन्झन् मोहित भएर शिव रहस्य भुल्न गई काम वासनामा आशक्त भएर त्यही अप्सरासँग रमण गर्न लागेछन् । यसरी काम वासनामा फस्न गएपछि ती ऋषिले आफ्नो समय बित्दै गएको पनि ख्याल गर्न भुलेछन् । दिनरात कसरी कसरी बित्दै गयो उनलाई पत्तै भएनछ । ऋषि यसरी मायाप्रीतिको बन्धनमा फस्न गएपछि आफ्नो तप, ज्ञान र सिद्धिजति सबै भुल्न गएछन् । समय धेरै लामो बितिसकेको रहेछ, ऋषिलाई थाहै भएनछ । 
 
लामै समय भएपछि मञ्जुघोषाले ऋषिलाई भनिछन्, ‘हे मुनिवर ! लामै समय भइसकेछ, अब मलाई स्वर्ग जाने आज्ञा दिनुहवस् ।’ अप्सराको यस्तो कुरा सुनेपछि ऋषिले भन्न लागेछन्, ‘हे मोहिनी ! तिमी साँझमा आएकी हौ, भोलि उज्यालो भएपछि जाउली ।’ 
 
यसरी ती दुवै साथसाथै रहेर धेरै लामो समय बिताएछन् । यसैबीच एकदिन मञ्जुघोषाले ऋषिसँग भन्न लागिछन्, ‘हे ऋषिवर ! अब त मलाई तपाईंले स्वर्ग जाने आज्ञा दिनुहवस् ।’ यो सुनी ती मुनिले यसपटक पनि त्यही कुरा दोहो¥याउँदै भनेछन्, ‘हे रुपसी ! धेरै समय भएको छैन, अझै केही समयसम्म पर्ख ।’ ऋषिको यस्तो कुरा सुनेर अप्सराले फेरि भन्न लागिछन्, ‘हे मुनिश्रेष्ठ ! तपाईंले आफैँ सोच्नुहोस् कि मैले तपाईंसँग यहाँ आएर रहन लागेको कति लामो समय भइसक्यो । अब पनि अझै अरु समयसम्म रहन के उचित होला ?’
 
मञ्जुघोषा अप्सराको यस्तो कुरा सुनेपछि बल्ल ती ऋषिका आँखा खुल्न गएछन् र तिनलाई समयको ज्ञान हुन गएछ । अनि पछि उनले गम्भीरतापूर्वक सोचविचार गर्न लागेछन् । उनलाई जानकारी भइसकेछ कि त्यस अप्सरासँग रहेर ती ऋषिको ५७ वर्ष बितिसकेछ । तब ऋषिले ती अप्सरालाई कालको रुपमा लिन लागेछन् । यति धेरै समय भोगविलासमा बित्न गएको हुनाले उनलाई ज्यादै रिस उठ्न थालेछ । यसरी क्रोधमा जलिरहेका ती ऋषिले तप नाश गर्ने त्यस अप्सरालाई अब टेढा आँखाले हेर्न लागेछन् । रिसले थरथर काँप्दै ऋषिले अप्सरालाई भन्न लागेछन्, ‘मेरो तप नष्ट गर्ने दुष्ट ! तँ महापापिनी तथा दुराचारी होस् । तँलाई धिक्कार छ । मैले तँलाई श्राप दिन्छु । अब तँ मेरा श्रापबाट पिशाचिनी बनेर जा ।’ 
 
ती मुनिको यस्तो श्रापबाट मञ्जुघोषा अप्सरा तत्कालै पिशाचिनी बन्न गई । आफ्नो यस्तो दुर्दशा देखेर व्याकुल हुँदै मञ्जुघोषाले बिन्ती गर्न लागिछन्, ‘हे ऋषिवर ! मप्रति दया गर्नु हवस् । मप्रतिको रिस त्यागेर प्रसन्न भई अब यो दुःखद श्रापबाट मुक्त हुने उपाय के होला ? कृपया मलाई बताइदिनुहवस् । विद्वान् पुरूषहरु भन्छन् ः सन्तहरुको सङ्गत सधैँ राम्रो फल दिने खालको हुन्छ । तपाईंका साथ मेरो कैयौँ वर्ष बितेर गयो । यसकारण तपाईं मसँग प्रसन्न हुनुहोस् । अन्यथा एक पुण्यात्मासँग रहेर मञ्जुघोषा पिशाचिनी बन्नुप¥यो भनेर लोकले बडो निन्दितरुपले हिंसा गर्नेछ ।’
 
अप्सराको यस्तो कुरा सुनेपछि मेधावी ऋषिलाई आफ्नो रिसप्रति अत्यन्तै आत्मग्लानि हुन गएछ, साथसाथै आफ्नो अपकीर्तिको पनि डर हुन गएछ । यसकारण पिशाचिनी बनेकी मञ्जुघोषालाई ती मुनिले भनेछन्, ‘तैँले मेरो ठूलो अनिष्ट त गरिस्, तर पनि दयावश मैले तँलाई यस श्रापबाट मुक्त हुने उपाय बताउँछु । ‘चैत्रमास कृष्णपक्षमा जुन एकादशी आउँछ त्यसको नाम पापमोचिनी एकादशी हो । त्यस एकादशीको व्रत गर्नाले तँलाई तेरो यो पिशाचिनी देहबाट मुक्ति मिलेर जानेछ । यसो भन्दै ती मुनिले मञ्जुघोषालाई त्यस एकादशीको व्रत–विधिबारे पनि सबै कुरा बताइदिएछन् ।
 
त्यसपछि आफ्नो पापको प्रायश्चित् गर्नका लागि मेधावी मुनि उनका पिता च्यवन ऋषिसमक्ष गएछन् । आफ्ना पुत्रलाई देखेर च्यवन ऋषिले भनेछन्, ‘हे पुत्र ! तैँले यस्तो के काम गरिस् जसका कारणले तेरो सबै तप नष्ट भएर गएछ । तेरो सबै तेज पनि मलिनो हुँदै गएको छ ।’ आफ्ना पिताको यस्तो वचन सुनेपछि लाजले आफ्नो शिर झुकाउँदै मेधावी ऋषिले भन्न लागेछन्, ‘हे पिताश्री ! मैले एक अप्सरासँग रमण गरेर घोर पाप गरेको छु । सम्भवतः यसै पापका कारण मेरो तेज र तप सबै नष्ट भएर गयो । कृपया अब तपाईंले यस पापबाट मुक्त हुने कुनै उपाय मलाई बताइदिनुहवस् ।’ आफ्ना पुत्रको यस्तो कुरा सुनेर च्यवन ऋषिले भन्न लागेछन्, ‘हे पुत्र ! तैँले चैत्रमास कृष्णपक्षको पापमोचिनी एकादशीको विधिपूर्वक उपासना गर, यसबाट तेरा ती सबै पापहरु नष्ट भएर जानेछन् ।’ 
 
आफ्ना पिताको यस्तो सल्लाह पाएपछि मेधावी ऋषिले पापमोचिनी एकादशीको विधिपूवक व्रत गरेछन्, जसका प्रभावबाट उनका सबै पापहरु नष्ट भएर गएछन् । यसैगरी मञ्जुघोषा अप्सराले पनि पापमोचिनी एकादशीको व्रत गरेर पिशाचिनी देहबाट छुटी पुनः आफ्नो सुन्दर रुप धारण गरेर स्वर्गलोक गइछन् । यसकारण जो मनुष्यले यस एकादशीको व्रत गर्छ, त्यसका समस्त पापहरु नष्ट भएर जान्छन् र मृत्युपश्चात् त्यस व्यक्तिलाई परमगति प्राप्त हुन्छ ।                    
 
पापमोचिनी एकादशीको व्रत–विधि
 
– दशमीका दिन सात्त्विक भोजन गर्ने । सूर्यास्तपश्चात् भोजन नगर्ने । राति भुइँमा सुत्ने ।
 
– एकादशीका बिहान सबेरै उठी स्नानादि गरेर शुद्ध र पवित्र हुने, चोखा कपडा पहिरेर दाहिने हातमा जल, फूल समाएर हे जगतपिता विष्णु भगवान् ! मैले आज अङ्क कामनार्थ यस पापमोचिनी एकादशीको व्रत गर्दैछु । म प्रभुको शरणागत छु कि मलाई यो व्रत विधिपूर्वक सम्पन्न गर्नका निम्ति प्रभुबाट प्रेरणा पाऊँ भन्दै संकल्प गर्ने ।
 
– त्यसपछि पूजाकोठामा गई लक्ष्मी–नारायणको मूर्ति स्थापना गरी त्यसमा रातो या पहेँलो वस्त्र धारण गराउने । अन्य सबै देवीदेवताहरुको पनि प्रतिमा स्थापना गरेर ती सबैलाई जल, फूल चन्दन, अक्षता आदिले पूजा गर्ने । लक्ष्मी–नारयणको प्रतिमामा जौ ,तिल, कुश, तुलसीपत्र, कमलको फूल आदि चढाउने ।
 
– दिनभरि निर्जल, निराहार उपासना गर्ने । विष्णु भगवान्सम्बन्धी भजनहरु श्रवण गर्ने । व्रतकथा सुन्ने र सुनाउने । विष्णु भगवान्का सहस्रनाम या ॐ नमो भगवते वासुदेवाय मन्त्रको जप गर्ने ।
 
– मध्यान्ह भएपछि सूर्य भगवान्लाई अर्घ चढाएर प्रणाम गर्ने । पितृहरुको स्मरण गर्दै उनीहरुलाई तर्पण दिने ।
 
– सूर्यास्तपश्चात् आफू शुद्ध र पवित्र भई पुनः देवीदेवताहरु सबैको पूजन गर्ने । लक्ष्मी–नारायणको प्रतिमामा पूजन गरी नैवेद्य, पञ्चामृत, फलफूल, प्रसाद आदि चढाउने । अनि धूप, दीप, आरती गरी शङ्ख, घण्ट बजाउने । त्यहाँ उपस्थित सबैलाई प्रसाद वितरण गर्ने । रातभरि निराहार जाग्राम गर्ने । भजन–कीर्तन सुन्ने । निराहार र रातभरि जाग्राम बस्न नसक्ने अवस्था भएमा फलफूल, दूध, चिया खान सकिने । कम्तीमा रातको पहिलो प्रहर (९ देखि १० बजे)को समय बिताएर भुइँमा सुत्ने ।
 
– द्वादशीका दिन ब्रह्ममुहूर्त (बिहानको ३ः३० देखि सूर्योदय हुनुभन्दा पहिले) मा स्नान, जप, ध्यान, मलमूत्र निकास आदिबाट निवृत्त भई सफा र चोखा कपडा पहिरिएर दाहिने हातको अञ्जुलीमा जल, फूल, अक्षता समातेर हे जगत्का स्वामी विष्णु भगवान ! मैले अङ्क अभिलाषा पूर्ति कामनार्थ तपाईंको प्रेरणाले यस पापमोचिनी एकादशीको व्रत गरी त्यसको अहिले पारण गर्दैछु । व्रतका समयमा मबाट जान–अन्जान कुनै त्रुटि हुन गएको भए प्रभुबाट क्षमा पाऊंँ । प्रभुका कृपाले मेरो अङ्क अभिलाषा पनि पूर्ण होस् भन्दै हातमा भएका सबै चीज भगवान्लाई चढाएर प्रणाम गर्ने । त्यसपछि पण्डित र ब्राह्मणहरुलाई सक्दो दक्षिणा दिएर भोजन गराउने । आफ्नो औकातअनुसार सक्दो अन्न, तिल, द्रव्य, जुत्ता, चप्पल, छाता, वस्त्रादि दान गर्ने र यो दान सकेसम्म धर्मपरायण व्यक्तिहरुलाई दिने । लक्ष्मी–नारायणको प्रतिमामा जल, फूल, अघ्र्य, तुलसीपत्र चढाएर प्रणाम गर्ने । अन्त्यमा मनमनले ‘त्वं शरणं गच्छामी’ भन्दै मौन रही भोजन गर्ने ।
 
– व्रतको पारण द्वादशी तिथिको समयभित्र गरिसक्नुपर्ने धार्मिक प्रावधान छ ।           
 
आफ्नो सारा जीवनलाई तपस्यामा लीन गरेका मेधावीजस्ता ऋषिले पनि मञ्जुघोषा अप्सरासँगको काम वासनामा फसेर ५७ वर्षको समय व्यतीत भैसक्दा पनि अत्तोपत्तै पाएनछन् । पछि गएर पापमोचिनी एकादशीका व्रतका प्रभावले नष्ट भएर गएको तप, तेज, योगशक्ति, ज्ञान आदि सबै पुनः प्राप्त गरे । कामदेवको इशारामा लागेर मेधावी ऋषिलाई आफ्नो यौवनावस्थाको छन्को प्रदर्शन गरेर प्रेमजालमा आशक्त पार्ने दुष्प्रयास गरेकी मञ्जुघोषा अप्सराले ऋषिबाट श्रापित भई पिशाचिनी बन्नुप¥यो । तर, अन्त्यमा मञ्जुघोषाले पनि पापमोचिनी एकादशीको व्रत गरी त्यसै व्रतको प्रभावबाट पिशाचिनी देह त्याग गरी पुनः आफ्नो पूर्वको सुन्दर देह प्राप्त गरेर स्वर्ग गइन् । यसरी आफूसँग कुनै समयमा भएको यश, वैभव, ज्ञान आदि कारणवश गुम्न गयो भने त्यसको पुनप्र्राप्तिका निम्ति पापमोचिनी एकादशीको व्रत गर्नु पर्दोरहेछ भन्ने दृष्टान्त माथिको तथ्यबाट अवगत हुन आउँछ । अतः यस पापमोचिनी एकादशीको व्रत गरी वाञ्छित पुण्य प्राप्त गरौँ । गुमेको कुनै यश, वैभव, कीर्ति भए त्यसको पुनप्र्राप्ति गरौँ, आफ्नो जीवन धन्य र सफल बनाऔँ, समस्त हिन्दु बन्धुहरुमा मेरो यही सादुभाव ! अस्तु !